मंगलबार, असार ३०, २०८३

लेखन पनि अनुभूतिको अनुवाद हो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- पछिल्लो समय नेपाली साहित्यमा अनुवाद मौलाउन थालेको छ। तर, सोचेजति मौलाउन सकेको छैन। माइकल हटले बुद्धिसागरको ‘कर्णाली ब्लुज’ अंग्रेजीमा अनुवाद गर्दैछन्। एउटा विदेशीले नेपाली साहित्य अनुवाद गर्न लाग्नु आफैंमा खुशीको कुरा हो। 

यही भीडमा देखिन्छन्, महेश पौड्याल। झट्ट हेर्दा दुवै कानको छेउमा ‘सिल्भर कलर’ देखिन्छ। हँसिला स्वभावका पौड्याल साहित्य सिर्जनामै व्यस्त छन्। कृष्ण धरावासीको मदन पुरस्कार विजेता कृति राधालाई अंग्रेजीमा अनुवाद गरे। के अनुवाद भनेको अक्षर मात्रै फेरिनु हो ? कि भाषा मात्रै फेरिनु हो ? कि अन्य केही ? उनी भन्छन्, ‘अनुवाद गर्नु पनि किताब लेख्नुजस्तै हो।’

जीवनलाई अनुवाद गर्न सकिन्न। र, जीवनको प्रश्नै आफैंमा जटिल छ । सम्पूर्ण जीवनको अनुवाद आफैंमा सम्भव छैन। उनी भन्छन्, ‘जीवन 
ट्रान्सलेसन हुँदैन तर ट्रान्सलेटिज हुन्छ।’

बोल्दै गर्दा बीपीको ‘मधेशतिर’ सम्झिन्छन्, जसमा एउटी विधवा पात्र छिन् । सासूले फुटेको आँखाले देख्न सक्दिनन्। एक लाइन छ। त्यो लाइन एउटा अनुवादकले आँखै नभएको सासू बनाइदिए । अनुवादकले सतही नबुझेर उल्टो अनुवाद भयो । यहीबेला लेखकको अनुभूति मर्न गयो। र, अर्को भाषाका पाठकले अर्कै बुझ्न पुगे । त्यहीबेला लेखकको मौलिक बिम्ब मर्‍यो । 

जीवनको आरोह–अवरोहमा आउने हरेक समय उस्तै छन्। उस्तै समयमा आउने उतारचढाव बडो अनौठा हुन्छन्। केही यादगार हुन्छन्। केही बिर्सन लायक हुन्छन्। अनुभूतिमा दुवै पल बाँचेको हुन्छ। आफूले देखेको समाज लेख्ने हो। आफ्नो समयको अनुभूति लेख्छन्। उनी भन्छन्, ‘लेखन पनि अनुभूतिको अनुवाद हो।’ 

जीवनका पाटाहरू पनि अनुवादित हुन्छन्। आक्रोश र खुशीका अनुभव शृंखलाबद्ध हुन्छन्। ती अनुवाद हुन्छन् । भावको अनुवाद गर्छौं । भावलाई हामी अक्षरहरूमा अनुवाद गर्छौं । अनुवाद गर्नु आफ्ना भावहरू बदल्नु हो। 

प्रेमको अनुवाद : अनकन्सेन्सी

संसार मायावी छ। माया एकअर्काका पूरक हुन् । मान्छे फरक छन् तर प्रेमको भाषा एउटै हो। एउटै फिल हुन्छन्। एउटा अनुवादकले मायालाई कसरी अनुवाद गर्लान् ? उनी भावुक भएर भन्छन्, ‘वास्तवमा मैले अनुवादको प्रयासै गरेको छैन।’ 

शायद अक्षरहरू जति सजिलो छैन क्यारे प्रेमलाई अनुवाद गर्न। 

जीवनको भाषालाई अनेक अनुमानमा अनुवाद गरिएला तर माया एकअर्कासम्म पुग्न अनुवाद भएर पुग्छ कि पुग्दैन ? पुग्यो भने कस्तो अनुभव होला? उनी आफैंसँग सोध्छन्, ‘के माया अनुवाद होला त ?’ जसलाई उनले कहिल्यै अनुभूति गरेनन्। 

मायाको अनुवाद प्रस्तुतिमा भर पर्ने ठान्छन् उनी? र, एउटा जटिलता देख्छन्। त्यसैले उनी अझै पनि भन्छन्, ‘प्रेमको अनुवादमा अनकन्सेन्सी पो छु।’

चिन्तन कति भयो। याद कति रह्यो। हेरविचार कति गरियो। प्रेमिकाबारे राम्रो कुरा गरियो कि नराम्रा । आफ्ना सफलतालाई कति सेयर गरियो । या दुःखद् घटनाहरूमा कति सहभागी भइयो । प्रेम अनुवाद हुने होइन तर समयले दिएको परिस्थिति अनुवाद भइदिन पुग्छन्, उनी बडो प्रेमिल भएर भन्छन्, ‘कति अदा गरेको छु भन्ने कुरामा प्रेम बाँचेको हुन्छ शायद।’ 

राधालाई अंगेजीमा अनुवाद गरे। आफूभित्रको प्रेमलाई अक्षरहरूमा अनुवाद गर्न पनि इमानदारिता चाहिन्छ । इमानदारिता बाँच्यो भने अनुवाद पनि साँचो देखिने रहेछ । ‘लामो जीवन बाँचेका हुन्छौं। र, सबै कुरा लेख्न सकिन्न । धेरैले जीवनको सुन्दर पक्षलाई समेट्छन् । तर, आफूूले गरेका बदमासीलाई लुकाउने कोशिस गरिन्छ,’ उनी भन्छन् । 

लोक मर्यादासँग पनि सबै डराउँछन्। अन्य मान्छेले केही भन्छन् कि भन्ने डर हुन्छ। आफ्ना सत्य जहिल्यै लुकाइन्छन्। त्यो उनीभित्र पनि लुकेको छ। आफूलाई लुकाएर पनि उनी खुल्ने कोशिसमा छन्। र, अक्षरमा खुल्ने भनेको क्षणभरका लागि नांगिनु होइन। 

अरूकै अक्षरहरू अनुवाद गर्नेले आफूनो प्रेमिल पलहरू अनुवाद गरेका छैनन्। प्रेमको भाषा आफ्नै हुन्छ। प्रेमिल पलहरू थप सुन्दर हुन्छन्। मान्छेले प्रेम अनुवाद गर्न सक्दैन। महशुस व्यक्त गर्छन्। सारा सीमा चिरेर माया गरिनु पो माया ठानिन्छ। उनी भन्छन्, ‘माया जगजाहेर कुरा हो।’

उनको आक्रोश पोखिन्छ। ‘ढाँट साहित्य मौलाइरहेको छ बजारमा।’

प्रेमिल राधा

राधाको राधा प्रेमिल पात्र। जसको जीवनको सबै पल कृष्णको प्रतिक्षामा रह्यो। जसले प्रेमकाका खातिर आफू बाँचिनु कि प्रेमलाई बचाइन् त ? राधाको रियल लाइफभन्दा परको लाइफलाई कृष्ण धरावासीले प्रेमिल बनाइदिए। महेश भन्छन्, ‘राधा कल्पनाको उडान हो ।’ 

राधालाई बढो सुन्दर बनाए धरावासीले । त्यो सुन्दर शैली, भाषा र राधाको हृदयविदारक भावहरूमा कृष्ण धरावासी डुबे। राधामा चुर्लुम्म भए। अहो बेहिसाब डुबेर लेखेका धरावासीको राधा अंग्रेजीमा आयो । नेपाली अक्षरहरूलाई अंग्रेजीमा अनुवाद गरे। कथा त्यही। भाव त्यही। तर, भाषा अलग। लेखक अलग।

एउटा लेखकले राधालाई जसरी सुन्दर बनाए। त्यसैगरी अनुवादकले गर्न सकिन्छ कि सकिन्नमा भन्ने दुविधाबाट पनि गुज्रिए उनी । महेश सम्झँदै भन्छन्, ‘कल्पनाको रिमोभ फर रियालिटी हुनपर्छ। त्यो मै पनि भएँ।’ एकछिन उनी हाँसिदिन्छन्।

यथार्थवादी धरातलमा उभिनुजस्तो सजिलो रहेन उनलाई। यो पाँच वर्षको पिरियडमा उनले प्रेमिल राधालाई अंग्रेजीमा बदल्न गतिलो मुडको जोहो गरे । त्यो एउटा सकस थियो । तर, एउटा सर्जक भएर होला, उनले त्यो जोखिमको फिल गरेनन्। 

उनी भन्छन्, ‘धरावासीले जुन सुन्दरताका साथ राधा लेखेका छन्, त्यही सुन्दरताका साथ अनुवादमा भन्न सकिन्छ कि नाईं भन्ने जोखिम थियो।’ 

यही जोखिमसँग उनले कैयौं पल खेले। कैयौंपटक लेखक भइदिए। 

प्रेम आफूमा फिल गरिने हो। त्यसलाई अनुवादमा अर्को लेखक भएर फिल गर्ने कि या अनुवादक भएर गर्ने ? भन्ने सोच उनीमा खुब आएको रहेछ।  

प्रेमले हेर्ने आ–आफ्नै दृष्टिकोण हुन्छ। आफैंसँग भइरहेको मान्छेसँग असन्तुष्ट भएको खण्डमा शायद राधाजस्तो प्रेमिका खोज्थे होलान् । तर, राधाजस्तो त्यागी अहिलेको समाज छैन। अहिलेका मान्छे प्रतिक्षा गर्दैनन्। जीवन एक्लै काट्न सक्दैनन्। उनलाई पनि राधासँग प्रेम भइगयो । त्यो राधा उनले आफ्नै रमामा भेटे । आफूले देखेको संसार नै सत्य देख्छन् उनी । त्यो सत्य नै उनको घरको राधा भइन् । 

राधा पढ्ने जो कोही पाठकले राधाको मर्का बुझ्छन् । राधाभन्दा पनि उनलाई ‘एकनक्स’ पात्रले उनलाई छोएको रहेछ । उनलाई सानो–सानो कुराले छुन्छ। हावासँग उनलाई प्रेम छ। मसिना कुरामा खेल्न रूचाउँछन् उनी । समाजका झिना कुराहरू अक्षरहरूमा खोज्छन्। जीवनमा छिटो नजिकिने भनेकै तिनै हुन् । जसलाई बेवास्ता गरिन्छ। त्यही साना भनिएकालाई उनी कथाका प्लट बनाउँछन् । उपन्यासका पात्र बनाउँछन्। कविताका लाइन बनाउँछन्। 

कृष्णका अनेक चरित्र

पाँच वर्षअघि राधालाई अनुवाद गर्नुपर्छ भनेर उनैले प्रस्ताव राखेका थिए धरावासीसँग। नितान्त मौलिक रचनाहरूलाई विश्व बजारमा पुर्‍याउने उनको चिन्तन थियो। नेपाली साहित्यलाई पनि अनुवादमार्फत् विश्व बजारमा पुर्‍याउने धोको उनले राधामा देखे। जुन पूर्वेली मिथकले ओहपोह छ।

उनी भन्छन्, ‘पूर्वेली मिथकीय परम्परामा कृष्ण मात्र एउटा यस्तो पात्र हुन्, जसको बाल संस्करण बच्चालाई मन पर्छ। कृष्णको छोरो संस्मरण आमाहरूलाई मन पर्छ। साथी संस्करण कृष्ण सुदामा तथा अर्जुनजस्ता मित्रहरूलाई मन पर्छ । दार्शनिक संस्करण गीता नै भयो। जो संसारको सत्य किताब ठानिन्छ। योद्धा संस्करण युवालाई मन पर्छ।’ 

हरेक उमेर समूहको मान्छेमा कृष्ण भेटिन्छन्। राममा त्यो पाइँदैन। सबै उमेर समूहमा पपुलर हुने नै कृष्ण हुन्। हरेक समुदायले कृष्णलाई आ–आफ्नो कल्चरमा भेटिन्छन्। कृष्णको अनुहार दक्षिण एसियाभरि भेटिन्छन्। उनी भन्छन्, ‘किशोर वा प्रेमी संस्करण पनि संसारकै हिट लाग्छ उनलाई। गोपिनीको प्रेमलीला पनि संसारमै प्रख्यात छ। 

महाभारत संस्करण अथवा महाभारत युद्धको डिजाइनर कृष्णलाई अहिले पनि वीर योद्धाहरू सम्झिन्छन्। या राजनीतिज्ञहरू गुरु मान्छन् । यतिका चरित्र आजसम्म पनि मन पराइनु अन्य कुनै भगवानमा पाइँदैन। 

राधामा धरावासीले कृष्णलाई धोकेबाज प्रेमी बनाइदिएका छन्। संसारभरिले मानिएका कृष्णलाई राधामा धरावासीले भिलेन बनाइदिए। राधाका भिलेन कृष्णलाई संसारभरि चिनाउँदा के भन्छन्। कसरी बुझछन् भन्ने हेर्न मन थियो महेशलाई। ‘नेपाल र भारतका जुन प्रान्तमा पुगे पनि कृष्ण भेटिन्छन्,’ उनी भन्छन्, ‘नेगेटिभ पात्रको रूपमा चित्रण गरिएको कृष्णलाई संसारले कसरी हेर्छ त?’ उनी भिलेन कृष्णलाई देखाउन पनि लालायित भए। 

उनको सोचले धरावासीसँग प्रस्ताव राखे । त्यो प्रस्तावलाई धरावासीले शुरुमै पत्याएनन्। उनले केही समय लिए। पूरै दुई वर्षपछि धरावासीले महेशको प्रस्तावलाई स्वीकारे। कत्तिको जोखिम छ कत्तिको साहस थियो । समालोचकीय आँखाले पनि हेरे महेशले। 

लेखकको किताब र अनुवाद गर्नुअघिको पिरियडमा महेशलाई साह्रै गाह्रो भयो। उनले लेखकलाई दुई हिसाबले हेरेछन्। त्यो हो, ‘अनुवादकले लेखकको ध्वनी पढनु पनि पर्छ। किताबलाई पढेर मात्रै हुँदैन।’

असली अनुवादक : ईश्वर

एक अनुवाद भएर उनले राधाभन्दा बढी कृष्ण धरावासीलाई पढे । लिपीमा आएको राधाभन्दा उनले धरावासीको मनोविज्ञानमा आएका भावहरूलाई पढ्ने कोशिस गरे । इमोसनल खोजे । राधा पात्र लेख्दा लेखकको मनोविज्ञानमा के आएको थियो। त्यो पढ्ने चेष्टा गरे।

त्यो चिन्तनले डरै देखायो। तर, कहिलेकाहीं अनुवाद अझ राम्रो हुनसक्छ भन्ने उनलाई अवगत पनि थियो। त्यो हृदयको भाषाले उनलाई थप अनुवाद गर्न हौस्यायो पनि। 

अनुवादकले फिल गर्नु पर्ने रहेछ लेखकलाई। लेखकको छायाजस्तो भएर पनि भएन। लेखकजस्तै भएर पनि भएन। लेखकको दिमागको मनस्थितिलाई बुझेर मात्रै अनुवाद गर्न आवश्यक देख्छन् उनी। 

गहिरो चिन्तनपश्चात् राधाको टोन समाउन पुगे। भाषाविद् त धेरै छन् तर अनुवादक हुन सकेका छैनन्। भाव या तरंग समाउन सक्नुपर्छ भन्छन् उनी। उनी सम्झँदै थप्छन्, ‘टोन समाउन सक्यो भने अनुवाद साँच्चै मौलिक हुन सक्छ । अर्को भाषामा पनि लेखकले नै लेखेको हो भन्ने बनाउन सकिन्छ।’ 

अनुवाद गर्न लेखकभन्दा बढी मिहिनेत गर्न आवश्यक देख्छन् उनी। दोस्रो टाउकाको गुदी बुझ्नुपर्ने देख्छन्। धरावासीको भाव प्रदान आख्यानलाई अर्को भाषामा बदल्न निकै जोखिमचाहिँ उठाएका हुन् उनले। 

एक भाषा अर्को भाषामा फेर्न सकिन्न तर भाव फेर्ने हो। जस्तै, कविता अनुवाद हुँदा धेरै बदलिन पुग्छ। अनुवादमा लय समाउन सकिएन भने चिप्लिने रहेछ । लयबिना रचना बग्दैन। अनुवाद गर्न अनुवादक नै सर्जकजस्तो हुनु पर्‍यो । सर्जक भए अझ राम्रो देख्छन्। र, उनी भन्छन्, ‘एउटा सर्जकले नै अर्काको किताबलाई न्याय गर्न सक्छ शायद।’ 

अंग्रेजी भाषामा पनि लेखे। धेरै कविताहरू अनुवाद पनि गरिसके। तीन वर्ष लगाएर राधालाई अंग्रेजीमा अनुवाद गरे । र, विश्व बजारमा उनले राधालाई ल्याइपुर्‍याए । राधा उपन्यास अनुवाद गर्दा जति रोमाञ्चकारी रह्यो, त्यति नै जोखिम पनि मोले। त्यो जोखिम अहिले अंग्रेजी साहित्यका पाठकले मन पराइदिए । अंग्रेजीका बौद्धिक पाठकले मन पराए। यो नै उनले पाएको सफलता थियो। 

जीवनमा सफलता पाए पनि उनी पछिल्लो समय परिवारमा फेल भए। चाहेर पनि उनले छोरो बचाउन सकेनन्। बाउ भएर छोरो बचाउन नसक्ने क्षमता पनि देखे आफूभित्र। नियति कसले फेर्ने ? साँच्चै अरूको अक्षरहरूलाई अनुवाद गर्ने महेशले आफ्नो छोरो खोस्ने समयलाई अनुवाद गर्न सकेनन्। उनले अक्षरहरूमा डुलाएर परिवार भुलाए। छोरा बितेको पीडा केही भए पनि कम हुन्थ्यो कि भनेर कथा निकाले। साँच्चै उनको जीवनमा त्यसपछि फुलेन गोदाबारी मुर्झायो तर कृति ‘त्यसपछि फुलेन गोदावरी’ प्रोमोसनमा लागे। उनी भन्छन्, ‘लेखन थेरापी पनि हो।’ 

विविध कार्यक्रममा सहभागी जनाउँदै छोरोको झझल्कोलाई साटे । छोरोको यादहरू समेट्दै भावुक भए, ‘फगत हामी अनुवाद गरी टोपलिएको मात्रै हौं। असली अनुवादक त ईश्वर हुन्।’
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।