चितवन- नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले चितवनलाई यातायात सेवाको हबका रुपमा विकास गरिने बताएका छन्। यातायात व्यवस्था सेवा कार्यालयले सुरुआत गरेको सवारी दर्ता र सवारी चालक अनुमतिपत्र नवीकरण कार्यक्रम शनिबार शुभारम्भ गर्दै उनले जिल्लावासीले अब सहजै सेवा पाउने बताएका हुन्।
जिल्लावासी यातायातसँग सम्बन्धित कामका लागि टाढा जानु नपर्नेमा जोड दिँदै यही क्षेत्रलाई नेपालकै ठूलो यातायात सेवाको हब बनाइने बताए। 'मैले यातायात कार्यालयको जग्गा र पूर्वाधार निर्माणका लागि पहल गर्नेछु,' उनले भने।
चितवन क्षेत्र नम्बर ३ का सांसदसमेत रहेका पूर्वप्रधानमन्त्री दाहालले धेरै प्रयासपछि यो सेवा शुभारम्भ भएकोमा खुसी व्यक्त गरे ।
भरतपुर महानगरपालिका प्रमुख रेणु दाहालले यातायात कार्यालयका लागि जग्गा उपलब्ध गराउन र संरचना निर्माणका लागि आवश्यक बजेट व्यवस्थाका लागि पहल गरिदिन आग्रह गरिन्। उनले आफू महानगर प्रमुख भएदेखि नै गरिएको पहल आज सार्थक भएको बताइन्।
यस्तै नेपाल यातायात व्यवसायी महासंघका उपाध्यक्ष राम सुवेदीले जग्गा प्राप्ति, बजेट, दरबन्दी जस्ता अत्यावश्यक कामका लागि अध्यक्ष दाहाल र महानगरप्रमुख दाहालसँग अनुरोध गरेका थिए।