काठमाडौं- सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले सवारीसाधनबाट हुने प्रदूषणलाई व्यवस्थापन गर्ने कुरालाई ध्यानमा राखेर अघि बढ्नु पर्ने बेला आएको बताएकी छन्।
जलवायु परिवर्तनसँग सुहाउँदो सहरी विकास परियोजना कार्यक्रम सार्वजनिक गर्दै मन्त्री झाँक्रीले मंगलबार सवारीसाधनबाट हुने प्रदूषणलाई व्यवस्थापन गर्ने कुरालाई ध्यानमा राखेर अघि बढ्नु पर्ने बेला आएको बताएकी हुन्। उनले ग्लोबल प्लेटफर्ममा नेपालले जनाएका प्रतिबद्धताहरुलाई सबै नागरिकहरुले आफ्नो एजेण्डा बनाएर अघि बढ्नु पर्ने आवश्यक्ता समेत औंल्याइन्।
मन्त्री झाँक्रीले अहिले भएका ठाउँहरुलाई राम्रो बनाउन कागजमा कार्यक्रम ल्याएर मात्रै नपुग्ने भन्दै सबैले आफ्नो क्षेत्रबाट आगामी ३० वर्षमा नेपालका विभिन्न सहरलाई नयाँ सहर बनाउने अवधारणाअनुरुप काम गर्नुपर्ने बताइन्।
मन्त्री झाँक्रीले भनिन्, ‘कोप २६ मा हाम्रो प्रधानमन्त्री गएर बोल्नुभयो, हाम्रो प्रायोरिटी यो हो भनेर, स्वभाविक रुपले नेपाल सरकारको प्रधानमन्त्रीले बोलेको विषयहरु हाम्रो सरकारको प्राथमिकता हो। त्यहाँ केही विषयहरु बोलिए र हामीले त्यसलाई अरु ढंगले पनि प्रेजेन्ट गरिरहेका छौँ। एउटा अनौठो तथ्यांक देखेँ मैले, २०३० सम्म हामीले १५ प्रतिशत स्वच्छ र सस्तो उर्जाको विकास गर्ने भनेका छौँ। जबकी हाम्रो उर्जा भनेर केलाई भन्ने? दाउरा, आदि इत्यादीलाई पनि उर्जा भन्ने हो भने त फेरि हाम्रो अर्को कुरा हुने होला। आजको दिनमा अरुकै कुराहरुलाई हामीले ध्यान दिएको जस्तो पनि लाग्छ। त्यसैले कार्बन उत्सर्जन नगर्ने देशमध्ये नेपाल पर्छ, दुई वटा ठूला औद्योगिक, विकासशील, राष्ट्रहरु, इकोनोमिमा तीव्र विकास गरेका र जनसंख्याको ठूलो हिस्सा भएका मुलुकहरुको बीचमा छौँ। हामी जोखिममा छौँ भन्ने विषयहरु सबै मानिसहरुले बिना प्रोजेक्ट चिच्याएर भन्नु पर्ने बेला छ।'
मन्त्री झाँक्रीले वस्तु र सेवाको उत्पादन बन्नुपर्ने काठमाडौं वस्तु र सेवाको उपभोगको केन्द्र बनेको बताए। उनले काठमाडौं व्यवस्थित र आधुनिक सहर नभइ ढल र अव्यवस्थित मानिसहरुको थलो भएको बताइन्। मन्त्री झाँक्रीले काठमाडौंलाई नयाँ काठमाडौं बनाउन कागजमा मात्र लेख्ने काम नगरी कार्यान्वयन गर्न र त्यसको अध्ययन अनुसन्धान हुनुपर्ने बताएकी छन्।
मन्त्री झाँक्रीले काठमाडौंमा मेट्रो रेल चलाएर ट्राफिक जामको व्यवस्थापन गर्न सकिन्छ भन्नेहरुले त्यसको बारेमा अध्ययन नगरी जाने सुनेको भरमा मात्रै भन्दै हिँडेको बताइन्। मन्त्री झाँक्रीले भनिन्, ‘जस्तो काठमाडौं सहरको अव्यवस्थापनको कुरा गर्ने हो भने यो वस्तु र सेवाको उत्पादन केन्द्र नभइ वस्तु र सेवाको उपभोगको केन्द्र बनेको छ। अनि यो व्यवस्थित र आधुनिक सहर होइन, ढल, बाटो बिग्रेको, अव्यवस्थित मान्छे, एकले अर्कोलाई सोसल इन्ट्रीगेशन पनि त्यति राम्रोसँग नहुने, एकप्रकारको मनोडोनस अर्कै अवस्था बनिरहेको छ। यसलाई बनाउन सकिन्छ कि सकिँदैन भन्ने हो भने, यदि सबै मानिसले कमिटमेण्ट गर्यो भने सकिन्छ। हाम्रा प्रोजेक्टहरुमा दुनियाँमा सुने जानेका सबै शब्दहरु छन्, तर कागजमा मात्रै भए। नयाँ बनाउने कमिटमेण्ट के हो? केही पनि छैन।'
मन्त्री झाँक्रीले नयाँ सहर, मेगा सहर र स्मार्ट सिटी बनाउनको लागि अध्ययन र अनुसन्धानको खाँचो रहेको बताइन्। उनले इन्जिनियरिङ क्षेत्रमा अब पढ्दा र पढाउँदा आजको काठमाडौंलाई ३० वर्षमा नयाँ काठमाडौं बनाउने योजनाअनुसार प्रत्येक विद्यार्थीहरुलाई प्रोजेक्ट दिएर पढाउनु पर्ने बताएकी छन्।