काठमाडौं– ‘साहेब बिबी और गुलाम’ फिल्मको प्रारम्भिक दृश्यमा मजदुरहरुले ठूलो दरबारझैं लाग्ने घर भत्काउँदै गरेको देख्न सकिन्छ। भवन भत्काउँदै गरेका मजदुरलाई खाना खाने समयको सूचना दिइन्छ। सबै मजदुर खाना खान निस्किन्छन्। सुकिला कपडा लगाएका एक व्यक्तिले नक्सा र टोपी हातमा लिएर मजदुरका मुहार निर्निमेष हेर्छन्। ती कलाकार हुन्, गुरुदत्त।
‘साहेब बिबी और गुलाम’ फिल्मको ओपनिङ दृष्यकै कथा गुरुदत्तले आफ्नो वास्तविक जीवनमा पनि भोग्नुपरेको थियो। उनले ‘रिल लाइफ’को कथालाई ‘रियल लाइफ’मा किन भोग्नुपरेको थियो होला? यसका लागि ५८ वर्ष पछाडि अर्थात् सन् १९६३ तिर फर्किनुपर्छ। सन् १९६३ को कुनै एक साँझ गुरुदत्त बर्लिन फिल्म फेस्टिबलबाट बम्बई फर्किएका थिए। त्यो समय निकै उदास थिए उनी। हप्तौंसम्म सुत्न सक्दैनथे। निदाउनका लागि औषधी खानुपर्थ्यो। यसो हुनुको कारण वहीदा रहमानसँग उनको टुटेको सम्बन्ध थियो।
सन् १९२५ जुलाई ९ का दिन बैंगलोरमा जन्मिएका गुरुदत्त (वसन्त कुमार शिवशंकर पादुकोणे) ले १९५० देखि १९६० को बीचमा निकै हिट फिल्म दिए। उनी अभिनेता मात्रै थिएनन्, फिल्म निर्देशक र निर्माता पनि थिए। फिल्म क्षेत्रमा लागेर नाम र दाम दुवै कमाएका गुरुदत्त सन् १९६३ तिर बम्बईको पाली हिलमा बस्थे। त्यहीँ उनको भव्य दरबारजस्तो घर थियो। सपनाको दरबारजस्तो लाग्ने त्यो घर गुरुदत्तको लागि भने नराम्रो सपनाजस्तो भइदियो।
गुरुदत्तकी बहिनी ललिता लाजमी त्यो घरलाई भूतको घर भन्थिन्। उनले भनेकी थिइन्, ‘गीता (गुरु दत्तकी श्रीमती गीता दत्त) लाई त्यो घर भूतको घरजस्तो लाग्थ्यो। त्यो घरमा एउटा रुख थियो। रुखमा भूत बस्छ भन्थे। भूतले अपशकुन ल्याउँछ । त्यसकारण गुरु दत्तको वैवाहिक जीवन जिन्दगी बिग्रिँदै गयो। यहाँसम्म कि बैठक कोठामा राखिएको बुद्ध भगवानको मूर्तिमाथि पनि गीता भूतको शंका गर्थिन्।’ आफ्नै निवासभित्र परिवार डराउनु, गुरु दत्त र गीताबीचको सम्बन्ध चिसिनु अनि वहीदा रहमान र उनीबीचको प्रेममा दरार आउनुका कारण उनी पूर्ण रुपमा मानसिक समस्यामा परेका थिए। मानसिक समस्याका कारण नै उनले दुई पटक आत्महत्या गर्ने कोसिस पनि गरे तर, दुवैपटक बाँचे।
प्यासा, सुहागन, कागजके फूल, भरोसा जस्ता कैयांै हिट फिल्म दिएका गुरुदत्तलाई एकदिन उनका मित्रले भेटेर सोधे, ‘तिमी किन आत्महत्या गर्न चाहन्छौ? तिमीसँग त सबथोक छ। धनसम्पत्ति, परिवार, आफ्ना आफन्त सबथोक छ र पनि जिन्दगीसँग किन असन्तुष्ट छौ?’
गुरुदत्तले जवाफमा भने, ‘म जिन्दगीदेखि होइन, स्वयम्देखि असन्तुष्ट छु। मेरो दरबारजस्तो घर, सुख र सम्पत्ति जोड्ने सपना कैयांैले देख्छन्। तर, मसँग शान्तिले बस्ने सानो कुनो छैन। त्यो कुनो यदि मिल्थ्यो भने म चैनले बाँकी जिन्दगी गुजारिदिन्थें।’
सन् १९६३ जुलाई ९ का दिन गुरु दत्तको जन्मदिन थियो। यो दिनलाई उनी सम्झिनै चाहँदैनथे। आफ्नो जन्मदिन र घर बिर्सनका लागि उनले आफ्नै शानदार दरबारजस्तो घरलाई भत्काउन मजदुर लगाए।
‘साहेब बिबी और गुलाम’को ओपनिङ दृष्यलाई उनले आफ्नो वास्तविक जिन्दगीमा दोहोर्याए संसारलाई चकित पारिदिएका थिए। गुरु दत्तको जिन्दगी नै फिल्म थियो र फिल्म नै जिन्दगी थियो।
एकदिन उनका मित्र फिल्म लेखक विमल बम्बई आएको बेला गुरु दत्तले उनलाई आफ्नो नयाँ फ्ल्याटमा बोलाउँछन्। त्यो भाडाको फ्ल्याट थियो। उनले आफ्नो भव्य आलिशान घरलाई भत्काउनुको अनेक कारणहरु सोधेका थिए। तब गुरुदत्तले मित्रलाई भत्काइँदै गरेको दरबार देखाउन पाली हिल लिएर गएका थिए। उनका मित्रले आलिशान भवन भताभुंग देखेर आश्चर्य मानेका थिए। तर, गुरु दत्त मौन थिए। उनको आँखाको चेपमा आँसु थियो। मनभरि पीडा थियो। भत्किएको दरबार हेरिसकेर उनीहरु कारमा फर्किए। फर्किंदा उनका मित्रले सोधे, ‘किन यस्तो गरेको?’ गुरुदत्तले भने, गीताका कारणले।
श्रीमतीका कारण भव्य घर भत्काएको थाहा पाएर आश्चर्यमा परेका उनका मित्रले सोधे, ‘यो त कुनै कारण नै भएन।’ गुरु दत्तले खल्तीबाट चुरोट निकालेर सल्काउँदै लामो कस ताने। धुवाँ उडाएपछि उनले भने, ‘घर नहुनुको पीडा भन्दा घर भएर हुनुको पीडा अत्यन्तै भयंकर हुँदोरहेछ।’
–द ललनटपका लागि अविनाश आर्यनले लेखेको सामग्रीको भावानुवाद