मंगलबार, असार ३०, २०८३

यी थिइन् बुद्धकी नर्तकी प्रेमिका

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
वैशाली (भारत)-भारतीय राज्य विहारको राजधानी शहर पटनाबाट ५५ किलोमिटर उत्तरमा पर्छ, वैशाली । वैशाली जिल्लाकै मुजफ्फरपुर शहरबाट करिब ३५ किमि पश्चिम-दक्षिण टाढा पर्छ, उक्त बुद्धस्थल । 

हुन त, वैशालीको अरू पनि ऐतिहासिक महत्व नभएका होइनन् । तर, गौतम बुद्धकै कारण वैशालीको अलग पहिचान बनेको छ । त्यहाँ विभिन्न मुलुकले निर्माण गरेको स्तुपा, शान्ति साधना केन्द्रलगायत भौतिक संरचनाहरूले पनि गौतम बुद्धको प्रभाव पुष्टी गर्छन् ।

नेपालको कपिलवस्तुबाट दरबार छाडेर निस्केका बुद्ध पहिलो पटक वैशाली पुगेको विश्वास छ । भगवान बुद्धको ख्याति र प्रभावलाई हेरेरै भारत सरकारले वैशालीको कुण्डग्रामलाई संरक्षित क्षेत्र घोषणा गर्दै व्यवस्थित बनाएको छ ।



रामग्रामस्थित बुद्धको अस्तु अवशेषमा १२ मिटर व्यास रहेको स्तुपा अवलोकन गर्न दैनिक सयौंको संख्यामा भारतीयसहित विभिन्न मुलुकका पर्यटक पुग्ने गरेका छन् । जुन, बुद्धको अस्तुधातुसहित निर्माण गरिएका आठ वटा मौलिक स्तुपामध्ये एक हो । 

बौद्ध मान्यताअनुसार बुद्धको निधनपछि कुशीनगरका मल्लहरूले राजकीय सम्मानका साथ अन्तिम संस्कार गरेका थिए । र, अस्तुधातुलाई आठ भागमा बाँडेका थिए । एक भाग वैशालीको लिच्छवीहरूले पाएको त्यहाँको शिलालेखमा उल्लेख छ । 

 

भारतको वैशालीमा पाइन्छन्, भगवान् गौतम बुद्धका प्रेमदेखि मोहसम्मका कथा ।



अन्य सात भाग मगध नरेश अजातशत्रु, कपिलवस्तुका शाक्य, अलकप्पका बुली, रामग्रामका कोलिय, वेठद्विपका एक ब्राम्हण र पावा तथा कुशीनगरका मल्लहरूलाई प्राप्त भएको बताइन्छ । रामग्राममा पाँचौं शताब्दीमा स्तुपा निर्माण भएको विश्वास छ । सन् १९५८ मा पटनास्थित एक शोधकेन्द्रको अन्वेषणबाट खरानीयुक्त माटोका साथै कौडा, सुन र तामाबाट निर्मित मुद्रासमेत प्राप्त भएको थियो ।

भगवान बुद्ध र वैशालीबीच घनिष्ठ सम्बन्ध रहेको बताइन्छ । गृह त्याग गरेपछि सुयोग्य गुरुको खोजमा उनी सबैभन्दा पहिले वैशाली पुगेको मान्यता छ । वैशालीमा आलार कलाम र रामपुत्र उद्रक नामक दुई तपस्वीबाट उनले प्रारम्भिक ज्ञान साधना गरेको जानकारहरू बताउँछन् । 



ज्ञान प्राप्तिपछि वैशालीमा महामारी फैलिएको बेला बुद्ध पुगेका थिए । वैशालीको विभिन्न स्थानमा पुगेर बुद्धले रतन सूत्रको पाठ गरे, जसको प्रभावबाट महामारी अन्त्य भएको विश्वास छ । उनको यस प्रभावले पनि वैशालीलाई प्रसिद्ध बनाएको स्थानीय बासिन्दा बताउँछन् ।

भगवान् बुद्धले जीवनको अन्तिम नौ महिना वैशालीमै बिताएका थिए । यहाँको रमणीय स्थानको वर्णन गर्दै बुद्धले भनेका थिए, ‘आनन्द, रमणीय छ वैशाली, रमणीय छ उदयन चैत्य, रमणीय छ बहुपुत्रक चैत्य, रमणीय छ सप्ताम्ब्रक चैत्य, यी सम्पूर्ण चैत्य वैशालीका देवस्थान हुन् ।' बुद्धले यहाँका सम्पूर्ण चैत्यमा विहार गरेको विश्वास छ ।



बुद्ध र सम्राट अशोकको सम्बन्ध

इशापूर्व २६९ मा सम्राट अशोक पाटलीपुत्रका राजा थिए । उनको शासन उत्तर भारत र अफगानिस्तानसम्म फैलिएको थियो । दयालु स्वभावका उनी बौद्ध धर्मका अनुयायीसमेत थिए । सम्राट अशोकले इशापूर्व २५० मा भगवान बुद्धको जन्मस्थल लुम्बिनीको यात्रा वैशाली हुँदै गरेका थिए । वैशालीमा उनले भगवान बुद्धका प्रमुख शिष्य आनन्दको स्तुपामा पूजा अर्चना गरी त्यहाँको विकासका लागि ६० लाख स्वर्ण मुद्रा प्रदान गरेको उल्लेख छ । 

वैशालीमा सम्राट अशोकले विशाल सिंह स्तम्भ निर्माण गर्न लगाएका थिए, जुन अहिले पनि सुरक्षित छ । वैशालीको कोल्हुवा नामक स्थानमा निर्माण गरिएको सिंह स्तम्भ र स्तुपा अवलोकन गर्न पर्यटकहरू आउने गरेका छन् ।


बुद्ध र आम्रपाली

गौतम बुद्धको कालमा वैशालीमा आम्रपाली नाम गरेकी सुन्दर नर्तकी थिइन् । यौवनावस्था प्रवेश गरेलगत्तै आम्रपाली सर्वश्रेष्ठ नर्तकी बन्न सफल भइन् । उनको सौन्दर्यप्रति मोहित भएर वैशालीका लिच्छवी राजकुमार आपसमा झगडा गर्थे । 

र, वैशालीको राष्ट्रिय एकतामाथिको खतरालाई हेरेर आम्रपाली वेश्या बनिन् । आम्रपालीले एक पटक बुद्धलाई भोजन गर्न आमन्त्रित गरेकी थिइन् । र, उनको आमन्त्रणलाई बुद्धले स्वीकारेका थिए । यसबाट रुष्ट बनेका बुद्धका तीन शिष्य बौद्ध धर्म त्याग गरेर काशी गए । शिष्यहरूको आपत्तिलाई खारेज गर्दै बुद्धले भनेका थिए, ‘पापलाई घृणा गर, पापीलाई होइन ।' 

आम्रपालीले एक आँपको बगैंचा बुद्धलाई उपहारस्वरूप प्रदान गरेकी थिइन्, जहाँ उनी प्रायः बस्थे । पछि आम्रपाली बौद्ध धर्म अपनाएर भिक्षुणी बनेको उल्लेख छ ।

वैशालीमा बुद्धको प्रभाव हेर्न देश विदेशबाट पर्यटकहरू आउने गरेको त्यहाँका स्थानीय सुरेश प्रसाद बताउँछन् । बुद्धको अस्तु स्थलनजिकै पसल चलाएर बसेका प्रसाद वैशालीलाई संरक्षित एवम् व्यवस्थित बनाउन सरकारले ठूलो योगदान दिएको बताउँछन् ।

प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।