शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • भीम रावलले भने - ओलीले धाँधली गरे, प्रतिस्पर्धाको राजनीतिलाई निषेध गरियो

भीम रावलले भने - ओलीले धाँधली गरे, प्रतिस्पर्धाको राजनीतिलाई निषेध गरियो

ओलीविरुद्ध अध्यक्षमा उम्मेदवारी दिने तयारी गरेका रावलका लागि भोट माग्‍ने कार्यकर्तामाथि पनि आइतबार बिहान दुर्व्यवहार गर्दे बन्द सत्र स्थलबाट बाहिर निकालिएको थियो।
 |  आइतबार, मंसिर १२, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १२, २०७८

काठमाडौं-  नेकपा एमालेको अध्यक्ष पदका दाबेदार भीम रावलले पार्टी अध्यक्ष केपी शर्मा ओलीले धाँधली गरेको आरोप लगाएका छन्। पार्टीको दसौँ महाधिवेशनअन्तर्गत दोस्रो दिनको बन्द सत्र रोकेर अन्यत्रै बसेर सर्वसम्मतिका लागि दबाब सिर्जना गरेपछि रावल आक्रोशित भएका हुन्। 

शुक्रबार महाधिवेशन उद्घाटन गरेर आइतबार सक्ने योजना भए पनि महाधिवेशनमा ओलीले जबरजस्ती सर्वसम्मतको प्रयास गरिरहेको भन्दै रावलले आक्रोश व्यक्त गरे। उनले भने, 'अन्तै बसेर पार्टी विधि, पद्धति र निर्णयविपरीत गएर निर्णय गर्ने काम भएको छ। यसले निर्वाचनको प्रक्रियामा धाँधली गर्नुका साथै प्रतिस्पर्धाको राजनीतिलाई निषेग गर्ने काम भयो।'

ओलीविरुद्ध अध्यक्षमा उम्मेदवारी दिने तयारी गरेका रावलका लागि भोट माग्‍ने कार्यकर्तामाथि पनि आइतबार बिहान दुर्व्यवहार गर्दे बन्द सत्र स्थलबाट बाहिर निकालिएको थियो। 

अध्यक्ष ‌ओलीले आफू सर्वसम्मत अध्यक्ष हुने योजना अनुसार सौराहाकै पार्क सफारी रिसोर्टमा नयाँ पदाधिकारी र केन्द्रीय सदस्यको सूची बनाइरहेका छन्। 

बन्द सत्रको दोस्रो दिन आइतबार हालसम्म पनि सुरु भएको छैन। सौराहाकै होटल सेभेन स्टारमा भइरहेको बन्दसत्र अब राति ७ बजे मात्रै सुरु हुने र ओलीले चयन गरेका पदाधिकारीहरुको नामावली पढेर सकिने गरी तयारी भइरहेको स्रोतले जनाएको छ। 

तर, रावल भने चुनावी मैदानमा प्रतिस्पर्धा गर्नका लागि ३२ पृष्ठको चुनावी बुकलेट नै बनाएर प्रचार गरिरहेका छन्। ओलीले रावलसँग सहमतिका लागि पनि कुनै छलफल गरेका छैनन्। 

बन्द सत्र हलभन्दा अन्तै बसेर नामावली तयार गरिरहेकोप्रति आक्रोशित रावलले भने, '११ गते उम्मेदवारीसम्बन्धी प्रक्रिया पूरा गरी १२ गते मतदान गर्ने पार्टी निर्णय विपरीत ११ र १२ गते दिनभर अधिवेशनको कुनै काम नगरी केही व्यक्तिले अन्यत्र बसेर विधि, पद्धति र निर्णय विपरीत गर्नु आपत्तिजनक र पार्टी हितविरूद्ध छ। ओलीको यो कदमले जनताको बहुदलीय जनवाद अन्तर्गत प्रतिस्पर्धाको राजनीतिमाथि आघात पुगेको छ र प्रतिस्पर्धालाई निषेध गरिएको छ।'

ओलीले अलोकतान्त्रिक बाटो अँगालेकोसमेत बताएका छन्। 'दिनभरी बैठक नगरेर प्रतिनिधिहरूलाई अलपत्र बनाउने र संस्थागत छलफल नगरी राति ७ बजे बैठक हुने सूचना जारी गर्नु अलोकतान्त्रिक कार्य मात्र होइन धाँधली पनि हो' रावलले भने।  उनले भने, 'यसले जनताको बहुदलीय जनवाद अन्तर्गत प्रतिस्पर्धाको राजनीतिमाथि आघात पुग्छ।'




प्रकाशित: Nov 28, 2021| 18:25 आइतबार, मंसिर १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...