काठमाडौं- नेपालमा पश्चिमी वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणाली र अरब सागरमा बनेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ। जसकारण बुधबार बिहान सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीमा बदली रहेको छ।
दिउँसो सुदूरपश्चिम, कर्णाली र गण्डकीका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। ती प्रदेशका उच्च पहाडी र हिमाली भूभागमा हिमपातको सम्भावना छ।
बिहीबार सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी र बागमतीका पहाडी भूभागमा हल्का देखि मध्यम वर्षाको आँकलन गरिएको छ। ती प्रदेशका उच्च पहाडी र हिमाली भूभागमा भारी हिमपात सम्भावना छ।
शुक्रबार देशभर बदली रहनेछ। पहाडी भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको आँकलन गरिएको छ। उच्च पहाडी र हिमाली क्षेत्रका धेरै स्थानमा मध्यम देखि भारी हिमपातको सम्भावना रहेको छ।
महाशाखाले मंगलबार साँझ विशेष बुलेटिन जारी गर्दै वर्षा र हिमपातका कारण चिसो बढ्ने बताएको छ। पछिल्लो २४ घन्टामा काठमाडौंको तापक्रम ६.३ डिग्रीसेल्सियसमा झरेको छ भने जुम्लाको तापक्रम माइनस ४ दशमल ८ डिग्रीसम्म झरेको छ।