शुक्रबार, भदौ ५, २०८३

एमालेमा जनवाद सकियो, ओलीको डनवाद शुरु भयो : गगन थापा

नारायणी किनारमा अहिले कोही पनि स्वतन्त्र हुन नसकेको बताउँदै प्रतिस्पर्धाबाट एक्लिएका भीम रावललाई प्रहरीले सुरक्षा दिइरहेको थापाले उल्लेख गरे।
 |  आइतबार, मंसिर १२, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १२, २०७८

काठमाडौं- नेपाली कांग्रेसका नेता गगनकुमार थापाले नेकपा एमालेमा जनवाद सकिएको र केपी शर्मा ओलीको डनवाद सुरु भएको आरोप लगाएका छन्। आइतबार नेपाली काँग्रेस काठमाडौं जिल्ला कार्य समितिको जिल्ला अधिवेशन उद्घाटन समारोहमा बोल्दै नेता थापाले यस्तो बताएका हुन्। 

चितवनमा भइरहको नेकपा एमालेको महाधिवेशनमा बन्दसत्र नभई ओली-सेसन चलिरहेकोसमेत उनको भनाइ छ।  'विधिवत रुपमा नेपाल कम्युनिस्ट पार्टी एमालेबाट हिजोदेखि जनवाद सकियो, त्यहाँ अब केपी ओलीको डनवाद मात्रै बाँकी छ,' नेता थापाले भने। नारायणी किनारमा अहिले कोही पनि स्वतन्त्र हुन नसकेको बताउँदै प्रतिस्पर्धाबाट एक्लिएका भीम रावललाई प्रहरीले सुरक्षा दिइरहेको थापाले उल्लेख गरे।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकालमा गरेका काम हेर्दा आफूलाई कम्बोडियाका प्रधानमन्त्री हुन सेन जस्तो लागेको भन्दै ओलीको आदर्शपुरुष हुन सेन रहेको आरोप लगाएका थिए। हुन सेनका विरुद्धमा लेख्ने र बोल्नेले आफ्नो काम छोडेर बिदा हुनुपरेको स्मरण गर्दै नेता थापाले ओलीको विपक्षमा खडा हुने व्यक्ति मञ्चबाट नै भीम रावल जसरी लेखिटिने बताए। 

 ‘बन्द सत्र कस्तो भइरहेको रहेछ भनेर जान्न चासो लाग्यो। त्यो पनि बन्द सत्र होइन, एक प्रकारले ओली शेसन नै चलिरहेको थियो। मैले बिहान जे भनेको थिएँ, कि नारायणीको किनारमा त्यहाँ कोही पनि मानिस स्वतन्त्र भएका छैनन्,' थापाले भने। 

उनले एमाले महाधिवेशनमा ओलीलाई कसले बढी रिझाउन सक्ने भनेर प्रतिष्पर्धा चलिरहेको आरोप लगाए। 'त्यो प्रतिष्पर्धामा भाग लिन्न भनेर एक जना उठेछन्, भीम रावल। भीम रावलले झन्डै भकुराइ खाएर, झन्डै पिटाइ खाएर अहिले हाम्रो प्रहरीले भीम रावल बसेको होटललाई सुरक्षा दिइरहेको अवस्था छ,' उनले थपे, 'तत्कालीन प्रधानमन्त्री केपी ओलीको आदर्श पुरुष कम्बोडियाका प्रधानमन्त्री हुन सेन हो। हुन सेन गएको २० औँ वर्षदेखि कम्बोडियाको प्रधानमन्त्री हुनुहुन्छ। कम्बोडियामा प्रजातन्त्र छ, प्रेस पनि छ, अदालत, अख्तियार सबै छ, चुनाव पनि हुन्छ । २५ वटा कम्बोडियाको पार्टीले चुनावमा भाग लियो। चुनावमा भाग लिनु भन्दा केही समयअघि मात्रै प्रधानमन्त्रीले प्रमुख प्रतिपक्षि दलका नेतालाई राजद्रोहको मुद्दा लगाइदिए। त्यो पार्टीले अर्को नेता चुन्यो, उसलाई जेल हालियो। तै पनि पार्टीले चुनावमा भाग लिन्छु भन्दा पार्टीलाई प्रतिबन्ध लगाइयो। १२५ निर्वाचन क्षेत्रमा २५ पार्टीले भाग लिँदा हुनसेनको पार्टीले १२५ सिटमा नै जित निकाल्यो। कम्बोडियामा प्रेस छ, तर हुनसेनको खिलाफमा लेख्ने प्रेस भीम रावललाई लखेटिएको जस्तै लखेटिन्छ। उसको बिरुद्ध फैसला गर्ने न्यायाधीशले त्यही दिनबाट अदालत छोडेर जानुपर्छ।’

नेता थापाले चितवन महाधिवेशनपछि नेतृत्वमा आएको नेकपा एमालेलाई कांग्रेसले तह लगाउने बताएका थिए। उनले १० औँ महाधिवेशनपछि नेतृत्वमा आउने एमालेले जनवाद गुमाएर देशको प्रजातन्त्र सक्ने बाटोमा अघि बढेर आउने आरोप लगाए। नेता थापाले एमाले अहिले बरालिएको भन्दै बरालिएको एमालेलाई सही ठाउँमा ल्याएर प्रतिस्पर्धा गर्ने ल्याकत कांग्रेसले राख्नुपर्ने बताएका थिए। 

‘हामीले के कुरा बुझ्नु पर्छ भने नेकपा एमालेले राष्ट्रिय राजनीतिमा लिने पोजिशन, उसले लिने राजनीतिक कार्यदिशाले नेपाली काँग्रेससँग धेरै ठूलो महत्व राख्छ। चितवन महाधिवेशनपछि आएको नेकपा एमालेले आफ्नो भित्रको जनवादलाई सकाएको मात्रै होइन, देशको प्रजातन्त्रलाई सक्ने बाटोमा यो अघि बढेर आउँछ। त्यो शक्तिको रुपमा आउँछ। अब नेकपा एमालेसँग केही समय हामीले जुद्दै गर्दा हिजो माओवादीलाई हतियारबाट बाहिर निकालेर संसदीय राजनीतिमा ल्याएको जस्तै एमाले बरालियो, बरालिएको एमालेलाई ठेगानमा ल्याउने काम नेपाली काँग्रेसले गर्न सक्नुपर्छ। नचाहिने कुरा गरेमा हप्काउने तागत काँग्रेसले राख्नुपर्छ। एमाले हाम्रो शत्रु होइन तर बरालिएको एमालेलाई ठीक ठाउँमा ल्याएर प्रतिष्पर्धा गर्ने काम काँग्रेसको हो। यो तागत नेपाली काँग्रेसले अबको अधिवेशनबाट ल्याउनु पर्छ।’


प्रकाशित: Nov 28, 2021| 15:02 आइतबार, मंसिर १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...