चितवन- नेकपा एमालेका नेता रामबहादुर थापा 'बादल'सहित पूर्वमाओवादीबाट आएका नेताहरूलाई मिलाएर लैजान केपी शर्मा ओली तयार भएका छन्। तीन जना पदाधिकारीमा दाबी गर्दै आएको पूर्वमाओवादी खेमालाई दुई जना पदाधिकारी दिन ओली तयार भएका हुन्।
पूर्वमाओवादी खेमालाई एक जना सचिव र एक जना उपाध्यक्ष दिन ओली सहमत भएको भेटमा सहभागी एक नेताको दाबी छ। यसरी सहमति भएको अवस्थामा बादल पार्टीको उपाध्यक्ष बन्ने तयारीमा छन् भने टोपबहादुर रायमाझी र लेखराज भट्टले सचिवमा दाबी गरिरहेका छन्। यसका साथै स्थायी कमिटीमा समेत दुई जना सदस्य दिने सहमति भएको बताइएको छ।
यसका साथै ४० जना केन्द्रीय सदस्य पनि पूर्व माओवादी खेमाले पाउने भएको छ। आइतबार बन्दसत्र सुरु हुनअघि ओलीसहितका नेताहरू सहमतिमा नेतृत्व चयन गर्न छलफलमा जुटिरहेका छन्।