धनगढी- नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशको अधिवेशन नजिकै जाँदा प्रदेशको नेतृत्वका लागि उम्मेदावारी घोषणा गर्ने क्रम जारी छ। प्रदेश नेतृत्वका लागि पूर्व राज्यमन्त्री, राजदूत, जिल्ला सभापतिदेखि विद्यार्थी नेताहरुले उम्मेदवारी घोषणा गरेका छन्।
मंसिर १६ गतेदेखि सुदूरपश्चिम प्रदेशको अस्थायी मुकाम धनगढीमा आयोजना हुँदैछ। सभापतिका लागि पूर्व राज्यमन्त्री गोविन्दबहादुर शाह (अछाम), पूर्व राज्यमन्त्री तथा राजदूत अर्जुनजंगबहादुर सिंह (बझाङ), कैलाली जिल्ला सभापति नरनारायण शाह ‘मनु’ (कैलाली), कैलाली निर्वाचन क्षेत्र नम्बर २ का महाधिवेशन प्रतिनिधि हिमबहादुर रावल र डोटीबाट महाधिवेशन प्रतिनिधि पुष्पकुमार शाहीले उम्मेदवारी घोषणा गरेका छन्।
नेपाली कांग्रेस कैलालीका सभापति नरनारायण शाह ‘मनु’ ले आफूसँग जित्नका लागि पर्याप्त मतसंख्या रहेको दाबी गर्दै प्रदेश सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन्। उनले प्रदेशमा सबैभन्दा बढी निर्वाचन क्षेत्र (पाँच संसदीय निर्वाचन क्षेत्र र १० प्रदेश सभा निर्वाचन क्षेत्र) भएको कैलालीका अधिकांश प्रतिनिधिको समर्थन आफूलाई रहेको र अन्य जिल्लाबाट समेत ठूलो संख्यामा समर्थक प्रतिनिधिहरू विजयी भएकोले आफू जित्ने दाबी गरे।
२०५० सालमा कैलालीबाट नेपाली कांग्रेसको क्रियाशील सदस्य बनेका शाह छोटो समयमा पार्टीको जिल्ला सभापति बनेका हुन्। २०५४ सालमा कैलाली तरुण दलको सचिव र ०५६ मा अध्यक्ष भएका उनी ०५८ सालमा पार्टीको सहसचिव बनेका थिए।
१२ औं महाधिवेशनमा कैलाली जिल्ला सभापतिमा निर्वाचित भएका उनी १३ औं महाधिवेशनमा पनि उनी पुनः कैलाली जिल्ला सभापतिमा विजयी भएका थिए।
बझाङबाट दुई पटक सांसद, एक पटक सहायक मन्त्री र राज्यमन्त्री तथा राजदूत रहिसकेका अर्जुन जंगबहादुर सिंहले आफू कुनै अन्य पदको बार्गेनिङका लागि नभई स्वाभाविक रुपमा प्रदेश सभापतिको उम्मेदवार रहेको बताए। उनले सबैसंग छलफल गरेर उम्मेदवारी घोषणा गरेको बताए।
२०३६ सालमा नेपाल विद्यार्थी संघको सदस्य बनेका उनी २०३८ सालमा केन्द्रीय सदस्य र ०४२ सालमा केन्द्रीय उपाध्यक्ष रहेका थिए। २०४० सालमा नेपाली कांग्रेस बझाङको सचिव भएका उनी २०४८ र ०५६ सालमा बझाङबाट सांसदमा निर्वाचित भएर सहायक मन्त्री र ०६८ सालमा परराष्ट्र राज्यमन्त्री र ०७४ मा राजदूत बनेका थिए।
अछामबाट दुई पटक सांसद निर्वाचित तथा राज्यमन्त्री भइसकेका गोविन्दबहादुर शाहले पार्टीका बरिष्ठ नेता, समकालिन साथी र युवाहरूको सल्लाहबाट प्रदेश सभापतिको उम्मेदवारी घोषणा गरेको बताए। उनले बार्गेनिङको लागि नभएर आफ्नो उम्मेदवारी स्वभाविक र अपरिहार्य रहेको बताए।
२०३६ सालमा नेपाल विद्यार्थी संघबाट राजनीतिक यात्रा सुरु गरेका शाह २०३८ सालमा डोटी क्याम्पस इकाईको सभापति र स्ववियु सभापति, २०४३ सालमा त्रिविवि इकाईको उपसभापति, ०४८ र ०५६ मा अछामबाट निर्वाचित सांसद, ०५६ मा सञ्चार राज्यमन्त्री बनेका थिए। २०५१ को मध्यावधी र २०६४ को संविधान सभा सदस्य निर्वाचनमा उम्मेदवार समेत रहेका थिए।
कैलाली क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित हिमबहादुर रावलले समेत धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रदेश सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन्। उनले केन्द्रीय तहका नेताहरु कोही प्रदेश सभापतिमा उम्मेदवार बनेको खण्डमा बाहेक आफू स्वाभाविक उम्मेदवार बन्ने बताए। ‘मैले बार्गेनिङका लागि उम्मेदवारी घोषणा गरेको होइन्’ उनले भने, ‘ कोही केन्द्रीय नेता नै सभापतिको उम्मेदवार बन्नुहुन्छ भन्ने सोच्न सकिएला, होइन भने म सशक्त उम्मेदवार हुँ।’
विगतको महाधिवेशनमा केन्द्रीय सदस्यमा प्रतिस्पर्धा गरिसकेका रावल २०४८ सालमा काँग्रेसको क्रियाशील सदस्य लिएका थिए। आर्थिक क्षेत्रका तमाम निकायमा रहेर काम गरिसकेका रावल नेपाल एयरलाइन्सको निर्देशक, विशाल बजार कम्पनीको अध्यक्ष, सहित विभिन्न आर्थिक संस्थामा उच्च पदमा रहेर काम गरेका छन्।
नेपाल विद्यार्थी संघमा जिल्लादेखि केन्द्रसम्म जिम्मेवारी बहन गरेका पुष्प शाहीले पनि प्रदेश सभापतिमा उम्मेदवारी घोषणा गरेका छन्। सुदूरपश्चिम प्रदेश कांग्रेसको नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्नेमध्ये उनी सबैभन्दा कान्छा उम्मेदवार हुन्। ‘म लगातार दुई पटक महाधिवेशन प्रतिनिधि भइसकेको र नेविसंघमा केन्द्रीय उपाध्यक्ष बनिसके’ शाहीले भने, ‘पार्टीको केन्द्रीय सदस्य अथवा प्रदेश सभापतिमा लड्नु पर्छ भनेर साथीहरूसँग छलफल गरेर यो पदमा उम्मेदवारी घोषणा गरेको हुँ।’
०५१ सालमा स्कुले विद्यार्थी हुँदाखेरी नै नेविसंघ विद्यालय इकाईको अध्यक्ष बनेको बताउने शाही ०५७ सालमा कैलाली बहुमुखी क्याम्पस स्ववियु उपसभापति उम्मेदवार, ०६२ सालमा कैलाली वहुमुखी क्याम्पसमा स्ववियू सभापतिको उम्मेदवार, ०६३ सालमा त्रिविवि इकाई उपाध्यक्ष, ०६४ सालमा नेविसंघको केन्द्रीय सदस्य र २०७३ सालमा संघको केन्द्रीय उपाध्यक्ष रहिसकेका छन्। प्रदेश समितिका अन्य पदमा समेत उम्मेदवारी घोषणा गर्ने क्रम अघि बढेको छ।
कैलाली क्षेत्र नम्बर ४ का महाधिवेशन प्रतिनिधि उत्तम कठायत, अछाम क्षेत्र नम्बर २ का महाधिवेशन प्रतिनिधि वलवहादुर कुँवरले प्रदेश महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका छन् भने कञ्चनपुरका नेता तथा महाधिवेशन प्रतिनिधि चिन्तामणि भट्टले महामन्त्री पदमा उम्मेदवारी दिने बताएका छन्।
सह–महामन्त्रीमा युवा नेता लेखराज जोशी, लक्ष्मण शाही, डम्मरी महराले उम्मेदवारी घोषणा गरेका छन्।
प्रथम प्रदेश अधिवेशनको तयारी कस्तो?
सुदूरपश्चिम प्रदेशमा मंसिर १६ र १७ गते कैलाली सदरमुकाम धनगढीमा प्रथम प्रदेश अधिवेशन आयोजना हुँदैछ। प्रदेश अधिवेशन प्रचारप्रसार समिति संयोजक नृपबहादुर सुनारका अनुसार अधिवेशनमा प्रदेशका ९ जिल्लाका १६ संसदीय निर्वाचन क्षेत्र र ३२ प्रदेश सभा क्षेत्रबाट गरेर साढे नौ सय प्रतिनिधि सहभागी हुँदैछन्।
संयोजक सुनारले अधिवेशनमा आउने पाहुनाका लागि धनगढीमा एक हजार बढी कोठा बुक गरिएको बताए। उनले मेस, कार्यक्रम स्थल सबैको तयारीसमेत पूरा भएको बताए। प्रतिनिधि आउने क्रम सुरु भइसकेको जानकारी दिए। उनले भने, ‘१६ बिहानदेखि १८ बिहानसम्मको खानाको व्यवस्था भइसकेको छ।’ उनले अधिवेशनका लागि ३० लाख खर्च लाग्ने बताए।
प्रदेश अधिवेशनका लागि नेपाली कांग्रेसले केन्द्रीय सदस्य तथा मन्त्री दिलेन्द्रप्रसाद बडूको संयोजकत्वमा मुल आयोजक समिति गठन गरेको छ। मुल आयोजक समितिको बैठकले पाँच सय एक सदस्यीय आयोजक समिती विस्तार गरेको छ।
नेपाली कांग्रेस कैलालीका सभापति नरनारायण शाह ‘मनु’ को संयोजकत्वमा अधिवेशन मुल व्यवस्थापन समिति तथा अन्य सातवटा उपसमिति समेत गठन गरिएको छ।