काठमाडौं- सहिद स्मारक ए डिभिजन लिगको अन्तर्गको तेस्रो चरणको खेलमा च्यासल युथ क्लब र न्युरोड टिम (एनआरटी) ले १–१ गोलको बराबरी खेलेका छन्। तेस्रो खेलमा बराबरी गरेसँगै एनआरटीले २ अंक बनाएको छ भने च्यासलले ४ अंक जोडेको छ।
खेलको २०औं मिनेटमा अशोक थापाले पोस्टको दायाँबाट गरेको क्रसलाई दर्शन गुरुङले पोस्ट अघि भेट्न नसक्दा एनआरटीले गोलको असवर गुमाएको थियो। त्यसपछि खेलको ३१औं मिनेटमा एरिकले पेनाल्टी बक्सको बायाँ कुनामा गरेको प्रहारलाई च्यासलका गोलकिपर अर्पण कार्कीले त्यही आएर बचाएका थिए।
यता च्यासलका पनि दुई प्रहार मिस भएका थिए। ३०औं मिनेटमा विकास मेराग्लियाले अर्को टचलाई छेउमा रहेका कमल थापालाई बल उपलब्ध गराएका थिए। कमलले पोस्टअघि रहेका रुमेशलाई बल पास गरे पनि उनले बल प्रहार गर्न सकेनन्।
विकासले ३८औं मिनेटमा पेनाल्टी बक्स बाहिरबाट गरेको प्रहार गोलकिपर अजित प्रजापतिले बचाएका थिए। तर, ४३औं मिनेटमा च्यासलले कुनै गल्ती नगरिकनै गोल गर्यो। त्यहाँ एनआरटीको डिफेन्स लाइन निरीह रह्यो।
कमलले कर्नरबाट गरेको प्रहार मेसुके ओलुमेउले हेडरमार्फत् क्लियर गरेका थिए। तर, पछाडि रहेका रुमेशले प्रहार गर्दै गोललाई पोस्टभित्र छिराए। यससँगै पहिलो हाफमा च्यासलले एनआटीलाई एक गोलले पछि छोड्यो।
दोस्रो हाफमा तिब्र बनेको खेलमा दुवै टिमले अट्याकिङ थर्डमा राम्रा अवसर सिर्जना गरे पनि गोलका अवसरलाई सदुपयोग गर्न सकेन।
खेलको ७२ औं मिनेटमा गोललाइनबाट उद्धार गरेर स्टेफेन विनोङले पोस्टको नजिकैबाट बल प्रहार गरे पनि बल बाहिर गएको थियो। त्यसको अर्को मिनेटमा उनले छ यार्ड बक्स बाहिरबाट गरेको प्रहार भने गोलकिपर कार्कीले डाइभ गरेर बचाए।
खेलको ७७औं मिनेटमा पेनाल्टी बक्स भित्र विकासले विक्रम लिम्बूलाई बल उपलब्ध गराए पनि लिम्बूले पोस्टमा प्रहार गर्न सकेनन्। त्यसको दुई मिनेटपछि मैदान छिरेका दिपेश आलेले मैदान टेकेको पहिलो मिनेटमै गोल गरे।
उनले प्रहार गरेको बल किपरलाई बायाँ छोड्दै पोस्टको जालीमा पुगेको थियो। खेलको अन्तिम १० मिनेट भने मैदानमा दुवैतिरका खेलाडीले नाटकीय व्यवहार गरेपछि रेफ्री विश्वास कार्की तानावको स्थिति मैदानमा देखिएका थिए।
यता च्यासलका खेलाडी मैदानमा ढलेको अवस्थामा पनि रेफ्रीले प्ले अनको इसारा दिएपछि खेलमा गोल भएको थियो। त्यस समय आफ्ना खेलाडीले होस गुमाउँदा गोल बेहोर्न पुगेको च्यासलका प्रशिक्षक बालगोपाल साहुखलले बताएका छन्।
आलेको गोलपछि रेफ्रीको निर्णयमा आपत्ति जनाएका च्यासलका कप्तान विराज महर्जनले पहेँलो कार्ड पाएका थिए। तनाव लामै समय चलेको समयमा च्यासलका यान्निक केट्जाले पनि पहेँलो कार्ड पाए।
त्यसै दौरान च्यासलले आफ्ना केही खेलाडीलाई मैदानबाहिर बोलाएर नयाँ खेलाडी पठाएको थियो। खेलमा च्यासलका कप्तान विराज महर्जन म्यान अफ दि म्याच भए। लक्ष्मण रुचाल उत्कृष्ट खेलाडी घोषित भए।
पहिलो खेलमा थ्रिस्टारसँग ३-० गोलको हार बेहोरेको च्यासलले दोस्रो खेलमा विभागीय टिम एपीएफलाई १-० गोलले हराएको थियो। यता पहिलो खेलमा मछिन्द्र क्लबसँग २-१ गोलको हार व्यहोरेको एनआरटीले दोस्रो खेलमा ब्रिगेड बोइज क्बसँग गोलरहित बराबरी खेलेको थियो।
अट्याकिङ थर्डमा धेरै अवसर सिर्जना गरे पनि एनआरटीका विदेशी र स्वदेशी खेलाडीको तालमेल मिल्न नसक्दा गोल गर्न नसकेको एनआरटीका प्रशिक्षक राजुकाजी शाक्यले बताएका छन्।