चितवन– एमाले अध्यक्ष केपी शर्मा ओली पक्षीय नेताहरूले नेतृत्व चयनका लागि ९० प्रतिशत सहमति भइसकेको दाबी गरेका छन्। उनीहरूले भीम रावलका पक्षमा भने सहमति जुट्न बाँकी रहेको बताए। एमालेको नेतृत्व छनोटका लागि सबै अधिकार पाएका ओली बिहानैदेखि आकांक्षीसहित आफू निकटका नेताहरुसँग छलफल जारी राखेका छन्।
सोही कारण १० बजेका लागि डाकिएको बन्दसत्र साढे ४ बजेसम्म पनि सुरु हुन सकेको छैन। ओलीले नेताहरुसँग छलफल सकेपछि बन्दसत्र सुरु हुने नेताहरुले बताएका छन्। नेता पृथ्वीसुब्बा गुरुङले ९० प्रतिशत सहमति भइसकेको बताए।
उनले भने, ‘नेतृत्वको टुंगो आजै बन्दसत्रबाट लगाइनेछ।’ उनले अध्यक्षमा उम्मेदवारको घोषणा गरेका भीम रावलका विषयमा भने सहमति जुट्न बाँकी रहेको बताए। गुरुङले भने, ‘रावलजीबारे भने सहमति जुटाउन प्रयास जारी छ। त्यसपछि शतप्रतिशत पुग्छ।’