काठमाडौं- जिल्ला प्रशासन कार्यालय काठमाडौंले पशुपति क्षेत्रमा मांस, मदिरा र गाँजा विक्री वितरण तथा सेवन नगर्न अनुरोध गरेको छ। सहायक प्रमुख जिल्ला अधिकारीले बुधबार सूचना जारी गरेर भोलि १६ मंसिरमा पर्ने बाला चतुर्दशी पर्वका दिन पशुपतिनाथ मन्दिर परिसरमा मासु-मदिरा र गाँजाको विक्रीवितरण र सेवन गरे कारबाही गरिने चेतावनी दिएका हुन्।
बाला चतुर्दशीका अवसरमा पशुपति क्षेत्रमा पितृको सम्झनामा रातभर जाग्राम बसी बत्ती बाल्ने कार्यक्रम रहेको जानकारी गराउँदै उनले मन्दिर परिसरमा मांस-मदिरा तथा नशालु पदार्थको बिक्री-वितरण तथा सेवन नगर्न आग्रह गरेका हुन्।
बाला चतुर्दशीको दिन रातभर जाग्राम बसी बत्ती बाल्ने र भोलिपल्ट बिहान बाग्मती नदीमा बत्ती विसर्जन गरी पशुपति क्षेत्रका मठ-मन्दिर, देवालय, शिवालय, कैलाश चौर, मृगस्थली, मृगवटिकाको भागलभुगल महादेव लगायका स्थानहरुमा सद्वीज छर्ने कार्यक्रम रहेको जारी सूचनामा उल्लेख छ।