काठमाडौं- सरकारले सोमबार १० जना सचिवहरुको सरुवा गरेको छ। सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद बैठकले सचिवहरुको जिम्मेवारी हेरफेर र सरुवा गरेको हो।
निर्वाचन आयोगका सचिव सुरेश अधिकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सरुवा गरेको छ। निर्वाचन आयोगमा भने प्राकृतिक स्रोत तथा वित्त आयोगका सचिव गोकर्णमणि दवाडीलाई सरुवा गरिएको छ। त्यस्तै वित्त आयोगमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव भरतमणि सुवेदी पठाइएका छन्।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव एकनारायण अर्याल श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा भएका छन् भने श्रम मन्त्रालयका सचिव सूर्यप्रसाद गौतम प्रधानमन्त्री कार्यालयमा सरुवा भएका छन्।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादव कोइराला शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सरुवा भएका छन् भने उनको ठाउँमा प्रधानमन्त्री कार्यालयका सचिव महेश्वर न्यौपाने पठाइएका छन्। त्यस्तै शिक्षा मन्त्रालयका सचिव रामप्रसाद थपलिया प्रधानमन्त्री कार्यालयमा सरुवा भएका छन्।
सहरी विकास मन्त्रालयका सचिव डा. रमेश सिंह सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा सरुवा भएका छन् भने जल तथा ऊर्जा आयोगका सचिव मणिराम गेलाल सहरी विकासमा सरुवा भएका छन्।