पछिल्लो एक वर्षदेखि भारतमा किसान आन्दोलन चर्चामा छ। किसानहरुले बालीको सही भाउ नपाउनु र किसानमाथि मोदी सरकार निर्मम भएको बहस पनि चर्किरहेको छ। त्यतिमात्रै होइन, बहुराष्ट्रिय कम्पनी र भ्रष्ट राजनीतिज्ञले किसानहरुको भूमि हडप्ने खेल वर्षौंदेखि चलिरहेकै छ।
किसानहरुको पीडालाई पृष्ठभूमिमा राखेर बनाइएको सिनेमा ‘अन्तिमः द फाइनल ट्रुथ’ मा सलमान खानले दबिएको आवाज र भावनालाई अभिव्यक्त गरेका छन्। कुनै बेला सलमानका बुवा सलीम खान र जावेद अख्तरले संयुक्त रुपमा तयार पारेको ‘एङ्ग्री योग म्यान’ चर्चित थियो। सो भूमिकालाई पर्दामा उतार्ने अमिताभ बच्चन सन् १९७५ मा इन्दिरा गान्धीले २१ महिना लगाएको संकटकालमा विद्रोहको प्रतीक बने। त्यही भूमिकाले नै अमिताभ बच्चन सुपरस्टार बनेका थिए।
सोही विद्रोहको झलक दिने पात्रको भूमिका निर्माण गरेका छन्, ‘अन्तिमः द फाइनल ट्रुथ’मा सलमान खानले। राहुल पाटिल (आयुष शर्मा) किसान सखाराम (सचिन खेडेंकर) को छोरा हुन्छ। सखाराम त्यस्तो भूमिको हेरचाह गर्छ जुन जमिन कुनै समय उनकै थियो। आफ्नै भूमिको रेखदेख गर्ने कामदारको जिम्मेवारीमा खुम्चिएका सखारामले त्यो कामबाट पनि हात धुनुपर्ने अवस्था आउँछ। कामबाट निकालिएको सखाराम पुणेको एक तरकारी बजारमा काम गर्न थाल्छ। इमान्दार सखारामलाई देखेर छोरा राहुल खुसी छैन। ऊ आफ्नो बुवाको इमान्दारिताको बाटो हिँड्न चाहँदैन। ऊ उल्टो हिड्न रुचाउँछ तर त्यो बाटो खराब बाटो हो।
पुणेमा गएर राहुल आफ्नो ‘भाइगिरी’ सुरु गर्छ। ‘भाइगिरी’ सुरु गरेसँगै ऊ अथाह सम्पत्तिको मालिक बन्छ। खराब बाटो हिँडेको राहुललाई उसको बुवाआमा, बहिनी र प्रेमिकाले पनि साथ छोडिदिन्छन्। सबैथोक पाएर पनि ऊ एक्लो हुन्छ। खराब बाटाको गन्तव्य निर्वासन हो, राहुल आफैंहरुबाट निर्वासित भएको छ।
फिल्ममा राजवीर सिंह नामको अर्को बलियो भूमिका छ, जसलाई पनि सलमान स्वयम्ले निर्वाह गरेका छन्। राजवीर सिंह इमान्दार प्रहरी अफिसर हुन्छ तर कानुनअनुसार हिँड्नुपर्दा राजवीरले आफूले चाहेजस्तो केही गर्न सक्दैन। राहुललाई बारम्बार राजवीर सुध्रिन सम्झाउँछ। यदि सुध्रिएन भने अन्तिम परिणाम निकै पीडादायी हुने चेतावनी पनि दिन्छ। राहुलको सुधार साह्रै धीमा गतिमा अघि बढ्छ। प्रवीण तरडेको कथालाई महेश मान्जरेकर, अभिजीत देशपाण्डे र सिद्धार्थ साल्बीले संयुक्त रुपमा पटकथा लेखेका हुन्।
किसानहरुको पीडालाई पृष्ठभूमिमा राखेर बनाइएको सिनेमा ‘अन्तिमः द फाइनल ट्रुथ’ मा सलमान खानले दबिएको आवाज र भावनालाई अभिव्यक्त गरेका छन्।
एउटा युवक अन्यायका विरुद्ध लड्नु, कानुनलाई हातमा लिनु र सामूहिक द्वन्द्वको हिस्सा बन्नुजस्तो कथा सयौं फिल्ममा देख्न पाइए पनि ‘अन्तिमः द फाइनल ट्रुथ’ प्रस्तुति र अभिनयका लागि दर्शनीय छ। फिल्ममा पटकथा लेखकको मेहनत देखिन्छ। राहुल र उनका बुवाको अडानका दृष्य यादगार छन्, यद्यपि सो दृश्य केही लामो छ। राहुलकी प्रेमिका मन्दा (महिमा मकवाना) ले केही दृष्यहरुमा विश्वसनीय भूमिका निर्वाह गरेकी छिन्।
सलमान खानको भूमिका पनि निकै महत्वपूर्ण छ। सलमान महाभारतका कृष्णले झै सामूहिक द्वन्द्वलाई परिचालित गर्छन्। जहाँ उनले केही नगरेरै धेरै गरेझैं लाग्छ। सलमान र आयुषबीचको झगडाको दृष्यमा निकै मिठा र दमदार संवाद छन्।
निर्देशकको रुपमा महेश मान्जरेकरले नियमित कथालाई केही रोचक ढंगले प्रस्तुत गरेका छन्। केही ‘मसलाबाजी’ अपनाएर दर्शकको ध्यान तानिएको छ। राहुल र राजवीर पात्रले दर्शकलाई फिल्मसँग एकाकार गराउँछ।
नकारात्मक भूमिकामा देखिएका राहुलप्रति दर्शकको सहानुभूति छ र राजवीरको भूमिकाले पनि दर्शक निरास हुँदैनन्। मध्यान्तरअघि भागमा फिल्म निकै कुदेको छ भने दोस्रो हाफमा अलिकति तन्किएको हो कि जस्तो लाग्छ। आयुश शर्मा वरिपरि घुमेको यो फिल्म आयुशलाई नै सोचेर रचिएझैं लाग्छ। सायद आयुशलाई अगाडि बढ्न फराकिलो बाटो बनाइदिएका होलान् सलमानले। उसो त नाताले सलमानका ज्वाइँ हुन् आयुश। उनले अभिनयमा प्रशस्त मेहनत गरेका छन्।
राहुलको भूमिकामा जुन ऊर्जा र पागलपन चाहिन्थ्यो त्यो आयुशले दिएका छन्। शारीरिक बनावटमा धेरै मेहनत गरेका छन्। दुवै बडी बिल्डरजस्ता लाग्छन्। सलमान खानले पनि आफ्नो भूमिका बलियो बनाएका छन्। संवाद बोल्ने शैलीलाई नै फरकपन दिएका छन्। शान्त स्वभावमा देखिए पनि उनी पूरै फिल्ममा हावी छन्।
महिमा मकवानाको भने यो पहिलो फिल्म हो। उनले आफ्नो काम इमान्दारका साथ गरेकी छिन्। सचिन खेडेंकर, उपेन्द्र लिमये, सयाजी शिंदे, जीशु सेन गुप्ताको अभिनयले फिल्मलाई थप बलियो बनाएको छ। बरुण धवन र वलिश्चा डिसुजा एक–एक गीतमा देखिएका छन्। फिल्मका केही गीत निकै मिहेनतसाथ बुनिएको छ। प्राविधिक पक्ष पनि बलियो छ। स्टन्टहरु राम्रोसँग डिजाइन गरिएका छन्।
– वेब दुनियाका लागि समय ताम्रकरले गरेको समीक्षाको भावानुवाद