मंगलबार, असोज २७, २०८३

महिला हिंसाका कथा बोल्छन् सुप्रियाका चित्रहरू

सुरुसुरुमा प्रकृतिका चित्र कोर्थिन् उनी। विस्तारै उनलाई समाज र मानवीय पक्षलाई चित्रका विषयवस्तुले तान्न थाल्यो। महिला हिंसा र विभेदका विरुद्धका आवाज चित्रमार्फत् व्यक्त गर्न थालिन्।
 |  बिहीबार, मंसिर १६, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर १६, २०७८

काठमाडौं- बाल्यकालमा कथा खुबै सुन्थिन्, सुप्रिया पाण्डे। आमाले सुनाएका बालकथा एकादेशका लाग्थे उनलाई। जब हुर्किंदै गइन्, आमाले सुनाएका कथामा वास्तविकता पनि भेटिने रहेछ भन्ने लाग्न थाल्यो उनलाई। 

सानैदेखि चित्र कोर्न रुचि राख्ने सुप्रियाका लागि आमाले सुनाएका महिलाका कथा चित्रका 'थिम’ बने। उनले पहिलो पटक बनाएको चित्र गर्वभती महिलाको थियो। आफ्नो पेटभित्र हुर्कंदै गरेको शिशुसँग कुराकानी गरेको भाव व्यक्त गर्ने उक्त तस्बिरमा आमाले आफ्नै पेटलाई वात्सल्य दृष्टिले नियालिरहेकी देखिन्छिन्, ती देवी अर्थात् आमा। यो चित्र उनले दुई वर्ष पहिले नै बनाएकी हुन्। बिहीबार नेपाल आर्ट काउन्सिलमा सुरु भएको एकल चित्रकला प्रदर्शनीमा १६ वर्षीया पाण्डे आफ्ना साथीलाई आफूले पहिलोपटक बनाएको चित्रको बारेमा व्याख्या गर्दै थिइन्। 


 

सुरुसुरुमा प्रकृतिका चित्र कोर्थिन् उनी। विस्तारै उनलाई समाज र मानवीय पक्षलाई चित्रका विषयवस्तुले तान्न थाल्यो। महिला हिंसा र विभेदका विरुद्धका आवाज चित्रमार्फत् व्यक्त गर्न थालिन्। यस्तै अर्को चित्र कोरिन् र नाम दिइन्- 'महिला हिंसाः भ्रुणदेखि घाटसम्म।'

प्रदर्शनीमा ३० वटा चित्र छन्। यी सबै चित्रमा महिला हिंसाविरुद्धको भाव झल्किन्छ। विशेष गरेर 'पर्पल कलर'मा चित्र कोर्न रुचाउने सुप्रिया आफ्ना चित्रले कतिसम्म न्याय गर्लान् भन्ने चिन्ताले डसेको बताउँछिन्। भन्छिन्, ‘चित्र बनाउन खोज्दा कति न्याय गर्न सक्छु र कति सत्यभाव व्यक्त गर्न सक्छु भन्ने हुन्छ।’ 

चित्रको ‘थिम कथा’ 

सुप्रियाका चित्रमा महिलाका पीडा देखिन्छन्, महिलामा पनि विभेदको सिकार भएकाहरू। दाइजो प्रथाका कारण शारीरिक तथा मानसिक यातना र दाइजोका नपाएको कारण जल्नु परेको पीडा उनका चित्रमा देख्न सकिन्छ। गृहिणीका नाममा महिलालाई घरमै सीमित राख्ने पितृसत्तात्मक समाजविरुद्ध उनका चित्रले खबरदारी गर्छन्। 

नेपाली समाजमा महिलाले भोग्नु परेको पीडालाई उनले रङमार्फत् जनचेतनामूलक फैलाउने प्रयास गरेकी छन्। ‘एक्रीलिक कलर’बाट बनेका चित्रमा 'डार्क कलर'को बाहुल्यता छ। 

सुप्रिया आफ्ना चित्रकलामा परिवारको सहयोग पनि ठान्छिन्। उनी भन्छिन्, ‘ड्याडीममीको सहयोग नभएको भए आफ्ना चित्रलाई न्याय गर्न सक्थिनँ होला।’


जनस्वास्थ्यविद् डा. रवीन्द्र पाण्डे बच्चाको रुचि बुझेर सहयोग गर्नुपर्ने बताउँछन्। ‘सानैदेखि छोरीको आकर्षण चित्रकलामा थियो। ६ वर्षदेखि चित्र कोर्थिन्। हौसला दिँदै जाँदा निखारिँदै गइन्,’ सुप्रियाका बुबा पाण्डेले भने। 

 महिला हिंसाजस्तो संवेदनशील विषयवस्तुलाई उनले आफ्ना चित्रमार्फत् बुझाउने कोसिस गरेको बताउँछन् वरिष्ठ कलाकार तथा कुलपति केके कर्माचार्य। उनी भन्छन्, ‘एक्काइसौँ शताब्दीमा आइपुग्दा पनि महिलाले सहनु र भोग्नु परेको घरेलु तथा सामाजिक महिला हिंसालाई आफ्नो विषयवस्तु बनाएर चित्रकलामार्फत् जनचेतना सहयोग पुग्ने भएको छ।’

समाजले महिलामाथि गर्ने क्रुर व्यवहारलाई सुप्रियाले रेखा र रङमार्फत् क्यानाभासमा उतारेको बताउँछन्, कलाकार रवीन्द्र मानन्धर। उनी भन्छन्, ‘कलर कम्बिनेसनमा काफी मेहनत गर्नु पर्ने देखिए पनि चित्रकलाका आधारभूत शिक्षासँगको साक्षात्कारपछि छोटो समयमै निखारिएकी कलाकार हुन्, सुप्रिया।’ 

टिम नेपोका भाइबहिनीको स्वयंसेवामा आयोजना गरिएको कला प्रदर्शनी मंसिर १८ गतेसम्म चल्नेछ। प्रदर्शनीमा बिक्री भएका पेन्टिङबाट प्राप्त रकम कर्णालीका बालबालिकाको शिक्षा, आर्ट सामाग्री वितरण र आर्ट प्रशिक्षण समर्पित गर्ने सुप्रिया बताउँछिन्। 


प्रकाशित: Dec 02, 2021| 17:41 बिहीबार, मंसिर १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।