काठमाडौं– दार्जिलिङका सुपरिचित लेखक एवम् प्राध्यापक महेन्द्र पी. लामाले लेखेको पुस्तक ‘ओ दार्जीलिङ ! सीमा वारिपारिका परिवेश र मन्थन’ बजारमा आएको छ।
पुस्तक भारतका नेपालीभाषी र उनीहरुले माग गर्दै आएको गोर्खाल्याण्डका मुद्दाहरुमा केन्द्रित रहेको प्रकाशकले बताएको छ। यसले दार्जिलिङको समृद्ध इतिहास, गर्विलो विरासत र अन्यौलग्रस्त वर्तमानलाई जीवन्त ढंगबाट चित्रण गरेको छ। दार्जीलिङले आफ्नो स्वाभिमानका निम्ति सय वर्षदेखि गर्दै आएको संघर्षको झलक पनि यसमा पढ्न पाइन्छ। सँगैको अर्को राज्य सिक्किमसँग जोडिएका प्रसंगहरु पनि पुस्तकमा प्रशस्त आउँछन्।
लेखक लामा नयाँ दिल्लीको जवाहरलाल नेहरु विश्वविद्यालयको स्कुल अफ इन्टरनेसनल स्टडीजका वरिष्ठ प्राध्यापक एवम् विकास अर्थशास्त्री हुन्। उनी भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार परिषद् सदस्य, सिक्किम सरकारको प्रमुख आर्थिक सल्लाहकार एवं भारत सरकारका विभिन्न राष्ट्रिय–अन्तर्राष्ट्रिय कमिटीहरुमा प्रतिनिधि रहिसकेका छन्।
‘आफ्नो जन्मथलो, जाति, क्षेत्रका जल्दाबल्दा मुद्दाहरुलाई टाढाबाट हेर्दा र फेरि भित्रै पसी केलाउँदा पाइएका सोच, धारा र प्रवृत्तिहरु यो पुस्तकमा छन्,’ लेखक लामा भन्छन्, ‘मैले जन्मथलो छोडेर कर्मथलोमा जरा गाडेको ४० वर्षभन्दा ज्यादै भएछ। तर मेरो मन, भोगेको तन र निफन्ने ऐतिहासिक परिप्रेक्ष्यचाहिँ दार्जिलिङकै वरिपरी छ।’
४३० पृष्ठ लामो ‘ओ दार्जिलिङ !’ किताब पब्लिशर्सले प्रकाशन गरेको हो। उनले यसअघि करिब दुई दर्जन पुस्तकको लेखन एवम् सम्पादन गरिसकेका छन्।