मस्को- रुसी प्रधानमन्त्री मिखाइल मिशुस्टिन र चिनियाँ राज्य परिषद्का प्रधानमन्त्री ली खछ्याङले रसिया–चीन सम्बन्धको विकास र दुई देशबीचको रणनीतिक सहयोगको बारेमा छलफल गर्ने कार्यक्रम तय भएको छ।
रूसी मन्त्रिपरिषद्लाई उद्धृत गर्दै रुसी समाचार संस्था स्पुतनिकले जनाएअनुसार दुबै पक्षले व्यापार र लगानी, ऊर्जा, औद्योगिक, कृषि, यातायात र मानवीय क्षेत्रमा सहयोगमा जोड दिएर रुसी–चिनियाँ व्यापक साझेदारी र रणनीतिक अन्तरक्रियाको विकासका मुद्दाहरूमा छलफल गर्ने अपेक्षा गरिएको छ।
यसअघि मंगलबार रुसी रक्षामन्त्री सर्गेई शोइगुले रुस र चीनले यस वर्षदेखि समुद्र, हवाइ र जमिनमा संयुक्त सैन्य तालिम बढाउँदै आएको बताएका थिए।
सोइगुले आफ्ना चिनियाँ समकक्षी वेई फेङ्गेसँग भिडियो कन्फरेन्समार्फत कुरा गरेपछि यो कुरा बाहिर आएको हो। सोइगुले कोरोनाभाइरस महामारीको सन्दर्भमा द्विपक्षीय सहयोगको कसरी अगाडि बढाउने भन्नेबारे छलफल गरेका छन्।