काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीका सभापति शेरबहादुर देउवाकै गृह जिल्लामा सिंगो जिल्ला समितिलाई बाहिर राखेर अधिवेशनको नाटक गरिएको बताएका छन्।
कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिका पदका उम्मेदवारसमेत रहेका नेता पौडेलले आइतबार बत्तिसपुतलीस्थित एक होटलमा पत्रकार सम्मेलन गर्दै भने, 'स्वयं सभापतिजीको जिल्लाका पार्टी सभापतिसहित सिंगो जिल्ला समितिबाहिर राखेर वडा अधिवेशनको नाटक मञ्चन भएको छ। पार्टी प्रवेशका नाममा अन्धाधुन्ध आफ्ना नातागोता भरेर निष्ठावान कार्यकर्ताहरूलाई पाखा लगाइएको छ। नीतिनियम र विधानविपरीत हजारौं चिठी काटिएका छन्।'
कांग्रेसको अबको बाटो कस्तो हुने भन्ने सन्दर्भमा रुपान्तरणका लागि १० सुत्र प्रस्तुत गर्दै पौडेलले महाधिवेशन सम्पन्न भएको ६ महिनामा पूर्णता दिनुपर्ने विभागहरूलाई विधान नाघेर गठन गरिएको उल्लेख गर्दै जनीतिक दल र नेताको तानाशाहीबाट मुक्त लोकतन्त्र आफ्नो परिकल्पना भएको बताएका छन्।
नेता पौडेलले २० पृष्ठ लामो एक प्रतिवेदन प्रस्तुत गर्दै महाधिवेशनमार्फत् पार्टीले अवलम्बन गरेका सिद्धान्त, त्यस सिद्धान्तअनुरूप नीति तथा नेतृत्व र नीतिअनुरूपका कार्यक्रम निर्माण र कार्यान्वयन गर्ने सुनिश्चितता दिन सक्यौं की सकेनौ भन्ने कुरा आजको यक्ष प्रश्न भएको बताएका छन्। उनले लेखेका छन्, 'कानुनी औपचारिकताको निमित्त गरिने महाधिवेशनले पार्टीको ऐतिहासिक जिम्मेवारी पूरा गर्ने प्रणालीको विकास गर्न सक्दैन। त्यसैले महाधिवेशनको सन्दर्भमा लोकतन्त्रप्रति आस्थावान नेपाली कांग्रेसका कार्यकर्ताहरूले नेपाली कांग्रेसको सिद्धान्त के हो, यी सिद्धान्तहरूलाई लागू गर्न कस्तो नेतृत्व चाहिन्छ, विगतका नेतृत्वमा के कस्ता कमजोरी र सबल पक्षहरू रहे भन्नेमा विवेचना गर्नु आवश्यक छ।'
पार्टीभित्रको आन्तरिक लोकतन्त्रको प्रश्न बारबार कांग्रेसमाथि उठिरहेको उल्लेख गर्दै उनले नेता बलिया, पार्टी कमजोर हुने गरेकोसमेत बताएका छन्। उनले थपेका छन्, 'कमजोर पार्टीको बलियो नेता लोकतन्त्रका लागि हितकर मानिँदैन। कुनै पनि लोकतान्त्रिक दलमा नेता होइन नीति अपरिहार्य हुनु पर्दछ। विधि, पद्दति र नियम अपरिहार्य हुनु पर्दछ। यसो भएमात्रै पार्टीमा आन्तरिक लोकतन्त्र सुनिश्चित हुन्छ। नेताको अनुकूलमा विधि-पद्दति चल्ने हैन, विधि-पद्दति अनुकूल नेता चल्नु पर्दछ। चाहे पार्टी सञ्चालन होस् या राज्य, व्यक्ति होइन, विचार र विधिप्रधान हुनुपर्छ। हामी लोकतन्त्रको संस्थागत विकास गर्नेक्रममा छौं। यस्ता कुरातर्फ गम्भीर नहुने हो र आफ्ना सुविधा अनुकूल विधि-पद्दति सञ्चालन गर्ने हो भने यहाँ लोकतान्त्रिक व्यवस्थाको निर्माण हुनै सक्दैन।