बुटवल- जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले एमाले अग्रगमनको बाधक शक्तिका रूपमा आएको आरोप लगाएका छन्।
जनता समाजवादी पार्टी रुपन्देहीले आइतबार बुटवलमा आयोजित पत्रकार भेटघाटमा बोल्दै अध्यक्ष भट्टराईले प्रतिनिधि सभा विघटनदेखि महाधिवेशनसम्म आइपुग्दा एमाले प्रतिगमनको नेतृत्व गर्ने दलको रूपमा उदय भएको बताए।
राजनीतिक जटिलतातर्फ धकेलेर एमाले अध्यक्ष ओलीले प्रतिगमनको नेतृत्व गरिरहेको र चितवनमा जारी एमाले महाधिवेशनले त्यसलाई थप पुष्टि गरेको बताए। उनले दरबारिया बाह्य शक्तिहरूको नेतृत्व ओलीले गरेको टिप्पणी समेत गरे।
उनले पुराना राजनीतिक शक्तिले जनतामा वैचारिक भ्रम छर्ने काम गरेको र लोकतान्त्रिक मूल्य मान्यताहरू स्खलित हुँदै गएको बताए।
‘मुलुकमा सामान्य लोकतान्त्रिक मूल्य मान्यता स्खलित हुँदै छन्, सत्ता स्वार्थलाई केन्द्रमा राखेर राजनीति गर्ने काम भयो, यसरी देशले निकास पाउँदैन, अदालतमा देखिएको संकट यसैको उदाहरण हो,' अध्यक्ष भट्टराईले भने, 'पुराना राजनीतिक शक्तिले आफ्ना डम्फु बजाउँदै हावाको बल्कोनीमा बसेका छन्, यी शक्तिबाट मुलुकले निकास पाउँदैन, अब मुलुकमा नयाँ विचारसहितको शक्तिको आवश्यकता छ।’
मुलुकमा आर्थिक, सामाजिक र सांस्कृतिक परिवर्तन परिवर्तन हुन नसक्दा जनतामा निराशा र अन्योल छाएको उल्लेख गर्दै उनले राजनीतिक शक्तिबीचमा नयाँ ढंगले एकता कायम गरी अगाडि बढ्नु नै उत्तम विकल्प हुने बताए।
अध्यक्ष भट्टराईले क्रान्तिबाट आएका नेताहरूले नै बाटो बिराउँदा देश गलत दिशामा अघि बढेको जनाउँदै एकता र सार्वभौमसत्ताको रक्षाका लागि नयाँ समाजवादको मोडल आवश्यक रहेकोमा जोड दिए।
पार्टीका वरिष्ठ नेता अशोक राईले जनताको जीवनस्तर परिवर्तनका लागि चार महिने संगठन सुदृढीकरण अभियान सञ्चालन गरेको बताए। जनवर्गीय संगठन विस्तार र विभिन्न धारबाट आएका समूहका अलग बुझाई चिर्न, र जनता जागरूक गर्न अभियान थालिएको उनको भनाइ छ।
मंसिर महिनासम्म सञ्चालन हुने अभियानमा जनताका माझमा आफ्ना बिचार प्रस्तुत गर्ने र जनताका विचार बुझ्ने काम भइरहेको नेता राईले बताए।