काठमाडौं– दुबईस्थित आईसीसीको क्रिकेट एकेडेमी मैदानमा आइतबार महिला टी २० विश्वकपअन्तर्गत एसियाली छनोटको अन्तिम चरणका खेल हुँदैछन्।
६ टीम सम्मिलित खेलमा खेलमा सबै टिमले आफ्नो पाँचौँ खेल खेल्न लागेका हुन्। छनोटमा २ अंक मात्र जोड्न सफल मलेसिया र भुटासँगै अंकविहीन कुवेत बाहिरिइसकेको छ।
त्यसैले शीर्षस्थानमा रहेर ग्लोबल छनोटमा पुग्ने अवसर नेपाल, यूएई र हङकङलाई छ। त्यो किन भने यूएईको ८ अंक छ भने नेपाल र हङकङको समान ६–६ अंक छ। र, आज नेपालले यूएईको सामना गर्नेछ।
यदि आजको खेलमा नेपालले जित निकाल्न सके नेपालको पनि समान ८ अंक हुनेछ। यद्यपि, यूएई नेट रन रेटमा नेपालभन्दा अघि छ। उसको २.३९८ छ भने नेपालको २.०८८ मात्र छ।
त्यसैले आजको खेलमा नेपालका लागि जित मात्र पर्याप्त छैन। यूएईलाई ठूलो अन्तरले हराएर उसको भन्दा धेरै नेट रन रेट बनाउनु पर्नेछ। त्यसो भयो भने नेपाल ग्लोबल छनोटमा पुग्नेछ।
नेपाले आज जित निकालेको अवस्थामा हङकङलाई पनि छनोटको शीर्षस्थानमा पर्नसक्ने अवसर हुनेछ। नेट रन रेटमा कमजोर अवस्थामा रहे पनि उसले आज छनोटकै सबैभन्दा कमजोर टिम कुवेतको सामना गर्नेछ। यदि उसले जित निकालेको अवस्थामा नेपाल र यूएईको नेट रन रेट हङकङको भन्दा थोरै भएमा उसले ग्लोबल छनोटमा स्थान बनाउने छ।
आजको खेलबाट नेपाल र हङकङलाई जित निकालेर ग्लोबल छनोटमा पुग्न निकै गाह्रो देखिन्छ। तर, यूएईले झिनो अन्तरमै पनि जित निकालेमा पनि एसियाली छनोटमा अपराजित रहँदै उसले ग्लोबल छनोटमा स्थान बनाउने छ।
एसियाली छनोट पार गर्ने एउटा मात्र टिमले ग्लोबल छनोट खेल्नेछ। ग्लोबल छनोट पनि पार गर्ने टिमले भने २०२३ मा दक्षिण अफ्रिकामा हुने आईसीसी टी २० विश्वकप खेल्न पाउनेछ। आजको अर्को खेलमा मलेसियाले भुटानसँग खेल्दैछ।