आइतबार, वैशाख ७, २०८२

के माग्लान् देउवासँग सिटौलाले?

सिटौला समूहबाट बाहिरिएका गगन थापाले भने संस्थापन इतर समूहले सिटौलासँग पनि सहकार्य र छलफल गर्नुपर्ने बताइरहेका छन्। तर गगनले भनेजस्तो सिटौलाले संस्थापन इतर समूहसँग सहकार्य गर्ने सम्भावना भने करिब समाप्त भएको छ।
 |  मंगलबार, मंसिर २१, २०७८
nespernesper

दिलीप प्रकाश कार्की

दिलीप प्रकाश कार्की

मंगलबार, मंसिर २१, २०७८

vianetvianet

काठमाडौं– ‘प्रदेश संरचनाको चुनाव भइसक्दा अब लगभग–लगभग यो निश्चित भयो कि, कृष्ण सिटौला दाइले यो अधिवेशनमा शेरबहादुर देउवालाई सघाउनुहुनेछ,’ प्रदेश १ को चुनावी नतिजा आइसकेपछि सिटौला निकट एक युवा नेताले नेपाल समयसँग भने, ‘बाँकी कुरा उहाँहरुले के कस्तो लेनदेन गर्नुहुन्छ, उहाँहरुले नै जान्ने कुरा हो।’

triton college

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत वडा तहको निर्वाचन भइरहँदा कांग्रेस नेता सिटौलाको ‘पोलिटिकल स्ट्यान्ड’ स्पष्ट थिएन। त्यसअघि वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले आयोजना गरेका कतिपय बैठकमा उनी उपस्थित हुन्थे। खासगरी नेता अर्जुननरसिंह केसीको पहलमा बस्ने संस्थापन इतर समूहका बैठकमा उनको उपस्थिति हुने गरेको थियो। १४ औं महाधिवेशनमा सभापति शेरबहादुर देउवाको विकल्प खोज्नका लागि संस्थापन इतर समूहमा रहेका नेताहरु मिलेर जानुपर्ने भन्दै केसीको पहलमा बोलाइएका बैठकहरुमा सिटौला सहभागी हुने गरेका थिए। तर, वडा अधिवेशनको प्रक्रिया करिब सकिनै लाग्दा भने सिटौला संस्थापन इतरका बैठकहरुमा सहभागी हुन छोडे।

सभापति देउवासँगको भेटपछि सिटौला संस्थापन इतरका बैठकहरुमा सहभागी हुन छोडेको स्रोतको दाबी छ। सिटौला समूहबाट बाहिरिएका गगन थापाले भने संस्थापन इतर समूहले सिटौलासँग पनि सहकार्य र छलफल गर्नुपर्ने बताइरहेका छन्। तर गगनले भनेजस्तो सिटौलाले संस्थापन इतर समूहसँग सहकार्य गर्ने सम्भावना भने करिब समाप्त भएको छ। संस्थापन इतर समूह नै आन्तरिक कलहमा फसेर साझा उम्मेदवार टुंग्याउनै नसक्ने अवस्थामा पुगेको समयमा सिटौला अटाउने सम्भावना देखिँदैन पनि। 

सिटौला आफैंले सभापतिमा उम्मेदवारी दिने पनि कुरा गरेका छैनन्। क्षेत्र, जिल्ला र प्रदेश अधिवेशनहरु चलिरहँदा धेरै ठाउँमा सभापति देउवा र पूर्वमहामन्त्री सिटौला समूहबीच गठबन्धन बन्यो। जिल्लादेखि प्रदेशसम्म भएको देउवा–सिटौला गठबन्धनले अपेक्षाकृत नतिजा पनि ल्याएको छ। 

केही ठाउँमा पराजित हुनु स्वाभाविक नै भयो। जस्तो कि– काठमाडौंका पालिका तहदेखि जिल्ला अधिवेशनसम्म देउवा–सिटौलाको समूहले साझा उम्मेदवार उठाएका थिए। तर, पूर्वमहामन्त्री प्रकाशमान सिंह र सिटौला समूहबाट बाहिरिएका गगन थापाको समीकरणका उम्मेदवारहरु विजयी भए। काठमाडौंमा लागेको क्षति देउवा–सिटौला समूहले जिल्ला तहमा पूर्ति गरे। काभ्रे र बाग्लुङमा देउवा–सिटौलाबीचको कार्यगत एकता सफल भयो। काभ्रेमा तीर्थ लामा र बाग्लुङमा जितबहादुर शेरचन जिल्ला सभापति बने। सिटौला समूहका नेता प्रदीप पौडेलले झापा, बागलुङ, गोर्खासहित कम्तीमा पाँच जिल्लामा आफ्नो पक्षका सभापति विजयी भएको दाबी गरेका छन्। 

National life insurance
नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत वडा तहको निर्वाचन भइरहँदा कांग्रेस नेता सिटौलाको ‘पोलिटिकल स्ट्यान्ड’ स्पष्ट थिएन। त्यसअघि वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले आयोजना गरेका कतिपय बैठकमा उनी उपस्थित हुन्थे।

१४ औं महाधिवेशनबाट नै कांग्रेसले पहिलो पटक प्रदेश तहमा आफ्नो संरचना निर्माण गरिरहेको छ। कांग्रेसले विधान संशोधन गरेर पार्टीलाई संघीय संरचनामा ढाले पनि यही महाधिवेशनबाट पहिलो पटक संघीय संरचना अनुसार प्रदेश तहको अधिवेशन गरेर नयाँ संरचना निर्माण गरेको हो। कांग्रेसले प्रदेश नम्बर २ बाहेकका ६ वटा प्रदेशमा आफ्नो संरचना बनाएको छ। सुदूरपश्चिम प्रदेशमा देउवा समूहले प्यानलसहित जित हात पारेको छ भने कर्णाली प्रदेशमा पनि देउवा समूहका सभापति ललितजंग शाही निर्वाचित भए।

लुम्बिनी र गण्डकी प्रदेशमा पौडेल समूहबाट क्रमशः अमरसिंह पुन मगर र शुक्रराज शर्मा सभापति बने। प्रदेश नम्बर १ र बागमती प्रदेशमा देउवा–सिटौला गठबन्धनका उम्मेदवार विजयी भए। जसमा प्रदेश १ को सभापतिमा सिटौला निकट उद्धव थापालाई देउवा समूहले समर्थन गरेको थियो। संस्थापन इतर समूहका गुरुराज घिमिरेलाई पराजित गर्दै सिटौला समूहका थापा प्रदेश १ को पहिलो पार्टी सभापति बने। 

त्यसैगरी बागमती प्रदेशमा पहिलो चरणमा भएको त्रिपक्षीय प्रतिस्पर्धामा कसैले पनि ५१ प्रतिशत मत ल्याउन नसक्दा दोस्रो चरणको निर्वाचन भयो। बागमती प्रदेशमा पहिलो चरणमा देउवा समूहका इन्द्र बानियाँ, संस्थापन इतर पौडेल समूहका जगदीश्वर नरसिंह केसी र सिटौला समूहबाट भीमसेन दास प्रधान उम्मेदवार बनेका थिए। दोस्रो चरणमा भएको निर्वाचनमा देउवा समूहका लागि सिटौला वैशाखी बने। सिटौला समूहका भिमसेन दास प्रधानले देउवा समूहका बानियाँलाई समर्थन गरे र बानियाँ बागमती प्रदेश सभापति बने।  

प्रदेश तहको नतिजा हेर्ने हो भने देउवा–सिटौला गठबन्धन बलियो देखिन्छ। संस्थापन इतर समूहले साझा उम्मेदवार चयन गर्न नसक्नु पनि देउवा–सिटौला गठबन्धन बलियो बन्ने आधार बन्यो। संस्थापन इतर समूहका नेताहरु रामचन्द्र पौडेल, शशांक कोइराला, प्रकाशमान सिंह र शेखर कोइराला सभापतिका दाबेदार हुन्। तर, उनीहरुमध्ये कोही पनि आफ्नो अडानबाट पछि हट्न तयार देखिएका छैनन्। उक्त समूहबाट साझा उम्मेदवार नहुने भएपछि देउवा–सिटौला गठबन्धन बलियो देखिएको विश्लेषण भइरहेको छ। 

सिटौला समूहबाट बाहिरिएका गगन थापाले भने संस्थापन इतर समूहले सिटौलासँग पनि सहकार्य र छलफल गर्नुपर्ने बताइरहेका छन्। तर गगनले भनेजस्तो सिटौलाले संस्थापन इतर समूहसँग सहकार्य गर्ने सम्भावना भने करिब समाप्त भएको छ।

१३ औं महाधिवेशनबाट तत्कालीन संस्थापन पक्ष (कोइराला र पछि रामचन्द्र पौडेल)बाट सिटौलाको विद्रोह नै देउवालाई कांग्रेस नेतृत्वमा पुग्न सहयोगी बनेको थियो। १३ औं महाधिवेशनमा पहिलो चरणमा सभापतिमा प्रतिस्पर्धा गरेका देउवा, पौडेल र सिटौलामध्ये कसैले पनि ५१ प्रतिशत मत ल्याउन नसक्दा दोस्रो चरणको निर्वाचन भएको थियो। दोस्रो चरणमा सिटौलाले देउवालाई सहयोग गरे र ५२६ मतान्तरले पौडेललाई पराजित गरे। १३ औं महाधिवेशनको पहिलो चरणमा सिटौलाले ३२४ मत ल्याएका थिए। 

पछिल्लो समय सिटौलाले पनि आफ्नो शक्ति वृद्धि गरेको चर्चा कांग्रेस वृत्तमा छ। १३ औं महाधिवेशनयता देउवाको कार्यकालभरि आफ्नो हिस्सा सुरक्षित गरेका सिटौला देउवाको कटु आलोचक कहिल्यै बनेनन्। १४ औं महाधिवेशन सुरु हुन तीन दिनमात्रै बाँकी रहँदा फेरि देउवा–सिटौला गठबन्धन गर्ने र विन–विन रणनीतिअन्तर्गत अघि बढ्ने संकेतहरु देखिएका छन्। १३ औं महाधिवेशनमा बनेको देउवा–सिटौलाबीचको त्यो गठजोड यसपटक क्षेत्रदेखि प्रदेशसम्म पनि कायम रह्यो। र, त्यसले देउवा–सिटौला दुवैलाई लाभ दिएको छ। देउवासँगको बार्गेनिङमा सिटौलाले केही जिल्ला र प्रदेशको नेतृत्व नै हात पारे। केन्द्रमा पनि उनले सम्मानजनक उपस्थितिको खोजी गरिरहेका छन् अवश्य पनि। 

देउवालाई सहयोग गर्ने शर्तमा उनले के माग्लान् त? सिटौला समूहकै एक नेताका अनुसार सिटौला–देउवाको टिमबाट उपसभापति बन्ने र आफ्नो टिमका नेताहरूलाई पदाधिकारी र केन्द्रीय सदस्यमा व्यवस्थापन गर्ने रणनीतिमा छन्। ती नेताले भने, ‘देउवासँग सहकार्य गर्ने कुरा भइरहेको छ। महाधिवेशनमा सहकार्य गर्ने अन्तिम टुंगो लागेको अवस्थामा देउवा सभापति बन्ने र प्रधानमन्त्री हुने। त्यसपछि सिटौलालाई विधान संशोधन गरेर कार्यवाहक सभापतिको जिम्मेवारी दिने विषयमा पनि छलफल भइरहेको सुनेको छु। त्यो सम्भव हुन सकेन भने कम्तीमा दुई सहमहामन्त्रीसहित केही केन्द्रीय सदस्यहरुमा आफ्नो टिम रहेकाहरुलाई एडजस्ट गर्ने गरी कुरा हुन्छ होला। चाँडै उहाँहरुबीच अन्तिम टुंगो लाग्छ।’

उता देउवा समूहका नेता एनपी साउदले पनि प्रदेश र जिल्लामा गरिएको सहकार्यले सकारात्मक परिणाम दिएको उल्लेख गर्दै केन्द्रमा पनि सहकार्यका लागि छलफल भइरहेको बताएका छन्। उनले भने, ‘प्रदेश १ र बागमती प्रदेशमा सहकार्य भइसकेको हुनाले त्यसको नतिजा पनि सकारात्मक आएको हिसाबले केन्द्रमा पनि सहकार्यका लागि छलफल भइरहेको छ। कसरी एडजस्ट गरेर जाने भन्ने कुरा टुंगिन बाँकी छ। सम्भवतः कुरा चाँडै नै मिल्छ।’

सिटौला समूहकै एक नेताका अनुसार सिटौला–देउवाको टिमबाट उपसभापति बन्ने र आफ्नो टिमका नेताहरूलाई पदाधिकारी र केन्द्रीय सदस्यमा व्यवस्थापन गर्ने रणनीतिमा छन्।

सिटौला समूहमा अहिले प्रदीप पौडेलसहित उमाकान्त चौधरी, भीमसेनदास प्रधान, शिवप्रसाद हुमागाईं, उद्धव थापा, सुधीर सिवाकोटी, भरत गुरुङलगायत नेताहरु छन्। सिटौला समूहबाट अहिले प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी घोषणा गरिसकेका छन्। त्यसैगरी चौधरीले समावेशीतर्फको सहमहामन्त्रीका लागि लबिङ गरिरहेका छन्। 

देउवासँग सहकार्य गर्ने अन्तिम टुंगो लाग्दा आफू उपसभापति नउठ्ने भएको अवस्थामा पौडेल र चौधरीलाई देउवा समूहबाट सहमहामन्त्रीका लागि पठाउने र अन्य नेताहरुलाई केन्द्रीय सदस्यमा मिलाउने सिटौलाको रणनीति छ। 

देउवा समूहका एक नेताले भने सिटौलाले जहिल्यै ठूलो बार्गेनिङ गर्ने भएकोले सभापति देउवा आजित भएको सुनाए। ती नेताले भने, ‘१३औं कार्यकालभरि सिटौलाले गरेको बार्गेनिङबाट सभापतिज्यू आजित हुनु भएको छ। त्यसकारण प्रकाशमान सिंह र शशांक कोइरालासँग पनि छलफल चलिरहेको छ।’ तर, प्रकाशमान र शशांकभन्दा सिटौलासँगको सहकार्य नै सहज हुने ती नेताको धारणा छ।  

प्रकाशित: Dec 07, 2021| 17:38 मंगलबार, मंसिर २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...