काठमाडौं– नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत जिल्ला तहको अधिवेशन अहिले भइरहेको छ। जबकि प्रदेश अधिवेशनका लागि अब ४ दिनमात्रै बाँकी छ।
जिल्ला अधिवेशन नसकिए प्रदेश महाधिवेशन हुने कि नहुने भनेर नेता कार्यकर्तामा अन्योल भइरहेका बेला केन्द्रीय निर्वाचन समितिले जिल्ला अधिवेशनका कारण प्रदेश अधिवेशन नरोकिने स्पष्ट पारेको छ।
शनिबार बसेको समितिको बैठकले तोकिएकै मितिमा प्रदेश अधिवेशन पूरा गर्ने गरी तयारी अघि बढाएको हो। समितिका सदस्य गोपालकृष्ण घिमिरेले जिल्ला अधिवेशन नसकिए पनि प्रदेश महाधिवेशन नरोकिने बताए । ‘हाम्रो प्राथमिकता जिल्ला अधिवेशन होइन। प्रदेश र केन्द्रीय महाधिवेशन हो। त्यसैले जिल्ला अधिवेशन नसकिए पनि प्रदेश अधिवेशन रोकिँदैन,’ उनले भने।
संवैधानिक व्यवस्थाका कारण कांग्रेस मंसिर मसान्तभित्र आफ्नो प्रदेश र केन्द्रीय कार्यसमितिका पदाधिकारीको चुनाव गरेर त्यसको विवरण निर्वाचन आयोगमा बुझाई सक्नुपर्छ। निर्वाचन समितिले मसान्तभित्रै पदाधिकारीको मतपरिणाम आइसक्ने गरी निर्वाचन कार्यक्रमको तयारी अघि बढाएको छ। ‘हामीसँग समय कम छ, त्यसैले अब त उपाय नै छैन। महाधिवेशन त गर्नैपर्ने अवस्था छ,’ घिमिरेले भने। उनले मंसिर २१ गते नै मनोनयन दर्ता भएर निर्वाचनको प्रक्रिया अघि बढाइने बताए।
कांग्रेसको केन्द्रीय महाधिवेशन मंसिर २४ देखि २६ गतेसम्म गर्ने कार्यतालिका छ। २४ गते उद्घाटन भएपछि २५ गते नै मतदान गर्ने गरी तयारी भइरहेको समितिले जनाएको छ। केन्द्रीय महाधिवेशनअघि १६ र १७ गते प्रदेश महाधिवेशन हुँदैछ। हालसम्म ३५ बढी जिल्लामा अधिवेशन भएको छ।