काठमाडौं- सहिद स्मारक ए डिभिज लिगको पहिलो खेलमा बेहोरेको हारबाट शनिबार बाहिर निस्कन चाहन्थे, च्यासल युथ क्लब र विभागीय टिम एपीएफ। तर दुबै टिमले गोलका धेरै अवसर सदुपयोग गर्न सकेनन्। यद्यपि दोस्रो हाफको सुरुवातमै गोल गर्दै च्यासल युथ क्लबले एपीएफविरुद्ध लिगमा पहिलो जित निकालेको हो।
विभागीय टिमविरुद्ध १–० गोलको जित सँगै च्यासल युथ क्लबले अंकतालिकामा ३ अंक जोडेको छ। पछिल्लो खेलमा ब्रिगेड बोइज क्लबसँग हारेको एपीएफको शून्य अंक छ। ‘हामीले सानो टिमसँगै हार्दा ६ अंक होइन १२ अंक गुमाएजस्तो लागेको छ,’ खेलपछि एपीएफका प्रशिक्षक कुमार थापाले भने।
आजको खेलभरी च्यासलका फरवार्ड विकास मेराग्लिया विपक्षी खेलाडीको मार्कमा रहे। उनले अट्याकिङ थर्डमा केही राम्रा मुभहरु बनाए पनि गोलका अवसरहरु खेर फलिरहे।
पहिलो हाफका च्यासलका अजित गुरुङले पेनाल्टी बक्स बाहिरबाट गरेको प्रहार पोस्टबाट बाहिर गएको थियो। त्यस्तै, पहिलो हाफको स्टपेज समयमा मिडफिल्डर नविन लामाको अट्याकलाई गोलकिपर अर्पण कार्कीले सहजै बचाएका थिए। यसँगै पहिलो हाफ गोलरहित बराबरीमा रोकियो।

आजको खेलका लागि च्यासलले सेट पिसको प्रहार कसरी रोक्ने र आफूले कसरी धेरै गोल गर्ने भन्नेमा अभ्यास गरेको बताएका छन्। उनले भने, ‘खेलाडीले प्रदर्शनलाई सुधार गरेका छौं। हामीलाई समस्या भनेको सेट पिस थियो। हामीले सेट पिसलाई धेरै ध्यान दिएका थियौँ। वर्कआउट पनि भएको छ,’ च्यासलका प्रशिक्षक बालगोपाल साहुखलले भने।
प्रदर्शन सुधार गर्दै दोस्रो हाफको सुरुमै च्यासलले गोल गरेर खेलमा अग्रता बनायो। ४९ औं मिनेटमा रुमेश बर्तौलाले पेनाल्टी बक्सको बायाँ कुनाबाट प्रहार गर्दै पोस्टको दायाँतर्फबाट गोल गरे। यससँगै च्यासलले खेलमा अग्रता बनाएको थियो। खेलमा बर्तौलाको गोल नै निर्णायक भएको छ।
यो खेलमा एपीएफको प्रदर्शन पछिल्लो खेलको तुलनामा सुधार भए पनि गोल खाएको प्रशिक्षक थापाले बताए। उनले भने, ‘अस्तिको भन्दा डिफेन्स राम्रो हो। हाम्रो मिडफिल्ड सेटअप हुन गाह्रो भएको छ। बाँकी टिम पनि सजिलो हुँदैछ। हामी विदेशी खेलाडी ल्याउने योजना पनि गरिरहेका छौं।’
गोलपछि खेलको ५२ औं मिनेटमा डिफेन्डर यन्निक केट्चाले पोस्टको बायाँतर्फबाट गरेको प्रहार केही दुरीले पोस्टबाट बाहिरिएको थियो। यता ७८ औं मिनेटमा एफका श्याम कुमार नेपालीले गरेको प्रहार च्यासलका यन्निकले क्लियर गरिदिए। लिगको दोस्रो खेलमा पनि एपीएफले जित निकाल्न सकेन्।
कस्तो भयो त आजको खेल ? जवाफमा प्रशिक्षक साहुखलले भने, ‘जे होस जित्यो। त्यसले आत्मविश्वास बढेको। हामीले युवा खेलाडी भएकाले कम्पोज हुन जरुरी छ। तर म खुसी नै छु। धेरै कुरा सिक्न बाँकी छ।’

च्यासलले भने पहिलो खेलका हार विर्सनलाई दोसे खेलमा जित निकाल्दै समर्थकलाई खुसी बाँडेको छ। तर आजको खेलमा पनि इटालियन युवा खेलाडी विकास मेराग्लियाको गोल रंगशालामा उपस्थित २५०० समर्थकले देख्न पाएनन्।
पछिल्लो खेलमा दुवै टिमले हार बेहोरेको थियो। च्यासलले थ्रिस्टारसँग ३–० गोलको हार बेहोर्दा एपीएफ क्लब ब्रिगेड बोइसँग ३–२ गोलअन्तरले पराजित भएको थियो।
लगातारको हारले कस्तो प्रभाव परर्यो त ? एपीएफका प्रशिक्षक थापा भन्छन्, ‘आजको खेल सोचेभन्दा केहि राम्रो त हो तर लगातार दुई हाम्रै लेभलको टिमसँग हार्दा गाह्रो भएको छ। अबका खेल पनि गाह्रो नै छ। आज हाम्रो चाहिँ अवसरमा गोल भएन।’
हार भए पन आफूले दबाब नलिइन खेल्ने बताएका छन्। उनले भने, ‘मलाई दबाब छैन। दबाब भए पनि दबाब लिएको छैन। लगातर दुई हार धेरै ठूलो हो। तर पोजेटिभ हुनु पर्छ। हामीले एक हप्तामा धेरै गरेका छौं। अझै गर्न सक्छौं।’
उनले लिगमा दुई लाख खाइरहेका खेलाडी र ३० हजार खाने खेलाडीमा तुलना गर्न नहुने पनि प्रशिक्षक थापाले बताएका छन्। उनले विदेशी खेलाडी ल्याउनका लागि पहल गर्ने पनि बताएका छन्।