काठमाडौं- अब निजमति कर्मचारीले ६० वर्षमा अवकाश पाउने भएका छन् । संघीय निजामती सेवा ऐनको मस्यौदामा ५८ वर्षे उमेर हद हटाएर ६० राख्ने तयारी भएको हो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सहमतिका लागि पठाएको मस्यौदामा अर्थ मन्त्रालयले अनिवार्य अवकाशको उमेर २ वर्ष थप्न प्रस्ताव गरेको छ । उसैको प्रस्ताव बमोजिम सामान्यले अवकाश पाउने उमेर ६० बनाउने तयारी गरेको हो । यसअघि उसले अनिवार्य अवकाश पाउने उमेर ५८ वर्ष राखेको थियो ।
यस्तै निजामति कर्मचारीलाई ६० वर्ष पुगेपछि मात्रै पेन्सन सुविधा पाउने प्रस्ताव गर्न पनि अर्थ मन्त्रालयले सुझाव दिएको छ । कर्मचारीको सुविधा कटौतीको प्रस्ताव गर्दै अर्थले पेन्सन ६० वर्ष पुगे पछि मात्रै दिने प्रावधान राख्न सुझाएको हो ।
यदि अर्थले दिएको सुझाव सामान्यले हुबहु मानेर मस्यौदामा समावेश गरेमा कुनै कर्मचारीले ५५ वर्षमै राजीनामा दिए पनि पेन्सन खान थप ५ वर्ष कुर्नुपर्नेछ । अहिलेको व्यवस्थाअनुसार निजामती कर्मचारीले २० वर्ष जागिर गरेर राजीनामा दिएपछि लगत्तै पेन्सन सुविधा पाउँदै आएका छन् ।
संघीय निजामती सेवा ऐनको मस्यौदामा सहमति दिने क्रममा अर्थ मन्त्रालयले कर्मचारीले पाउँदै आएको केही सुविधा पनि कटौती गर्ने प्रस्ताव गरेको छ । अनिवार्य अवकाशको उमेरभन्दा पहिले नै सचिव भएर अवकाश पाएमा भने सोही मितिबाट पेन्सन सुविधा प्राप्त गर्न सक्ने सहमति अर्थले दिएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४