काठमाडौं- रुकुम पश्चिममा जन्ती बोकेको बस दुर्घटना हुँदा घाइते भएका एक जनाको ज्यान गएको छ।
ज्यान गुमाउनेमा मुसिकोट नगरपालिका-१ घिमानेका ६७ वर्षीय बुधुराम खड्का रहेको प्रहरीले जनाएको छ। उनलाई उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा ज्यान गएको हो।
दुर्घटनामा घाइते भएकामध्ये १० जनाको अवस्था गम्भीर रहेको र उनीहरूको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक डेकेन्द्र शर्माका अनुसार बाँफिकोट गाउँपालिका-२ पिपलबाट दुलही लिएर मुसिकोट नगरपालिका-५ घिमाने जाँदै गरेको ग१ख २१०९ नम्बरको बस मुसिकोट नगरपालिका-२ रातामाटामा सोमबार बेलुका दुर्घटना भएको थियो। घाइतेहरूको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको छ।