सुर्खेत- निर्वाचन आयोगले आगामी निर्वाचनको तयारी थालेको छ। स्थानीय तहका पदाधिकारीको कार्यकाल सकिन साढे ६ महिना बाँकी रहँदा आयोगले निर्वाचनको तयारी थालेको हो। निर्वाचनको तयारी स्वरूप आयोगले देशभर पहिलो चरणका काम अगाडि बढाएको छ।
जसअनुसार कर्णाली प्रदेशमा शुक्र बाह्रदेखि फोटोसहितको मतदाता नामावली संकलन सुरु भएको छ। सुर्खेतसहित कर्णालीमा सबै जिल्लामा शुक्र बाह्रदेखि फोटोसहितको मतदाता नामावली संकलन सुरु भएको प्रदेश निर्वाचन कार्यालयका प्रमुख दुर्गाप्रसाद चालिसेले जानकारी दिए।
मतदाता नामावली संकलनका लागि प्रदेशभर ३४ वटा टोली खटाइएको छ। ७९ स्थानीय तह रहेको कर्णालीमा ३४ वटा टोली एकै साथ ३४ वटा स्थानीय तहबाट फोटो सहितको मतदाता नामावली संकलन सुरु गरेका छन्। एउटा टोलीले दुई वटा पालिकामा पुगेर मतदाता संकलन गर्ने छ।
हरेक स्थानीय तहमा १५ दिन लगाएर मतदाता नामावली संकलन गर्ने आयोगले जनाएको छ। १५ दिनपछि सोही टोली अर्को स्थानीय तहमा पुगेर मतदाता नामावली संकलन गर्नेछ। ३४ वटा टोलीले कर्णालीका ६८ स्थानीय तहमा पुगेर मतदाता नामावली संकलन गर्ने आयोग प्रमुख चालिसेले बताए।
जिल्लास्थित स्थानीय तहले भने जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयबाट मतदाता नामावली संकलन गर्ने छन्। जिल्ला र इलाका प्रशासन कार्यालयमा भने नियमित रूपमा मतदाता नामावली संकलन भइरहेको छ। आयोगले मतदातालाई सक्कली नागरिकता, बसाइसराइ गरी आएका मतदाताका लागि नागरिकतासँगै बसाइसराई कागजपत्र र विवाह गरेर नयाँ ठाउँमा आएका मतदाताले भने विवाहदर्ता प्रमाणपत्र आफ्नो विवरण टिपाउन आग्रह गरेको छ।
अन्य जिल्ला जस्तै सुर्खेतमा पनि पहिलो चरणमा (१७ देखि पुस ३ गतेसम्म) सिम्ता गाउँपालिका, चिङगाड गाउँपालिका, चौकुने गाउँपालिका र लेकबेशी नगरपालिमा मतदाता नामावली संकलन थालेको छ। यस्तै दोस्रो चरणमा (पुस ४ देखि १८ गतेसम्म) गुर्भाकोट नगरपालिका, भेरीगंगा नगरपालिका र बराहतालमा गाउँपालिकाको केन्द्रबाट नामावली संकलन गर्ने आयोगले जनाएको छ। सुर्खेतकै वीरेन्द्रनगर नगरपालिकाको जिल्ला प्रशासन कार्यालय र पञ्चपुरी नगरपालिकाको इलाका प्रशासन कार्यालयबाट नियमित रूपमा फोटो सहितको मतदाता नामावली संकलन भइरहेको छ।
आयोगले आउँदो निर्वाचनलाई लक्षित गर्दै मतदाता नामावली संकलन गर्न लागिएको हो। स्थानीय तहका पदाधिकारीहरूको कार्यकाल आगामी जेठ ५ गते सकिँदैछ। कार्यकाल सकिएको ६ महिनाभित्र चुनाव गर्नुपर्ने संविधानमा उल्लेख छ। सोही अनुसार आयोगले आगामी निर्वाचनको तयारी थालेको जनाएको छ।
निर्वाचन आयोगले आगामी चैत ५ गतेभित्र स्थानीय तहको निर्वाचन गर्न सरकारसँग प्रस्ताव गरिसकेको छ। निर्वाचन सम्बन्धी कानुनमा स्थानीय तहका पदाधिकारीको कार्यकाल सकिनुभन्दा दुई महिनाअघि चुनाव गर्नुपर्ने भनिएको छ। यही कारण आयोगले जेठ ५ अगावै स्थानीय तहको निर्वाचन गर्ने गरी तयारी थालेको हो।
सुर्खेतमा १३ हजार मतदाता थपिने अनुमान
निर्वाचन आयोगले सुर्खेतमा १३ हजारभन्दा बढी मतदाता थपिने अनुमान गरेको छ। आयोगले सुर्खेतमा १३ हजार चार सय नयाँ मतदाता थपिने आकलन गरेको छ । ‘चार वर्षमा धेरै मतदाता थपिने अनुमान गरेका छौं,’ प्रमुख चालिसेले भने, ‘यसपालि सुर्खेतमा करिब साढे १३ हजारको हाराहारीमा नयाँ मतदाता थपिन्छन्।’
थपिने मतदाताको आकलन गरेर आयोगको केन्द्रीय कार्यालयले सुर्खेतका लागि १३ हजार चार सय फारम पठाएको छ। १३ हजार मतदाता थपिएको खण्डमा सुर्खेतका मतदाताको संख्या दुई लाख १६ हजार पुग्ने आकलन गरिएको छ।
२०७४ को निर्वाचनमा सुर्खेतमा दुई लाख तीन हजार मतदाता रहेका थिए। आयोगले ‘कोही नछुटुन्, कोही नदोहोरिउन्’ भन्ने नारासहित फोटोसहितको मतदाता नामावली संकलन सुरु गरेको हो।