चितवन- नेकपा एमालेमा सर्वसम्मत नेतृत्व चयनको प्रयास स्वरुप अध्यक्ष केपी शर्मा ओलीलाई पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म छान्ने अधिकार दिइएको छ।
एमाले महाधिवेशनको बन्दसत्रमा विष्णु पौडेलले उक्त प्रस्ताव राखेपछि हलले समर्थन गरेको एमाले नेता शेरबहादुर तामाङले जानकारी दिएका छन्। उनका अनुसार जारी महाधिवेशनमा नेकपा एमालेले सर्वसम्मतिमा नेतृत्वको चयनका लागि प्रयास गरिरहेको छ।
सहमतिबाट नेतृत्व चयनका लागि भन्दै शुक्रबारको केन्द्रीय कमिटी बैठकले पदाधिकारी र केन्द्रीय कमिटीको संख्या थप गर्न निर्णय गरेको थियो।
उक्त प्रस्तावमा अध्यक्ष पदका दाबेदार भीम रावलले आफ्नो फरक मत राखेका छन्। महाधिवेशनको बन्दसत्रले अध्यक्ष ओलीलाई पदाधिकारी र केन्द्रीय कमिटी सदस्य छान्ने अधिकार प्रदान गरेपछि उपाध्यक्ष रावलले फरक मत राखेका हुन्।
उनले राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय कमिटी निर्माण गर्ने विधानको व्यवस्थाविपरितको निर्णय भएको बताएका छन् । विधानले महाधिवेशनबाट कमिटी छान्न निर्देश गरेकाले सोही अनुसार निर्णय हुनुपर्ने बताए ।
महाधिवेशनका प्रतिनिधिहरुको अधिकार हनन गरी यस्तो निर्णय गर्दा लोकतान्त्रिक परिपाटी अन्त्य गर्ने प्रयास भएको रावलले बताएका छन्। उनले भने, 'महत्त्वपूर्ण महाधिवेशनमा यस्तो कुराले प्रवेश गर्नु उपयुक्त होइन। यसले लोकतान्त्रिक प्रणालीबाट आफ्नो नेता चयन गर्ने परिपाटीलाई अन्त्य गरिदिन्छ।'
रावलले आफूले १० औं महाधिवेशनका लागि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको र सोही अनुसार उम्मेदवारी दिने पनि बताए ।
त्यसैगरी नेता तामाङका अनुसार महाधिवेशन तोकिएकै मितिमा सम्पन्न हुने भएको छ। उनले भने, 'महाधिवेशन सम्पूर्ण रुपमा सहमतिमा १२ गते समापन हुनेछ।'