बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • राप्रपाका अध्यक्षत्रयले भने - पार्टी एकताका लागि त्याग गर्न तयार छौं

राप्रपाका अध्यक्षत्रयले भने - पार्टी एकताका लागि त्याग गर्न तयार छौं

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षत्रय कमल थापा, पशुपति शमशेर राणा र डा. प्रकाशचन्द्र लोहनीले पार्टीमा फुट आउन नदिने प्रतिबद्धता जनाएका छन्।
 |  बुधबार, मंसिर १५, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १५, २०७८

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षत्रय कमल थापा, पशुपति शमशेर राणा र डा. प्रकाशचन्द्र लोहनीले पार्टीमा फुट आउन नदिने प्रतिबद्धता जनाएका छन्। 

अध्यक्षत्रय थापा, राणा र लोहनीले पार्टीको बृहत्तर हितका लागि आफूहरु त्याग गर्न पनि तयार रहेको बताएका हुन्। काठमाडौंमा बुधबारबाट सुरु भएको पार्टी एकताको महाधिवेशनमा बोल्दै अध्यक्ष थापाले महाधिवेशनबाट पार्टीलाई एकताबद्ध बनाउने प्रतिज्ञा गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई आग्रह गरेका छन्। 

उनले नेतृत्व चयन सकेसम्म सर्वसम्मत हुने, नभए लोकतान्त्रिक विधि र प्रक्रियालाई मानेर अघि बढने स्पष्ट पारेका छन्। 

अध्यक्ष थापाले भने, ‘यथासम्भव सर्वसम्मतीको आधारमा नेतृत्व चयन गर्ने हामीले प्रयास गर्नु पर्दछ  कथमकदाचित सहमतिबाट हामीले नेतृत्व छनौट गर्न सकेनौं भने पनि प्रजातान्त्रिक अभ्यास र विधिबाट नेतृत्व छानेर पार्टीलाई आगामी दिनमा एकताबद्ध ढंगबाट अघि बढाउने प्रतिज्ञा तपाई-हामी सबैले गर्नु पर्दछ।’

अर्का अध्यक्ष राणाले पार्टी एकतामा खतरा उत्पन्‍न हुन नदिन आफूले अध्यक्षमा दाबी नगर्ने निर्णय लिएको बताएका छन्। उनले अध्यक्षमा आफू विजय हुनेभन्दा पनि पार्टीलाई एकतावद्ध बनाउने कुरालाई प्राथमिकता दिएको बताए। 

उनले भने, ‘मैले अहिलेको अवस्थामा पार्टीको बृहत्तर हित र एकताका लागि आफ्नो दाबी छोडनु पर्छ भन्ने टुंगोमा पुगे। त्यो टुंगोमा पुग्दा धेरै साथीहरुले अत्यन्त चित्त दुखाए। तर मैले आफू विजयी हुनेभन्दा पनि पार्टीलाई एकतावद्ध राखेर अघि बढनुपर्ने अवस्थालाई प्राथमिकता दिएर आफूले अध्यक्षमा उम्मेदवारी नदिने निर्णय गरेको हुँ।’

पार्टीलाई एकताबद्ध बनाएर लैजान आफूले नयाँ नेतृत्वको चयन गर्नुपर्ने प्रस्ताव अघि सारेको अध्यक्ष डा. लोहनीले बताए। डा. लोहनीले अध्यक्षमा राजेन्द्र लिङदेनलाई समर्थन गर्ने घोषणा यसअघि नै गरिसकेका छन्। पार्टीमा नयाँ युगको सुरुवात महाधिवेशनले गर्नेभन्दै लोहनीले पार्टी फुट्लाकि भनेर चिन्ता नगर्न पनि पार्टीका नेता, कार्यकर्तालाई आग्रह गरे।

उनले भने, ‘तपाईहरुले पार्टी फुट्‌लाकि भन्‍ने चिन्ता नगर्नुस्, पार्टीमा फुट हुँदैन। अब पार्टीलाई एकताबद्ध बनाएर लैजानुको विकल्प छैन। त्यही काममा हामी लाग्‍नेछौं। नेतालाई सम्मान, कार्यकर्तालाई माया गरेर मात्रै पार्टीले मुलुकलाई निकास दिन सक्नेछ।’

अध्यक्ष लोहनीले राष्ट्रको हित र नेपालका धर्म, संस्कृतिको संरक्षण र सम्बर्द्धनका लागि आफ्नो पार्टीको विकल्प नरहेको दाबी गरेका छन्। 


 

प्रकाशित: Dec 01, 2021| 20:20 बुधबार, मंसिर १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...