केही साता अघि दक्षिण अफ्रिकामा पहिलो पटक पहिचान भएको नयाँ कोरोना भेरियन्ट ‘ओमिक्रोन’ विश्वका विभिन्न भूभागमा फैलिने क्रम बढेसँगै यो नेपालमा भित्रिने खतरा पनि बढेको छ। यही नयाँ भेरियन्ट फैलिने त्रास सँगै लकडाउन हुन सक्ने अनमान गरिएको छ। यसै सन्दर्भमा भिडियो बनाई शेयर गरिने सामाजिक सञ्जाल टिकटकमा यस नयाँ भेरियन्टका कारण नेपालमा लकडाउन सुरु भएको भन्दै भ्रामक सूचना फैलाइएको छ।
news_24npllite नामक टिकटक एकाउन्टबाट 'सरकारले जारी गरेको लकडाउन को सूचना मङ्गलबार बिहान ६ बजेदेखि देशै भर लागू” भन्ने शीर्षकमा गत मंसिर ११ गते भिडियो शेयर गरिएको थियो जसमा १ लाख २७ हजार बढी प्रतिक्रिया आएका छन् भने २५ लाख भन्दा धेरै पटक हेरिएको छ। उक्त भिडियो ९५५४ जनाले शेयर गरेका छन्। नेपाल लाइभको लोगो भएको उक्त भिडियोमा सडकमा एम्बुलेन्स गुडिरहेको र प्रहरीले स्कुटर चालकलाई जाँच गरिरहेको दृश्य छ। 'सरकारले जारि गरेको लकडाउनको सूचना मंगलबार बिहान छ बजेदेखि देशैभर लागू, एक सातासम्मका लागि घरबाट बाहिर ननिस्कन सरकारको आदेश” भन्ने समाचारको क्लिप पनि समावेश गरिएको छ।
तथ्य जाँच
उक्त भिडियोमा नेपाल लाइभको लोगो भएकाले हामीले सर्वप्रथम सो अनलाइनले हालै प्रकाशित गरेका समाचारका भिडियो हेर्यौ। त्यस क्रममा लकडाउन सम्बन्धी हालै समाचार प्रकाशित नभएको पाइयो। भिडियोमा मंगलबारदेखि लकडाउन भनिएको हुनाले हामीले उक्त भिडियो नेपालको पहिलो लकडाउनको हुनसक्ने आकलन गर्यौं। नेपालमा पहिलो लकडाउन २०७६ चैत्र ११ गते मंगलबार शुरु भएको थियो। यसै कारण हामीले नेपाल लाइभको २०७६ चैत्र १० र ११ गतेको समाचार हेर्दा उक्त भिडियो २०७६ चैत्र ११ को समाचारको भएको पत्ता लाग्यो। नेपाल लाइभमा प्रकाशित १४:५२ सेकेण्ड लामो समाचारबाट ११ सेकेण्ड काटी ‘सरकारले जारी गरेको लकडाउन को सूचना मङ्गलबार बिहान ६ बजेदेखि देशै भर लागू’ भन्ने वाक्य समावेश गरी उक्त भिडियो टिकटकमा अप्लोड गरिएको पाइयो।
नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को त्रास बढिरहेको अवस्थामा पुरानो समाचारलाई हालको जसरी लकडाउन भन्दै शेयर भएपछि कैयौंमा भ्रम फैलिएको छ भने कतिपय प्रयोगकर्ताहरुले यसको वैधानिकतामाथि प्रश्न पनि गरेका छन। कतिपयले यो पुरानो समाचार भएको प्रतिक्रिया दिएका छन्।
टिकटकमा प्रयोगकर्ताले कुनै भिडियोमा प्रयोग गरेको श्रव्य सामग्री अन्य प्रयोगकर्ताले आफ्नो अनुकुल बनाई भिडियो बनाई, तस्बिरमा वा अभिनय गरी शेयर गर्न सक्छन्। यही विशेषतालाई उपयोग गर्दै सो लकडाउनसम्बन्धी भिडियोको श्रव्य सामग्री प्रयोग गरी टिकटक प्रयोगकर्ताहरुले १९५ वटा भिडियो बनाएका छन्। कतिपयले उक्त श्रव्य सामग्री प्रयोग गरी आफै खिचेका पुरानो लकडाउनको भिडियो राखेका छन् भने कतिपयले अन्य भिडियो, तस्बिर र अभिनय गरेको भिडियो अप्लोड गरेका छन्। कतिपयले उक्त श्रव्य सामग्री प्रयोग गरी छुट्टै भिडियो बनाई ‘के यो साँच्चिकै हो त ?’ भनी प्रश्न पनि गरेका छन्।
mr.shreekant_kushwaha1 ले टिकटकमा अप्लोड गरेको भिडियो र Nepal Live ले अप्लोड गरेको भिडियोको स्क्रीनसट
news_24npllite ले शेयर गरेको उक्त भिडियोको श्रव्य सामग्री प्रयोग गरी mr.shreekant_kushwaha1 नामक एकाउन्टबाट नेपाल लाइभकै हालसालैको समाचारको भिडियोको अंश प्रयोग गरिएको भिडियो अप्लोड गरिएको छ। नेपाल लाइभले आफ्नो यूट्यूब च्यानलमा मंसिर १२, २०७६ मा बेलायत, जर्मनी, ईटाली र अष्ट्रेलियामा ओमिक्रोन भेरियन्ट फैलिएको समाचार (जसको स्क्रिनमा ‘फैलिदै ओमिक्रोन भेरियन्ट’ क्याप्सन लेखिएको छ) को भिडियो अंशलाई mr.shreekant_kushwaha1 ले पुरानो श्रव्य सामग्रीमा प्रयोग गरी अङ्ग्रेजीमा ‘टुडेज ब्रेकिङ न्युज’ भनी शेयर गरेका छन्। उक्त लकडाउनको पुरानो श्रव्य समाचार र नयाँ ‘फैलिदै ओमिक्रोन भेरियन्ट’ उल्लेखित भिडियो हेर्दा यो समाचार हालसालको जस्तो देखिन्छ। उक्त भिडियोमा ४४ हजार बढी प्रतिक्रिया आएको छ भने ५ लाख बढी पटक हेरिएको छ। उक्त भिडियो १४३३ जनाले शेयर गरेका छन्।
यसैगरी itsmebinita8 नामक टिकटक एकाउन्टबाट रुटिन अफ नेपाल बन्द नामक फेसबुक पेजले मंसिर १३, २०७८ मा फेसबुकमा अपडेट गरेको कोभिडका केशहरु सम्बन्धी जानकारीको स्क्रिनसट लिई उक्त स्क्रिनसटमा news_24npllite ले अप्लोड गरेको भिडियोको श्रव्य सामग्री प्रयोग गरी बनाइएको भिडियो शेयर गरिएको छ। सो भिडियोमा स्क्रिनको बीचमा रोमन अङ्ग्रेजीमा ‘फेरि लकडाउन छ्या’ लेखिएको छ। उक्त भिडियोमा ३५० भन्दा धेरै प्रतिक्रिया आएको छ भने ७००० भन्दा बढी पटक हेरिएको छ।
itsmebinita8 ले टिकटकमा अप्लोड गरेको भिडियो र Routine of Nepal banda पेजले फेसबुकमा गरेको पोष्टको स्क्रीनसटयसरी पुरानो भिडियोलाई नयाँ जसरी पुन: शेयर गरिएको एक भिडियोको श्रव्य सामग्री प्रयोग गरी विभिन्न तरिकाले सम्पादन गरी भ्रामक सूचना फैलाइएको देखिन्छ।के हो ओमिक्रोन? दक्षिण अफ्रिकाको बोत्सवानामा पहिलो पटक पहिचान भएको कोभिड १९ को पछिल्लो भेरियन्टको नाम हो ‘ओमिक्रोन’। हाल विश्वको विभिन्न देशहरुमा ओमिक्रोन देखा परिसकेको छ। अमेरिका, अस्ट्रेलिया, अफ्रिकी देश, यूरोप र एसियाका विभिन्न देशहरुमा ओमिक्रोन भेरियन्ट देखा परिसकेको छ भने हालसम्म दक्षिण एसियाली देशहरुमा ओमिक्रोन भेरियन्ट फेला परेको जानकारी छैन। तर कोभिड निकै नै चाँडो एक अर्कामा सर्ने र फैलिने हुँदा विश्वका धेरै देशहरुले एक देशबाट अर्को देशमा हुने यात्रामा प्रतिबन्ध लगाएका छन्।नेपाल सरकारले हाललाई अफ्रिकाका देशहरुबाट आउने यात्रुहरुलाई प्रतिबन्ध लगाएको छ। यसै गरी भारत सिमा नाकाबाट आउने अफ्रिकी देशका यात्रुहरुलाई प्रवेशाज्ञा नदिने व्यवस्था गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंसिर २५ गते विज्ञप्ति प्रकाशित गर्दै सचेत रही अत्यावश्यक बाहेक विदेश भ्रमण नगर्न र सावधानी अपनाउन अपिल गरेको छ। हालसम्म ओमिक्रोन भेरियन्ट कति खतरनाक छ भन्ने तथ्य सार्वजनिक भइसकेको छैन। विश्व स्वास्थ्य संगठनका अनुसार यो पुराना कोभिड भेरियन्टभन्दा धेरै संक्रामक र घातक छ कि छैन भन्ने हालसम्म पत्ता लागिसकेको छैन।
प्रकाशित: Dec 03, 2021| 06:30 शुक्रबार, मंसिर १७, २०७८
उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...