काठमाडौं- नेपाली कांग्रेसका नेता भीमसेन दास प्रधानले कांग्रेस अधिवेशनमा बागमती प्रदेशको सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन्। संविधानको मर्म र भावना अनुरुप संघीयताको संस्थागत विकास गराउन आफूले बागमती सभापतिका रूपमा भूमिका खेल्न चाहेको बताएका हुन्।
संघीयता कार्यान्वयन अत्यन्तै फितलो रहेको उल्लेख गर्दै उनले आफू बागमती प्रदेश सभापति भएमा संघीयताको संस्थागत विकासका लागि काम गराउन सक्ने बताएका थिए। ‘संघीय संरचना अन्तर्गत संविधानमा तीन तहको सरकारको व्यवस्था गरेको छ। पार्टीको तीन तहको संरचना बनेको छ। त्यसलाई प्रभावकारी ढंगबाट कार्यान्वयन गर्न सक्यो भनेपनि एउटा पहिचान बन्छ,' उनले भने।
कांग्रेसले पहिलोपटक प्रदेशिक संरचना तयार गर्दैछ। आफ्नो कार्यदक्षता, आफ्नो भिजन र भोलि आउने दोस्रो पुस्तालाई पनि संघीयताको बारेमा, संघीयताको मर्म र भावनालाई, संविधानको स्प्रिटलाई एउटा संस्थागत रुपमा लानका लागि आफूले भूमिका खेल्ने उनको भनाइ छ।
उनले प्रदेश भित्रका सबै जिल्लाहरुसँग समन्वय गरी बागमती प्रदेशलाई नमुना प्रदेश बनाउने आफ्नो आशय रहेको पनि बताएका थिए।