काठमाडौं-जारी विश्वकप फुटबलको क्वाटरफाइनलमा शनिबार स्वीडेन र इङल्याण्डबीचको खेल शुरु भएको छ । दुबै टोली क्वाटरफाइनल खेलमा एक अर्कालाई पराजित गर्दै सेमिफाइनल पुग्ने रणनीतिमा रहनेछन् ।
स्वीडेनसँग आन्ड्रेस ग्राभिस्ट, ओली तेभेनेन जस्ता खेलाडी छन् भने यता, इङल्यान्डसँग पनि सर्वाधिक गोलकर्ता ह्यारी केन, जेशे लिङगार्ड जस्ता खेलाडी छन् ।
यसअघि सन् १९५८ मा स्वीडेन घरेलु मैदानमा फाइनल खेलमा ५-२ गोलले पराजित हुँदै उपविजेतामा चित्त बुझाएको थियो । त्यसपछि सन् १९९४ मा स्वीडेन सेमिफाइनल पुगेको थियो भने त्यसपछि स्वीडेन अन्तिम १६ मै सिमित थियो ।
यता इङल्यान्डले सन् १९६६ मा पहिलो पटक विश्वकप ट्रफी उचालेको थियो भने त्यसपछि सन् १९९० मा इङल्यान्ड सेमिफाइनल पुगेको थियो । सेमिफाइनल खेलमा इङल्यान्ड र जर्मनीले १-१ गोलको बराबरी खेलेपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो ।
जसमा जर्मनीसँग इङल्यान्ड ४-३ गोलले पराजित भएपछि तेस्रो स्थानका लागि खेलेको थियो । तेस्रो स्थानका लागि भएको खेलमा इङल्यान्ड इटालीसँग २-१ गोलले पराजित भएपछि चौथो स्थानमै चित्त बुझाएको थियो । अहिलेसम्म स्वीडेन र इङल्यान्डको भेट २४ खेलमा भएको छ ।
जसमध्ये ८ खेलमा इग्ल्यान्डले जितेको छ भने ७ खेलमा स्वीडेनले बाजी मारेको छ । त्यस्तै, ९ खेल इग्ल्यान्ड र स्वीडेनले बराबरी खेलेका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४