इटहरी– पहाडी खोंच हुँदै तीव्र गतिमा बग्ने नदीको पानीमा पौंठेजोरी खोज्नु कम जोखिमपूर्ण हुँदैन। वेगवानी पानीका छालसँग उफ्रिँदै र पछारिँदै तीव्र गतिमा गरिने साहसिक खेल र्याफ्टिङ भनेपछि हुरुक्कै हुन्छन्, युरोप र अमेरिकाका बासिन्दा।
साहसिक र रोमाञ्चकारी खेलका लागि नेपालका १४ वटा नदी खुला गरिएको छ । हिमालको फेदीबाट निस्केर कञ्चन पानीसहित ठाडो ओरालो तल्लो तटतिर हुइँकिने नेपालका नदीहरूमा र्याफ्टिङमा रमाउने कुरामा हुरुक्कै हुने गर्छन्, पश्चिमा मुलुकका नागरिकहरू।
पछिल्ला दिनमा आन्तरिक पर्यटक पनि थपिन थालेका छन्, यस साहसिक खेलमा । प्रदेश–१ का अरुण, तमोर र सुनकोशी नदी र्याफ्टिङका लागि प्रख्यात छन् । यसअघि काठमाडौंका पर्यटन व्यवसायी र संस्थाहरूबाट मात्र ती नदीमा जलविहार गराउँथे।
पश्चिमा पर्यटकमाझ लोकप्रिय साहसिक खेल र्याफ्टिङमा तानिँदै स्वदेशी पनि।
अहिले भने प्रदेश–१ कै व्यवसायी यसमा अग्रसर भएका छन्। सोही कारण आन्तरिक पर्यटक विदेशी सँगसँगै र्याफ्टिङमा देखिन थालेका छन् ।
प्रदेश–१ का व्यवसायीले एकदेखि आठ दिने प्याकेज बिक्री गरिरहेका छन्। अरुण, तमोर र सुनकोशीमा पानीको छाल र लहरमा बग्दै–बग्दै रोमाञ्चक अनुभव बटुल्न यस क्षेत्रका बासिन्दामा तँछाड मछाड हुन थालेको छ। तीनै नदी छाल र लहरका लागि विश्वस्तरका र्याफ्टिङ गन्तव्य मानिन्छन् ।
व्यवसायी सुरेश बस्नेतका अनुसार तमोरमा ३ देखि ४ र माइनस ५, अरुणमा ४ देखि ५ तथा सुनकोशीमा २ देखि ५ ग्रेडसम्मका छाल उत्पन्न हुन्छ ।
र्याफ्टिङमा छाल अर्थात् र्यापिड भन्नाले नदीको बहाव पार्न गर्न लाग्ने समस्या बुझिन्छ। अमेरिकी ‘व्हाइटवाटर एसोसिएसन’ले तयार पारेको मापदण्डअनुसार समस्याका आधारमा कुन नदी कति असहज छ भन्ने जनाउँछ। छालको ग्रेड १ देखि ६ सम्म हुन्छ।
महिलाले छालभन्दा बहाव मन पराउँछन् । सोही कारण उनीहरूको रोजाइमा परेको छ, अरुण नदी।
‘वेस्टर्न रिभर डट कम’का अनुसार एक र दुई ग्रेड र्यापिड रहेका नदीलाई सामान्य बहावको श्रेणीमा राखिन्छ। तीन ग्रेडलाई मध्यमस्तर तथा चार, पाँच र ६ ग्रेडका र्यापिडलाई साहसिक र जोखिमयुक्त मानिन्छ।
१३ वर्षअघिको प्याकेज

पूर्व क्षेत्रमा सन् २००५ देखि र्याफ्टिङ प्याकेज बिक्री हुन थालेको हो । पर्यटन व्यवसायी मदन ढकालले ‘तमोर रिभर र्याफ्टिङ’ नामक कम्पनीबाट यसलाई व्यावसायिक रूप दिएको १३ वर्ष बितेको छ।
इटहरीको ‘रिभर डिप र्याफ्टिङ’ले पनि व्यावसायिक प्याकेज बिक्री गर्दै आएको छ, जसका सञ्चालक हुन् पर्यटन व्यवसायी बस्नेत । अन्य केही कम्पनी पनि यस क्षेत्रमा संलग्न छन् ।
पुरुषहरूले तमोर, महिलाले अरुण र विदेशी पर्यटकले सुनकोशीको र्याफ्टिङमा रुचि राख्छन्।
धनकुटाको मुलघाटदेखि सुनसरी र उदयपुरको संगम चतरासम्मको ३४ किलोमिटर लामो ६ घण्टाको रुट र्याफ्टिङका पारखीमाझ लोकप्रिय छ । उद्गम थलो ताप्लेजुङ भएको तमोरको चार दिने एक सय २० किमि लामो रुट कम जोखिम र धेरै रोमाञ्चक मानिन्छ ।
तमोरको तल्लो तटस्थित ३४ किमि खण्डको एक दिने रुट लोकप्रिय छ । तमोरको पूरै रुटमा र्याफ्टिङ गर्नुपर्दा चार दिन तीन रात लाग्छ ।
यस्तै, संखुवासभा र भोजपुरको सिमाना तुम्लिङटारदेखि ७० किमि लामो चतरासम्मको रुट पनि पारखीमाझ प्रख्यात छ । तमोरमा नदीको छाल धेरै र अरुणमा बहाव बढी हुने व्यवसायी बस्नेत बताउँछन् ।
महिलाले छालभन्दा बहाव मन पराउँछन् । सोही कारण उनीहरूको रोजाइमा परेको हो, अरुण नदी।
तुम्लिङटार–चतरा चार र लेगुवाघाट–चतरा दुई दिने प्याकेज हुन् । ती दुवै प्याकेजमा र्याफ्टिङका पारखी झुम्मिने गरेका छन्।
सुनकोशी नदी भने नेपालीभन्दा विदेशी पर्यटक जलविहारका लागि लालायित हुने गर्छन्। यो रुटको हर्कपुर र्यापिड (छाल) संसारको सबैभन्दा जोखिमयुक्तमध्येमा गनिन्छ। दोलालघाटदेखि चतरासम्मको आठ दिने दुई सय १० किमि लामो यो रुट पूर्वको सबैभन्दा लामो पनि हो।
नेपालीका लागि यातायात र खानासहित व्यवसायीहरूले २४ घण्टाको ६ हजार रुपैयाँ लिन्छन् । एक दिने छोटो दूरीका लागि जनही तीन हजार रुपैयाँ लिने गर्छन् । सहुलियतमा जनही २५ सय रुपैयाँमा पनि एक दिने प्याकेज बिक्री गर्ने गरेका छन्।
पूर्वमा औसत एक कम्पनीबाट बर्सेनि तीन सय जनासम्मले र्याफ्टिङ गर्ने व्यवसायीहरूको भनाइ छ । जल पारखीहरूलाई पथप्रदर्शन गर्ने रिभर गाइडहरू भने उपलब्ध छैनन् । त्रिशुली र भोटेकोशीका गाइडहरूलाई पूर्व क्षेत्रमा ल्याइने गरेको छ, अहिले।
व्यवसायी बस्नेतका अनुसार अहिले सिजनमा दैनिक पाँच वटा मात्र र्याफ्ट चलाउन सकिएको छ । ‘रिभर गाइड उपलब्ध हुने हो भने दैनिक सयभन्दा बढी र्याफ्ट चलाउन सकिन्छ,’ बस्नेत भन्छन्।
व्यवसायी ढकालका अनुसार सीमावर्ती भारतीय राज्यका जल पारखीहरूलाई तान्न सके ठूलो उपलब्धि हासिल हुन सक्छ । ‘भारतको टिस्टा नदीका विभिन्न ठाउँमा बाँध निर्माण भएकाले र्याफ्टिङ असहज बन्दै गएको छ,’ उनी भन्छन्, ‘टिस्टाका पारखीलाई यता आकर्षित् गर्न सकिने प्रचुर सम्भावना छ।’

प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४