कपिलवस्तु- कपिलवस्तुको बुद्धभूमि नगरपालिका-९ इमिलियाकी गीता सुनारलाई पति गोविन्दले फोन गर्दै साँझ दुबईको फ्लाइट भएको बताएका थिए। ५ मंसिर बिहान फोन गर्दै खर्च तिर्न रकम पठाउन अनुरोध गरेका थिए।
एक वर्षपछि फेरि वैदेशिक रोजगारीमा जान लागेपछि सयकडा ब्याज तिर्ने गरी गाउँले साहुसँग कर्जा लिएकी थिइन्। रेमिटमार्फत पठाएको रकम निकालेका गोविन्द त्यही दिनदेखि सम्पर्कविहीन भएपछि सुनार परिवार चिन्तित बनेका छन्।
भिजिट भिसामा दुबई जाने भनेका ३८ वर्षीय गोविन्द सुनार १६ दिनदेखि बेपत्ता रहेका परिवारका सदस्यले बताएका छन्। ५ मंसिरमा भ्रमण भिसामा दुबईको फ्लाइट भएको भन्दै उनी घरबाट एक लाख पचास हजार रकम मगाएका थिए।
दुई वर्ष मलेसिया र चार वर्ष कुवेत बिताएका सुनारलाई पेटको रोगको समस्या भएपछि गत पुसमा नेपाल फर्किएका थिए। नेपालमा उपचार गरी रोग निको भए पछि पुनः विदेश जाने भन्दै ३१ कात्तिकमा काठमाडौँ हिँडेका थिए।
उनले ५ मंसिर बिहान ११ बजे फोन सम्पर्क गर्दै आजै उडान हुने बताएका थिए। पत्नी गीताका अनुसार पीसीआर चेक गर्न लाइनमा बसेको हुँदा थप कुरापछि गर्ने कुराकानी भएको बताइन्। यता गोविन्दले सोही दिन दिउँसो २ः१३ बजे ‘पशुपति सब मनी ट्रान्सफर ओम शान्ति चोक काठमाडाैंबाट रकम निकालेका थिए। उनले पैसा नपुग्ने भन्दै भाइ र साथीसँग गरी करिब तीन लाख रकम जम्मा गरेका थिए।
उनी सम्पर्कमा नआएपछि ९ मंसिरमा इलाका प्रहरी कार्यालय गोरुसिङ्गेमा खोजतलास गर्नका लागि जाहेरी दिएका थिए। इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका अनुसार सुनारको कल डिटियल माग गरी अनुसन्धान गरिएको बताइएको छ।
दुबई आउने भन्दै गोविन्दले दाजु पर्ने कृष्ण विकलाई एयरपोर्ट लिन आउन आग्रहसमेत गरेका थिए। कृष्णले अफिस बिदा लिई एयरपोर्टमा कुरेर बसे पनि गोविन्दलाई नदेखेको खबर आएको गोविन्दका दिदी जालमाया सुनारले बताइन्।
सामान्य परिवारका गोविन्द सम्पर्कमा नआएपछि उनको परिवार चिन्तित छ। गोविन्दले प्रयोग गर्ने फोन अहिलेसम्म स्विचअफ छ।