जनकपुरधाम- मिथिलाञ्चल क्षेत्रको सबैभन्दा ठूलो उत्सव विवाहपञ्चमी महोत्सव शुक्रबारबाट सुरु भएको छ। पछिल्लो वर्ष विवाह पञ्चमी महोत्सवमा सुनसान देखिए पनि यस वर्ष श्रद्धालु भक्तजनहरुको जनकपुरधाम आगमनको क्रम सुरु भएको छ। यद्यपि कोरोनाको नयाँ भेरियन्ट आएसँगै अन्य वर्ष जस्तो जनकपुरधाममा श्रद्धालु भक्तजनहरुको उपस्थिति छैन।
जनकपुरधाम क्षेत्रमा शुक्रबार बिहानैदेखि श्रद्धालु भक्तजनहरुको चहलपहल देखिएको थियो। सप्ताहव्यापी विवाहपञ्चमी महोत्सव अन्तर्गत नगरदर्शनलाई लिएर जानकी मन्दिरमा पूजा अराधनाका लागि श्रद्धालु भक्तजनहरु पुगेका थियो।
भगवान राम र लक्ष्मण पहिलो पटक प्राचिन मिथिलाको राजधानी जनकपुरधामको भ्रमण गरेको स्मरणमा प्रत्येक वर्ष विवाहपञ्चमी महोत्सव अन्तर्गत पहिलो दिन नगरदर्शन विधि गर्ने गरिन्छ। नगरदर्शन विधिमा राम लक्ष्मणको प्रतिकको रुपमा रहेको दुई बालकलाई नगरदर्शन गराइएको थियो। सोही अवसरमा मिथिलाको राजधानीमा मंगलगान समेत गाइएको थियो।
मंगलमय दिन आजु हे, पाहून छथि आयल!
धनी-धनी जागल भाग हे, मन कमल फुलायल!!
मंगलमय दिन...!!
मंगलघट सँ द्वारि सजाओल,
कंचन दीया बारि हम लाओल ,
गांथल हार गुलाब हे, हिनका पहिराओल !
मंगलमय दिन...!!
त्रेता युगमा समेत भगवान राम लक्ष्मण जनकपुरधाम आएपछि यस्तै स्वागत गान गाइएको हुन सक्ने संस्कृतिविद डा. रेवतीरमण लाल बताउँछन्। यो विषयमा वाल्मिकी रामायणमा समेत उल्लेख रहेको पाइन्छ।
राम लक्ष्मणको स्वागतमा कृतिम बजार
नगर दर्शन विधिका लागि जनकपुरधाम स्थित जानकी मन्दिरकै प्रांगणमा कृत्रिम बजार बनाइएको थियो। सो बजारमा मुरही, कचरी, चिया, पान, मखान, खेलौना, मिठाई, मिथिला चित्रकला, कपडा, सिन्दुर, टिकली आदिका पसलहरु कृत्रिम रुपमा निर्माण गरिएका थिए। राम लक्ष्मणको प्रतिकको रुपमा रहेका दुई किशोर बालकलाई रातो कार्पेट ओछ्याएर कृत्रिम बजार घुमाइएको थियो।
राम लक्ष्मण स्वयं जनकपुरधामको नगरदर्शन गर्दा पूरै मिथिलाको वातावरण अदभूत बनेको थियो जानकी मन्दिरका उत्तरराधिकारी महन्थ रामरोशन दास वैष्णवले बताए। सोही दर्शाउनका लागि जानकी मन्दिर परिसरमै कृत्रिम बजार लगाएर नगरदर्शन विधि गरिएको उनले बताए।
जुन समयमा भगवान राम र लक्ष्मण नगरदर्शन गरेका थिए सो समयको वर्णन गर्दै तुलसीकृत रामायणमा लेखिएको छ।
पीत बसन परिकर कटि भाथा।
चारु चाप सर सोहत हाथा।।
तन अनुहरत सुचंदन खोरी।
स्यामल गौर मनोहर जोरी।।
अर्थात दूबै भाई पहेलो वस्त्रमा छन्, कम्मरमा पहले वस्त्रले तरकस बाँधिएको छ। हातमा सुन्दर धनुष बाण सुशोभित छ। श्याम र गौर वण शरीर अनुकूल आकर्षक चन्दन निधारमा लागेको छ। श्याम र गौर वर्णका दुबै बालकको जोडी अति नै प्रिय छ।