काठमाडौं- सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत सोमबार दुई खेल हुँदैछन्। जसमध्येको दोस्रो खेलमा साविक विजेता मच्छिन्द्र र साविक उपविजेता त्रिभुवन आर्मी क्लब भिड्दैछन्। पछिल्लो सिजनको अन्तिम तथा निर्णायक खेलमा प्रतिस्पर्धा गरेका यी दुई टिम आज पनि जितको लक्ष्यका साथ मैदान छिर्नेछन्।
विगतमा पनि उनीहरु बीचको त्यो खेल दशरथ रंगशालामा निकै रोमाञ्चक बनेको थियो। लिग अवधिभर दर्शकको खडेरी रहेका अवस्थामा उक्त खेलमा तीन हजार समर्थक दरशथ रंगशालामा ओइरिएका थिए। उक्त खेलमा आत्मघाति गोलको सहयोगमा मच्छिन्द्र क्लबले उपाधि जितेको थियो।
मच्छिन्द्र्र क्लबका प्रवेश कटुवालले पछिल्लो लिगको अन्तिम खेलमा टिमलाई जित दिलाउन आफ्नो टिमले एक गोल गरेपछि नै डिफेन्सिभ खेलाएर सो अग्रता रक्षा गर्दै उपाधि जितेका थिए।
उपाधिका लागि त्यो जित निकै महत्वपूर्ण थियो। तर यो संस्करणमा भने दुई उपाधि विजेता दोस्रो चरणमै भिड्दैछन्।
‘पछिल्लो सिजनमा हाम्रो अन्तिम खेल थियो। त्यो जितेर उपाधि जित्यौं। यो वर्ष आर्मीको टिम उपाधि दबेदार हो। त्यस हिसाबले निकै महत्वपूर्ण खेल छ। सुरुमै बिग टिमसँग पर्दा चाहिँ गाह्रो हुन्छ,’ मच्छिन्द्रका प्रशिक्षक कटुवालले खेलअघि बताएका छन्, ‘तर हामीले सुरुमै जित्यौं भने उपाधिका लागि सहज हुन्छ। हामीले सबै टिमलाई रेस्पेक्ट गरेर हेर्नुपर्छ। अझ आर्मीको सेट टिम छ।’
त्यसैले प्रशिक्षक कटुवाललाई लाग्छ आजको खेल निकै पेचिलो हुनेछ। तर, टिमसँग स्टार खेलाडी हुँदा नियन्त्रणका लागि गाह्रो पर्ला कि भन्ने प्रश्नमा उनले भने, ‘पछिल्लो सिजन पनि यस्तै टिम थियो, खेलाडीमा नियन्त्रण नै भएर लिग जितिएको हो। यो वर्ष पनि त्यही नै छ। जो राम्रो छ उसैले खेल्छ। खेलाडीले गुनासो गर्न मिल्दैन। टिम जित्न राम्रा स्क्वाड हुनुपर्छ।’
टिम राम्रो भए पनि विभागीय क्लबको तुलनामा आफ्नो अभ्यास कम भएको प्रशिक्षक कटुवाल स्वीकार्छन्। उनले भने, ‘अभ्यासको सयम छोटो रह्यो। अभिषेक रिजाल र मनिष डाँगी यु–२३ खेलेर तिहारपछि मात्रै आए।’
लिगको पहिलो खेलमा मच्छिन्द्र्रले न्युरोड टिम एनआरटीलाई एक १–० गोलले हराएको थियो। यति धेरै फरवार्ड भएर पनि धेरै गोल नभएको प्रश्नमा उनले पहिलो खेल भएर टिम सेट नभएको बताए। ‘त्यो पहिलो खेल भएर पनि हो। यद्यपी पहिलो खेलबाट म निकै खुसी छु। डिफेन्डर अघि बढ्न सकेको थिएनन्। तर अब तेस्तो गाह्रो हुँदैन,’ उनले आसन्न खेलको सम्भावना बताए।
यता, नेपालका उत्कृष्ट फरवार्ड विमल घर्तीमगर कतारमा घुँडाको शल्यक्रिया गरेर फर्किएका छन्। ‘घुँडाको शल्यक्रियापछि विमललाई पूर्ण रुपमा खेल्न आत्मविश्वास आएको छैन। मनिष डाँगीको पनि इन्ज्युरीको समस्या छ। ग्रोइन पेन छ उसको,’ कटुवालले भने।
यता आर्मी पनि आजकै खेलमा जित निकाल्दै लिगमा पछिल्लो बराबरीमा मलम लगाउन चाहन्छ। यदी आजको खेलमा आर्मीले जित निकाल्न नसके उसको लिग सुरुवात राम्रो हुनेछैन। किनेभने ऊ पहिलो खेलमा नै पुलिस क्लसँग बराबरीमा रोकिएको छ।
त्यसैले अंक तालिकामा सुरुबाटै माथि रहन उसलाई आजको जित अत्यावश्यक छ। तर स्वास्थ्यमा समस्या आएपछि मुख्य प्रशिक्षक नविन न्यौपाने खेलस्थल आउन पाएका थिएनन्। ‘मुख्य प्रशिक्षक अर्को खेलबाट आउनु होला,’ सहायक प्रशिक्षक राजु तामाङले पहिलो खेलपछि भनेका थिए। यद्यपि आजको खेलमा दुवै प्रशिक्षकलाई बलियो रणनीतिको आवश्यकता छ। आर्मीलाई त पछिल्लो खेलमा बेहोरेको हारको बदला लिनुपर्नेछ।
मच्छिन्द्र्रलाई त आफू बलियो देखाउनु पर्ने छँदैछ। त्यसैले आज पौने ५ बजे दशरथ रंगशालामा सुरु हुने खेल निकै रोमाञ्चक हुनेछ।
त्यस्तै, आजै हुने अर्को खेलमा एनरआटीले ब्रिगेड बोइज क्लबको सामना गर्नेछ। यो खेल दिउँसो १ बजे सुरु हुनेछ। यदि पहिलो खेल हेरिसकेर रंथशालाबाट बाहिर ननिस्कने हो भने दोस्रो खेल हेर्नका लागि छुट्टै टिकट खरिद गर्नु नपर्ने एन्फाले जनाएको छ।