काठमाडौं- नेकपा एमालेको १० औं महाधिवेशनका लागि पार्टी नेतृत्व चयन गर्ने सन्दर्भमा अध्यक्ष केपी शर्मा ओली निर्वाचनका लागि इच्छुक नभएको देखिएको छ। यसअघि काठमाडौंमा आयोजित एक पत्रकार सम्मेलनका क्रममा निर्वाचन हुनु पनि राम्रो भएको उल्लेख गरेका ओलीले शनिबार बन्द सत्रलाई सम्बोधन गर्ने क्रममा पार्टी एकताका लागि जोड दिएका छन्।
अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका रावलले फिर्ता लिनसक्ने अपेक्षा अनुसार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनका क्रममा भनेका थिए, 'लोकतान्त्रिक पद्धतीबाट उत्कृष्ट नमुना निर्वाचन भएकोले मतदानबाट नेतृत्व चयन हुनु पनि राम्रै हो। म कसैलाई केहीभन्दा दबाब दिएको हुनसक्छ। म दबाब दिने पक्षमा छैन। रावलजी चुनाव लड्न सक्नुहुन्छ।'
तर, ओलीले शनिबार बन्द सत्रको उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेताहरूलाई क्षमता र कामको मूल्यांकन गरेर जिम्मेवारी दिइने बताए। कुनै नेताको पनि नाम नलिएका ओलीले पार्टीभित्र प्रतिस्पर्धा राम्रो नहुने प्रष्ट पारेका छन्। उनले भने, 'समझदारी, सहमति र एकता हो। पार्टी भित्रको प्रतिस्पर्धा मूल्यांकनको आधारमा हुन्छ। पार्टीमा आन्तरिक एकता चाहिन्छ। पार्टीभित्र एकता मुख्य कुरा हो, यो कुरा हामीले थाहा पाउनु पर्छ। यसका लागि हामीले वडा र नगरमा जस्तै सर्वसम्मत नेतृत्व चयन गर्नुपर्छ।'
प्रतिपक्षसँग लड्दा प्रतिस्पर्धा हुने हो। पार्टीभित्र सहमति र समझदारी मुख्य कुरा हो। म कति बाँच्छु भन्न सक्दिनँ, धेरैपटक मरेर बाँचेर आएको छु, तपाईंहरुलाई देखेरै मलाइ निद्रा लाग्छ खाना रुच्छ र देशको भविश्य सुरक्षित देख्छु। पार्टीभित्र एकता कायम गरौं र विपक्षीहरुसँग प्रतिपक्षसँग प्रतिस्पर्धा गरौं।
यसअघि असोज १५ देखि १७ सम्म भएको पार्टीको विधान महाधिवेशनमा भने ओलीलाई सर्वसम्मत नेतृत्व चयन गर्ने समझदारी भएको थियो। तर, ओलीले सर्वसम्मत नेतृत्व चयनका लागि कुनै पहल नगरेको भन्दै रावलले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका थिए। शनिबार पनि रावलले आफू निकटका नेताहरुसँग छुट्टै छलफल गरेका छन्। शनिबार पत्रकारसँग कुरा गर्दै रावलले भने, 'मलाई सर्वसम्मत नेतृत्व चयन गर्न छलफल गर्ने विषयमा जानकारी छैन। म अध्यक्षको उम्मेदवार हो। यसबाट पछि हट्ने ठाउँ छैन।'
पार्टीमा आफ्नै समूहका नेताहरूका कारण तथा उपाध्यक्ष भीम रावल र उपमहासचिव घनश्याम भुसालले उम्मेदवारी घोषणा गरेपछि ओली दबाबमा परेका हुन्।
उनले महाधिवेशन प्रतिनिधिहरुलाई सम्बोधन गर्ने क्रममा केही भावुकताका साथ पनि प्रस्तुत भए। उनले भने, 'प्रतिपक्षसँग लड्दा प्रतिस्पर्धा हुने हो। पार्टीभित्र सहमति र समझदारी मुख्य कुरा हो। म कति बाँच्छु भन्न सक्दिनँ, धेरैपटक मरेर बाँचेर आएको छु, तपाईंहरुलाई देखेरै मलाइ निद्रा लाग्छ खाना रुच्छ र देशको भविश्य सुरक्षित देख्छु। पार्टीभित्र एकता कायम गरौं र विपक्षीहरुसँग प्रतिपक्षसँग प्रतिस्पर्धा गरौं।'
ओलीले शनिबार बिहानदेखि आफूनिकट नेताहरू महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, सुवास नेम्वाङ लगायतसँग छलफल गरेर सहमतिको प्रयास गरे पनि असफल भएका छन्। शनिबार उम्मेदवार मनोयन गर्ने भनिए पनि हालसम्म मनोनयनको भने कुनै तयारी गरिएको छैन।

ओली समूहभित्रै ईश्वर पोखरेल र सुवास नेम्वाङबीच र विष्णु पौडेल र शंकर पोखरेलबीच प्रतिस्पर्धा हुने स्थितिका कारण उनी थप दबाब र जटिलतामा परेका हुन्। यसरी दबाबमा परेका ओलीले सकेसम्म निर्वाचनको पक्रियालाई टार्न चाहेका छन्। वरिष्ठ उपाध्यक्ष र महासचिवबाहेक, उपाध्यक्ष र सचिव पदमा पनि व्यक्तिहरुको व्यवस्थापन निकै गाह्रो भएको छ। यसअघि काठमाडौं आयोजित पत्रकार सम्मेलनका क्रममा भने उनले भोट बढी ल्याउनेलाई आफू मन पराउने उल्लेख गर्दै व्यवस्थापन महाधिवेशनले नै गर्ने बताएका थिए।
तर, महाधिवेशनस्थलमा पुगेपछि भने ओलीले नेताहरुलाई छुट्टाछुट्टै बोलाएर छलफल थाल्दै केहीलाई आफ्नो अडानबाट पछि हट्न आग्रह गरिरहेका छन्। शनिबार नै अध्यक्ष ओलीले सचिव गोकर्ण विष्ट, उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, अमृत बोहरा र रघुजी पन्तसँग पनि छलफल गरेका हुन्।
पार्टीमा आफू सर्वमान्य नेता भएको देखाउन चाहन्छन् ओली। त्यसमाथि पार्टीमा पछि कुनै सयम कसैले विवाद निकालेको अवस्थामा आफू सर्वमान्य नेता भएको र आफूले भनेको कुरा पनि सबैले मान्नुपर्ने भन्ने दबाद दिन पनि उनले एकता र सहमतिको रटान लगाइरहेको ओलीभन्दा फरक मत राख्ने एक एमाले प्रतिनिधिको भनाइ छ।
ओलीको कार्यशैलीसँग असन्तुष्ट बनेर विभाजन भई माधव नेपाललगायतले नयाँ दल बनाएपछि ओलीले एमालेका ऐँजेरूहरू गइसकेको र पार्टी झन् एकताबद्ध भएको दाबी गर्दै आएका छन्। सोही कुरालाई एकलौटी रूपमा प्रमाणित गर्नकै लागि पनि उनले निर्वाचन फेस गर्न नचाहेको ती प्रतिनिधिको भनाइ छ।
ओलीले सम्बोधन गर्दा बाहिर भोट माग्दै भीम रावल
ओलीले बन्द सत्रको हलमा सर्वसम्मत नेतृत्व चयनलाई जोड दिइँरहँदा अध्यक्षका अर्का उम्मेदवार भीम रावल भने हल बाहिर महाधिवेशन प्रतिनिधिहरूसँग आफूलाई अध्यक्ष पदमा जिताउन भन्दै मत मागिरहेका थिए।
प्रतिनिधिहरूसँग दुईहात जोड्दै रावल भने, ‘मैले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेको छु, तपाईंहरूले मत दिएर जिताउनुहुन्छ भन्ने विश्वास छ।’
एमालेको नयाँ नेतृत्वको चयन प्रक्रिया अझै सुरु हुन सकेको छैन। सर्वसम्मती जुटाउने प्रयास जारी छ, तर रावलले निर्वाचन प्रक्रिया सुरु नहुँदै आफूलाई भोट माग्न सुरु गरेका हुन्। अध्यक्ष केपी ओलीले निर्विकल्प अध्यक्ष बन्न खोजिरहेका बेला रावलले उनलाई चुनौती दिइरहेका छन्।