काठमाडौं– एमालेको नयाँ नेतृत्वका लागि तजबिजी अधिकार पाएका केपी शर्मा ओलीले नेताहरुसँगको भेटघाट तीव्र पारेका छन्। विशेष गरी पदाधिकारीमा आकांक्षी नेताहरुलाई भेटेर उनले मनाउने प्रयास गरिरहेका छन्। ओलीलाई विगतदेखि नै साथ दिँदै आएका नेताहरुमध्ये धेरैले एउटै पदमा आकांक्षा देखाएपछि उनलाई सबैलाई समेटेर लैजान कठिन भएको छ। आकांक्षी धेरै हुने बुझेर नै विधान संशोधन गरी पदाधिकारी संख्या १९ बनाउँदा पनि ओलीलाई सकस परेको हो।
उनले यस क्रममा अध्यक्षको उम्मेदवारी घोषणा गरेका नेता भीम रावलसँग भेट गर्न लागेको बुझिएको छ। विभिन्न पदमा उम्मेदवारी दिने आकांक्षीहरुसँग ओली शनिबार साँझदेखि नै भेटवार्तामा व्यस्त छन्। उनले शनिबार साँझ सुवास नेम्बाङसँग भएको भेटमा उपाध्यक्ष बन्न प्रस्ताव गरेका थिए। तर नेम्बाङले भने आफू निकटसँग वरिष्ठ उपाध्यक्षको दाबी गरिरहेका छन्।
आइतबार बिहान १० बुँदे पक्षधर दुई नेताले ओलीसँग भेट गरेका छन्। नेताद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले ओली बसेको सफारी रिसोर्टमा गएर उनलाई भेटेका थिए। उनीहरूले नेतृत्व छनोट गर्ने विषय चाँडो टुंग्याउन सुझाव दिएका थिए।भीम रावललाई समेत मिलाएर सहमतिमै नेतृत्व चयन गर्न उनीहरुले ओलीलाई आग्रह गरेको स्रोतले बतायो। जवाफमा ओलीले आफू सबैलाई मिलाएर लैजान तयार रहेको बताएका थिए। ओलीले सुरेन्द्र पाण्डे र गोकर्ण विष्टलाई पनि डाकेर छलफल गरेका छन्।
ओली समूहभित्र शीर्ष नेताहरूबीच वरिष्ठ उपाध्यक्ष, महासचिव लगायत पदमा आकांक्षा धेरै हुँदा कुरा नमिलेपछि बन्दसत्र सुरु हुन सकेको छैन ।
पूर्वमाओवादीका तर्फबाट दुई जना पदाधिकारी र दुई नेतालाई स्थायी कमिटीमा राख्न ओली तयार रहेको बताइएको छ। ओलीले रामबहादुर थापा ‘बादल’ लाई उपाध्यक्ष र टोपबहादुर रायमाझीलाई सचिव दिने मनसाय बनाएको बुझिएको छ। यस्तै पूर्व माओवादीलाई ४० जना केन्द्रीय सदस्य दिन ओली तयार भएका छन्।
अध्यक्ष ओलीले सुदूरपश्चिम र प्रदेश २ का नेताहरुसँग फनि छलफल गरेका थिए। नेताहरुसँगको भेटमा ओलीले भौगोलिक, जातीय एवम् लैंगिक रुपमा पदाधिकारीमा धेरै जना समटिने भएकाले सबैलाई समेट्न सक्दो प्रयास गर्ने बताएका थिए।
त्यसअघि अध्यक्ष ओली र महासचिव ईश्वर पोखरेलबीच छलफल भएको थियो। दुई नेताबीच नेतृत्व चयन कसरी सर्वसम्मत बनाउने भन्ने विषयमा कुराकानी भएको थियो। ओली निकट नेताहरूले पनि ओलीसँग आइतबार बिहानै छलफल गरिसकेका थिए। विष्णु पौडेल, सुवास नेम्बाङ, शंकर पोखरेल लगायतले ओलीसँग भेटेर आफ्नो अडान राख्दै आएका छन्। यी सबै नेता पदाधिकारीका लागि आकांक्षी छन्।
एमालेको जारी महाधिवेशनमा सर्वसम्मत रुपमा नेतृत्व चयनको प्रयास गरिरहँदा नेता रावलले अध्यक्षको उम्मेदवारी दिने अडान राख्दै आएका छन्। ओलीले नेताहरूसँग भेटेर सहमतिको प्रयास गरिरहँदा रावल पक्षीय कार्यकर्ताहरूले भने प्रतिनिधिलाई पर्चा बाँडेका थिए। यद्पि उनीहरूलाई बन्दसत्र बाहिर निकालिएको थियो। नेता रावलले शनिबारदेखि अध्यक्ष पदका लागि आफ्नो पक्षमा भोट माग्दै आएका छन्। ओलीलाई भेटेर आफ्नो धारणा राख्ने क्रम अझै जारी छ। अझै बन्दसत्र कतिबेला सुरु हुन्छ भन्ने टुंगो लाग्न सकेको छैन।
ओली समूहभित्र शीर्ष नेताहरूबीच वरिष्ठ उपाध्यक्ष, महासचिव लगायत पदमा आकांक्षा धेरै हुँदा कुरा नमिलेपछि बन्दसत्र सुरु हुन सकेको छैन ।
ओलीसँग एमाले नेता घनश्याम भुसालको पनि असन्तुष्टि रहेको छ। उनले दलाल पुँजीवादको विरुद्ध राष्ट्रिय पुँजीको विकास गर्दै समाजवादको तयारी गर्ने ठोस कार्यक्रम बनाउन भन्दै अपिल समेत गरिसकेका छन्। उनले पार्टीको सिद्धान्त र कार्यदिशा सही भए पनि कार्यान्वयन गर्ने संगठनात्मक व्यवस्थामा असंगति रहेको बताएका छन्।