चितवन– अध्यक्षसहित पार्टी पदाधिकारी सर्वसम्मत गर्ने केपी ओलीको प्रयास जारी छ। केन्द्रीय कमिटीले पदाधिकारीसहित केन्द्रीय कमिटी पनि गठन गर्ने अधिकारी पाएका ओली अहिले नेताहरुसँग छलफलमा व्यस्त छन्।
सौराहास्थित पार्क सफारी होटलमा बसेका ओलीले नेताहरुसँग समूहगत र एक्काएक्लै पनि छलफल गरिरहेको बताइएको छ। केन्द्रीय सदस्यका लागि लबिङ गर्दै ओलीलाई भेट्न पुग्ने प्रतिनिधिको संख्या पनि बाक्लै छ। अहिलेसम्म अध्यक्ष ओलीले पदाधिकारीमै सहमति जुटाउन सकेका छैनन्। अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका उपाध्यक्ष भीम रावल पछि हटेका छैनन्।
ओलीले वरिष्ठ उपाध्यक्षमा ईश्वर पारेखलको नाम अघि सारेका छन् भने अर्का दावेदार सुवास नेम्वाङलाई उपाध्यक्षमा प्रस्ताव गरेका छन्। तर नेम्वाङले वरिष्ठ उपाध्यक्षमा दाबी छाडेका छैनन्। महासचिवमा शंकर पोखरेललाई प्रस्ताव गरेका अध्यक्ष ओलीले अर्का दावेदार विष्णु पौडेललाई उपाध्यक्षमा राखेका छन्।
वरिष्ठ उपाध्यक्ष र महासचिवका लागि सर्वसम्मतको प्रयास गरिरहेका ओलीले अध्यक्षका लागि भोट मागिरहेका भीम रावलसँग भने संवाद नै नगरेको बताएका छन्।