काठमाडौं– स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले स्वास्थ्य समूहका दशौँ तथा एघारौँ तहका कर्मचारीहरुको जिम्मेवारी हेरफेर गरेका छन्। आइतबार मन्त्रीस्तरीय निर्णय गर्दै उनले जिम्मेवारी हेरफेर गरेका हुन्।
स्वास्थ्य मन्त्रालय प्रशासन शाखाकी सहसचिव शैलजा रेग्मीका अनुसार सरुवा गरिएका कतिपय कर्मचारीले सरुवापत्र बुझिसकेका छन् भने भने कतिपय सरुवापत्र बुझ्न आउँदैछन्। शुक्रराज ट्रपिकल तथा सरुवारोग विशेषज्ञ डा. अनुप बास्तोलको सरुवाका क्रममा केहि विरोध भएको थियो। उनको सरुवा सार्क क्षयरोग केन्द्रमा गरिएको छ।
गत असार १४ गतेमात्रै अस्पतालको निर्देशक भएका डा. बास्तोलले ५ महिनाको अवधिमा अस्पतालको संरचनादेखि व्यवस्थापनमा सुधार गरेका थिए। कोरोनाको महामारीमा शुक्रराज अस्पतालमा बिरामीको उपचारमा अब्बल मानिएका डा. बास्तोलाको सरुवाको विषयमा मन्त्रालयका कर्मचारीहरु पनि त्यति सन्तुष्ट छैनन्। तर स्वास्थ्यमन्त्री खतिवडाले भने कर्मचारी सरुवा नियमित प्रक्रिया भएको भन्दै एउटा कर्मचारीको बारेमा धेरै चासो दिनु उपयुक्त नहुने टिप्पणी गरेका छन्। डा. बास्तोलाको ठाउँमा डा. मनीषा रावललाई जिम्मेवारी दिइएको छ।
स्वास्थ्य मन्त्रालय समन्वय महाशाखाको प्रमुखमा प्रसूति गृह अस्पतालमा निर्देशक रहेकी डा. संगीता मिश्रलाई ल्याइएको छ। यसअघि त्यहाँ प्रमुख रहेकी डा. रीता जोशीलाई मन्त्रालयमै हाजिर हुने गरी राखिएको छ। प्रसूति गृहमा भने डा. अमिरबाबु श्रेष्ठलाई निमित्त निर्देशकको जिम्मेवारी दिइएको छ। यस्तै सार्क क्षयरोग केन्द्रमा निर्देशक रहेका डा. तारानाथ पोखरेललाई सरुवा गरी स्वास्थ्य मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखाको प्रमुख बनाइएको छ।
उनको ठाउँ अर्थात् सार्क क्षयरोग केन्द्रमा टेकु अस्पतालमा निर्देशक रहेका बास्तोलालाई पठाइएको छ। त्यस्तै लामो समयदेखि जिम्मेवारीविहीन बनेका डा. अनुज भट्टचनलाई एक तह बढुवा गर्दै गण्डकी प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिव बनाएर पठाइएको छ। काजमा गण्डकी प्रदेशको स्वास्थ्य सचिव बनाइएका विनोदविन्दु शर्मालाई काज फिर्ता गरी प्रदेश तालिम केन्द्रमै फर्काइएको छ।
यता स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तर्गतको पोषण शाखा प्रमुख पनि परिवर्तन भएको छ। पोषण शाखाको प्रमुख रहेका केदारराज पराजुलीलाई इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा पठाइएको छ।