काठमाडौं- नेकपा एमालेको १० औं महाधिवेशनबाट सर्वसम्मति नेतृत्व चयनको प्रयासमा लागेका केपी शर्मा ओलीले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका भीम रावललाई बाइपास गरेरै भए पनि अघि बढ्ने तयारी गरेका छन्।
एमालेको १० औं महाधिवेशनको दोस्रो दिनको बन्द सत्र केहीबेरमा सुरु हुने बताइएको छ। एमाले नेता गोकुल बाँस्कोटाले बन्द सत्र आइतबार राति खाना खाएपछि सुरु हुने बताएका छन्।
उनका अनुसार अहिले अध्यक्ष ओलीले पार्क सफारी रिसोर्टमा बसेर नयाँ पदाधिकारी र केन्द्रीय सदस्यहरुको सूचीलाई अन्तिम रुप दिइरहेका छन्। उक्त सूचीलाई बन्द सत्रको हलमा नाम उच्चारण गरिने र सबै महाधिवेशन प्रतिनिधिले ताली पड्काएर त्यसलाई अनुमोदन गर्ने गरी तयारी थालिएको छ।
अध्यक्षमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका भीम रावल सहमतिमा नआएको अवस्थामा उनलाई बाइपास गर्ने र प्रक्रिया अघि बढाउने गरी तयारी भइरहेको नेता शेरबहादुर तामाङले जानकारी दिएका छन्। उनले भने, 'दोस्रो दिनको बन्दसत्रको सुरुवात निर्वाचन मण्डलले अघि बढाउनेछ। भीम रावलजी सहमतिमा आए ठीकै छ, नत्र ध्वनि मतका आधारमा ताली पड्काएर नयाँ नेतृत्व घोषणा हुन्छ।'
उनले थपे, 'संसदमा त ठूला निर्णय ध्वनि मतको आधारमा भएका छन्। यो पनि एउटा निर्वाचन प्रणाली हो, यस्तो अभ्यास गर्नु लोकतान्त्रिक प्रक्रियाकै अंश हो।'