काठमाडौं- इन्डोनेसियाको जाभा टापुमा शनिबार भएको सबैभन्दा उच्च ज्वालामुखीको विस्फोटमा परी मृत्यु हुनेको संख्या कम्तीमा ३४ पुगेको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यम अलजजीरामा प्रकाशित समाचार अनुसार स्थानीय उद्धार कार्य जारी रहेकाले मृतकको संख्या बढ्नसक्ने छ।
पूर्वी जाभा प्रान्तको लुमाजाङ जिल्लाको माउन्ट सेमेरुमा १२ हजार मिटरभन्दा माथि आकाशमा खरानीको बाक्लो धुवाँको मुस्लो निस्किएको र अचानक विस्फोट भएपछि ग्यास तथा लाभा बगेको स्थानीयले बताएका छन्।
विस्फोटपछि स्थानीय सडकहरू माटो र खरानीले भरिएको छन्। धेरै गाउँहरूका घर र सवारी साधन ज्वालामुखीमा परेका छन्।
‘अहिलेसम्म ३४ जनाको मृत्यु भइसकेको छ। बेपत्ता भएका १६ जनाको अझै खोजी भइरहेको छ,’ स्थानीय खोज तथा उद्धार एजेन्सीका प्रमुख वायन सुयात्नाले मंगलबार राज्य सञ्चारमाध्यमलाई भने। उनले ज्वालामुखीबाट करिब ३ हजार ७०० मानिस विस्थापित भएको बताए।
उद्धारकर्ताहरू विस्फोट भएदेखि नै खतरनाक परिस्थितिसँग जुधिरहेका छन्। उद्धारकर्ताहरूले ज्वालामुखी भग्नावशेषमा बाचेका मानिसहरू तथा विस्फोटमा परेका शव, भत्किएका भवन र ध्वस्त भएका सवारी साधन खोजिरहेका छन्। खोजी टोलीले मंगलबार अपरेसनमा सहयोग गर्न कुकुरहरू तैनाथ गरेका थिए।
माउन्ट सेमेरु शनिबारदेखि सक्रिय रहेको छ। मंगलबार त्यहाँ तीनवटा साना विस्फोट भएका थिए। प्रत्येकले आकाशमा करिब एक किलोमिटर खरानी उडाएको अधिकारीहरूले बताएका छन्।
अधिकारीहरूले स्थानीयहरूलाई सेमेरुको क्रेटरको पाँच किलोमिटर भित्र यात्रा नगर्न सल्लाह दिएका छन्। त्यहाँ हावा अत्यधिक प्रदूषित छ र यसले कमजोर समूहहरूलाई असर गर्न सक्छ।
इन्डोनेसिया २७० मिलियन भन्दा बढी मानिसहरूको भूकम्प तथा ज्वालामुखी गतिविधिको जोखिममा रहेको अलजजीरामा उल्लेख छ।