चितवन- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताको नाम दिँदै महाधिवेशन प्रतिनिधिहरुलाई भावनात्मक बहकाउमा ल्याउन खोजेका छन्।
अध्यक्ष ओलीले शनिबार बन्द सत्रलाई सम्बोधन गर्दै पार्टीभित्र प्रतिस्पर्धा नभइ एकता गरेर अघि बढ्नुपर्ने बताएका हुन्। उनले भने, ‘म कति बाँच्छु भन्न सक्दिनँ, धेरैपटक मरेर बाँचेर आएको छु, तपाईंहरुलाई देखेरै मलाइ निद्रा लाग्छ खाना रुच्छ र देशको भविश्य सुरक्षित देख्छु। त्यसैले पार्टीभित्र एकता कायम गरौं र विपक्षीहरुसँग प्रतिपक्षसँग प्रतिस्पर्धा गरौं।'
उनले एमालेबाट अन्य दलहरुले समेत सिक्न थालेको भन्दै एमालैकै मोडलमा एकैपटक तल्ला तहका कमिटीहरुका अधिवेशन गर्न सुरु भएको बताए।
ऐतिहासिक जनसहभागिता र शुभेच्छामा उदघाटन सत्र सम्पन्न गरेको भन्दै ओलीले भने, ‘एउटा विशेष परिस्थिति र अवस्थाबाट अघि बढिरहेको छ। सत्ताबाट प्रतिपक्ष भएको अवस्थामा, विरोधीका जालझेल असंवैधानिक अलोकतान्त्रिक कदमले यहाँ पुग्यौं। जनताले यहाँ पुर्याएको होइन। जनमत यो होइन। अझ बढी गम्भीर चुनौती खडा भएको छ। राज्यको दुरूपयोग भएको छ। दढ भएर सामना गर्नुपर्नेछ।’
उनले नवौं महाधिवेशनपछि संविधान निर्माण गरी जारी गर्न दलहरू एकजुट गराउन एमालेको महत्वपूर्ण भूमिका रहेको बताए। उनले महाधिवेशनपछि स्पष्ट वैचारिक दिशातर्फ अगाडि बढेको भन्दै एमालेलाई दुर्वचन बोल्ने र होच्याउने अवस्था अन्त्य भएको पनि बताए।
ओलीले १०औँ महाधिवेशनले राजनीतिमा अहिले देखिएको पथभ्रष्ट, अराजकतालाई सच्याउने गरी नयाँ नेतृत्व आउने बताएका छन्। उनले महाधिवेशनमा सहभागी देश विदेशबाट आएका पाहुना र सहभागीलाई धन्यबाद दिँदै उनीहरूले एमालेलाई परिचित, विश्वनीय र भरपर्दो पार्टीका रुपमा दिएको शुभकामनालाई पूरा गर्ने बताए।