काठमाडौं– दुई वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको सिन्धुपाल्चोकको क्षेत्रीय सभापतिमा बालकृष्ण बस्नेत र आइतमान तामाङ निर्वाचित भएका छन्। शनिबार भएको क्षेत्रीय निर्वाचनको नतिजाअनुसार प्रतिनिधि सभा क्षेत्र नं. १ को सभापतिमा बस्नेत र २ को सभापतिमा तामाङको प्यानल निर्वाचित भएको हो।
दुवै जना पुरानै अनुहार हुन्। बस्नेत तेह्रौं अधिवेशनमा साविक क्षेत्र नं. १ को सभापतिमा निर्वाचित भएका थिए। तामाङ साविक क्षेत्र नं. ३ को सभापतिमा निर्वाचित थिए। देश संघीय संरचनामा गएपछि सिन्धुपाल्चोकमा दुईवटा मात्र निर्वाचन क्षेत्र छन्।
बस्नेतले तीर्थ लामालाई पराजित गरे भने तामाङले कृष्णबहादुर तामाङलाई पराजित गरेका थिए। बस्नेत प्यानलबाट सचिवमा कृष्णप्रसाद आचार्य र सञ्चवीर तामाङ, सहसचिवमा अजय तामाङ र सुजन पौडेल विजयी भएका छन्।
यस्तै सदस्यहरुमा निमा शेर्पा, रामशरण बस्नेत, नेत्रबहादुर सापकोटा, पदमलाल श्रेष्ठ, रामशरण भण्डारी, स्वस्थानी कार्की थापा, हीराबहादुर भण्डारी, देवदोर्जे तामाङ र मानकाजी गुरुङ निर्वाचित भएका छन्।
क्षेत्र नम्बर २ को सभापतिमा तामाङसहित सचिवमा केशव श्रेष्ठ र विष्णु घोरासैनी, सहसचिवमा प्रेमसिंह तामाङ र दीपकुमार तामाङ र सदस्यहरुमा सुशीला लामिछाने, बुद्धिबहादुर तामाङ, शम्भुप्रसाद कोइराला, साइला तामाङ र तामा माझी निर्वाचित भएका छन्।
सभापतिमा निर्वाचित बालकृष्ण बस्नेत पार्टी सभापति शेरबहादुर देउवा निकट र आइतमान तामाङ रामचन्द्र पौडेल निकट मानिन्छन्।