वैशाली (भारत)-भारतीय राज्य विहारको राजधानी शहर पटनाबाट ५५ किलोमिटर उत्तरमा पर्छ, वैशाली । वैशाली जिल्लाकै मुजफ्फरपुर शहरबाट करिब ३५ किमि पश्चिम-दक्षिण टाढा पर्छ, उक्त बुद्धस्थल ।
हुन त, वैशालीको अरू पनि ऐतिहासिक महत्व नभएका होइनन् । तर, गौतम बुद्धकै कारण वैशालीको अलग पहिचान बनेको छ । त्यहाँ विभिन्न मुलुकले निर्माण गरेको स्तुपा, शान्ति साधना केन्द्रलगायत भौतिक संरचनाहरूले पनि गौतम बुद्धको प्रभाव पुष्टी गर्छन् ।
नेपालको कपिलवस्तुबाट दरबार छाडेर निस्केका बुद्ध पहिलो पटक वैशाली पुगेको विश्वास छ । भगवान बुद्धको ख्याति र प्रभावलाई हेरेरै भारत सरकारले वैशालीको कुण्डग्रामलाई संरक्षित क्षेत्र घोषणा गर्दै व्यवस्थित बनाएको छ ।
रामग्रामस्थित बुद्धको अस्तु अवशेषमा १२ मिटर व्यास रहेको स्तुपा अवलोकन गर्न दैनिक सयौंको संख्यामा भारतीयसहित विभिन्न मुलुकका पर्यटक पुग्ने गरेका छन् । जुन, बुद्धको अस्तुधातुसहित निर्माण गरिएका आठ वटा मौलिक स्तुपामध्ये एक हो ।
बौद्ध मान्यताअनुसार बुद्धको निधनपछि कुशीनगरका मल्लहरूले राजकीय सम्मानका साथ अन्तिम संस्कार गरेका थिए । र, अस्तुधातुलाई आठ भागमा बाँडेका थिए । एक भाग वैशालीको लिच्छवीहरूले पाएको त्यहाँको शिलालेखमा उल्लेख छ ।
अन्य सात भाग मगध नरेश अजातशत्रु, कपिलवस्तुका शाक्य, अलकप्पका बुली, रामग्रामका कोलिय, वेठद्विपका एक ब्राम्हण र पावा तथा कुशीनगरका मल्लहरूलाई प्राप्त भएको बताइन्छ । रामग्राममा पाँचौं शताब्दीमा स्तुपा निर्माण भएको विश्वास छ । सन् १९५८ मा पटनास्थित एक शोधकेन्द्रको अन्वेषणबाट खरानीयुक्त माटोका साथै कौडा, सुन र तामाबाट निर्मित मुद्रासमेत प्राप्त भएको थियो ।
भगवान बुद्ध र वैशालीबीच घनिष्ठ सम्बन्ध रहेको बताइन्छ । गृह त्याग गरेपछि सुयोग्य गुरुको खोजमा उनी सबैभन्दा पहिले वैशाली पुगेको मान्यता छ । वैशालीमा आलार कलाम र रामपुत्र उद्रक नामक दुई तपस्वीबाट उनले प्रारम्भिक ज्ञान साधना गरेको जानकारहरू बताउँछन् ।
ज्ञान प्राप्तिपछि वैशालीमा महामारी फैलिएको बेला बुद्ध पुगेका थिए । वैशालीको विभिन्न स्थानमा पुगेर बुद्धले रतन सूत्रको पाठ गरे, जसको प्रभावबाट महामारी अन्त्य भएको विश्वास छ । उनको यस प्रभावले पनि वैशालीलाई प्रसिद्ध बनाएको स्थानीय बासिन्दा बताउँछन् ।
भगवान् बुद्धले जीवनको अन्तिम नौ महिना वैशालीमै बिताएका थिए । यहाँको रमणीय स्थानको वर्णन गर्दै बुद्धले भनेका थिए, ‘आनन्द, रमणीय छ वैशाली, रमणीय छ उदयन चैत्य, रमणीय छ बहुपुत्रक चैत्य, रमणीय छ सप्ताम्ब्रक चैत्य, यी सम्पूर्ण चैत्य वैशालीका देवस्थान हुन् ।' बुद्धले यहाँका सम्पूर्ण चैत्यमा विहार गरेको विश्वास छ ।
बुद्ध र सम्राट अशोकको सम्बन्ध
इशापूर्व २६९ मा सम्राट अशोक पाटलीपुत्रका राजा थिए । उनको शासन उत्तर भारत र अफगानिस्तानसम्म फैलिएको थियो । दयालु स्वभावका उनी बौद्ध धर्मका अनुयायीसमेत थिए । सम्राट अशोकले इशापूर्व २५० मा भगवान बुद्धको जन्मस्थल लुम्बिनीको यात्रा वैशाली हुँदै गरेका थिए । वैशालीमा उनले भगवान बुद्धका प्रमुख शिष्य आनन्दको स्तुपामा पूजा अर्चना गरी त्यहाँको विकासका लागि ६० लाख स्वर्ण मुद्रा प्रदान गरेको उल्लेख छ ।
वैशालीमा सम्राट अशोकले विशाल सिंह स्तम्भ निर्माण गर्न लगाएका थिए, जुन अहिले पनि सुरक्षित छ । वैशालीको कोल्हुवा नामक स्थानमा निर्माण गरिएको सिंह स्तम्भ र स्तुपा अवलोकन गर्न पर्यटकहरू आउने गरेका छन् ।
बुद्ध र आम्रपाली
गौतम बुद्धको कालमा वैशालीमा आम्रपाली नाम गरेकी सुन्दर नर्तकी थिइन् । यौवनावस्था प्रवेश गरेलगत्तै आम्रपाली सर्वश्रेष्ठ नर्तकी बन्न सफल भइन् । उनको सौन्दर्यप्रति मोहित भएर वैशालीका लिच्छवी राजकुमार आपसमा झगडा गर्थे ।
र, वैशालीको राष्ट्रिय एकतामाथिको खतरालाई हेरेर आम्रपाली वेश्या बनिन् । आम्रपालीले एक पटक बुद्धलाई भोजन गर्न आमन्त्रित गरेकी थिइन् । र, उनको आमन्त्रणलाई बुद्धले स्वीकारेका थिए । यसबाट रुष्ट बनेका बुद्धका तीन शिष्य बौद्ध धर्म त्याग गरेर काशी गए । शिष्यहरूको आपत्तिलाई खारेज गर्दै बुद्धले भनेका थिए, ‘पापलाई घृणा गर, पापीलाई होइन ।'
आम्रपालीले एक आँपको बगैंचा बुद्धलाई उपहारस्वरूप प्रदान गरेकी थिइन्, जहाँ उनी प्रायः बस्थे । पछि आम्रपाली बौद्ध धर्म अपनाएर भिक्षुणी बनेको उल्लेख छ ।
वैशालीमा बुद्धको प्रभाव हेर्न देश विदेशबाट पर्यटकहरू आउने गरेको त्यहाँका स्थानीय सुरेश प्रसाद बताउँछन् । बुद्धको अस्तु स्थलनजिकै पसल चलाएर बसेका प्रसाद वैशालीलाई संरक्षित एवम् व्यवस्थित बनाउन सरकारले ठूलो योगदान दिएको बताउँछन् ।
