काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्कालीन प्रधानमन्त्री मातृका प्रसाद कोइरालाले भारतसँग गरेको सम्झौताका आधारमा उत्तरी सिमानामा भारतीय सेनाको १७ वटा चेकपोस्ट राखिएको बताएका छन्।
नेकपा एमालेको बन्द सत्रलाई सम्बोधन गर्ने क्रममा उनले एमालले कलिलो उमेरदेखि नै राष्ट्रियताको पक्षमा संघर्ष गरेको उल्लेख गर्दै नेपाली कांग्रेसका तत्कालीन सभापति मातृकाले गरेको सम्झौता राष्ट्रघाती भएकोसमेत बताएका छन्।
उनले भने, 'नेपाली कांग्रेसका सभापति रहेका मातृकाप्रसाद कोइराला विसं २००८ माघ १ प्रधानमन्त्री भए। ४ गते दिल्ली गए, ११ गते फर्किँदा उत्तरी सिमानामा दक्षिणको छिमेकी भारतका १७ वटा मिलिटरी चेकपोस्ट राख्ने सम्झौता गरेर हाम्रो राष्ट्रियता, स्वाभिमान माथि हमला गरेर फर्किए। सम्झौता गरेर तद्अनुरुप भारतीय सेनाले चेकपोस्ट राखे। त्यसका विरुद्ध हाम्रो पार्टीले संघर्ष गर्यो।'
उनले राणाशासनविरुद्ध लडेको आफ्नो पार्टीलाई राजासँग मिलेर कांग्रेसले प्रतिबन्ध लगाएकोसमेत स्मरण गरेका छन्।
उनले थपे, 'नेपाली कांग्रेसले त्यस समय ती कुरा बुझ्न चाहेन। राजतन्त्रलाई खुसी पार्ने र वामपन्थीहरुलाई प्रतिबन्ध लगाउने काममा लाग्यो। राणा शासन ढेलेको ११ महिनाभित्रै कम्युनिस्टमाथि प्रतिबन्ध लाग्यो। नेपाली कांग्रेसका सभापति मातृका प्रसाद कोइरालको प्रधानमन्त्री बनेपछि प्रतिबन्ध लगाइयो। हामीले त्यसविरुद्ध पनि संघर्ष गर्नुपर्यो।'
कलिलै अवस्थामा अरु पक्षहरुसँग हामीले संघर्ष गरेकोले संघर्षका चरणहरु अझै जारी रहेको उनले बताए।