काठमाडौं- लागूऔषधसहित झापा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। मेचीनगर नगरपालिका-६ स्थित मेची खोलाको पुरानो पुलमा इलाका प्रहरी कार्यालय काकरभिट्टाबाट खटिएको प्रहरी टोली खैरो हिरोइनसहित एक जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा सल्यान बनगाउँ नगरपालिका-१ सल्लीबजारका ३० वर्षीय रमेश डिसी रहेका छन्। भारतबाट नेपालतर्फ पैदलै आउँदै गरेको अवस्थामा शंका लागेपछि चेकजाँच गर्ने क्रममा लागूऔषधसहित उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
डिसीले बोकेको पछाडि भिर्ने झोलाभित्र रहेको किताब भित्र हरियो पातलो प्लास्टिकले बेरी लुकाएर ल्याउँदै गरेको अवस्थामा २३ ग्राम खैरो हिरोइन फेला पारेको प्रहरीले जनाएको छ। उनलाई इलाका प्रहरी कार्यालय काकरभिट्टामा राखी थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ।