काठमाडौं- नेकपा एमालेको १० औं महाधिवेशनमा सहभागी हुन आएका विदेशी नेताहरुले नेपालमा कम्युनिस्ट आन्दोलनलाई कमजोर बनाउने र कम्युनिस्ट सिध्याउने खेल भइरहेको तथा नेपाललाई हिन्दु राज्य घोषणा गर्ने अभियानहरु गुप्तरुपमा चलिरहेको बताएका छन्।
एमालेको शनिबार सुरु भएको बन्द सत्रलाई सम्बोधन गर्ने क्रममा भारतीय कम्युनिष्ट पार्टीका नेता जोगिन्दर शर्माले नेपालमा हिन्दु राज्य र संवैधानिक राजतन्त्र ल्याउन गुप्त रूपले अभियान चलिरहको बताए।
उनले भारतको संविधान र लोकतन्त्र पनि खतरामा रहेको बताएका छन्। भारतमा पुलिसराज बनाउन खोजिएको र सरकारविरूद्ध बोल्नेलाई मुद्दा लाएर थुन्ने, धर्मको नाममा विभाजन गराउने काम भइरहेको बताए।
उनले भने, ‘नेपाललाई सन् २०२५ सम्म हिन्दु राष्ट्र बनाउने भारतीय जनता पार्टी (भाजपा) को अभियान छ। भाजपा फाँसीवादतर्फ तीव्र रूपमा अगाडि बढिरहेको छ।’
उनले भारतमा हुने घटनाले भारत मात्रै प्रभावित नभइ नेपालसहित दक्षिण एसिया नै प्रभावित भइरहेको पनि बताए। उनले भने, ‘आरएसएसबाट नेपालमा विभिन्न फण्ड चलिरहेको छ। दर्जनौं फण्ड चलेको छ। हिन्दु धर्म र संवैधानिक राजतन्त्र ल्याउन गुप्त रूपले अभियान नै चलिरहेको छ। सावधान रहनुस्।’
दुनियाँले नेपालको कम्युनिस्ट आन्दोलनलाई हेरिरहेको र नेपालमा पहिलो पटक कम्युनिष्टलाई दुई तिहाइ मत आएकोमा उनले खुसी व्यक्त गरे। उनले नेपालको कम्युनिस्ट आन्दोलनबाट प्रेरणा मिल्ने गरेको पनि बताए।
त्यसैगरी दक्षिण एसियामा अमेरिकी साम्राज्यवादले कम्युनिष्ट समाप्त पार्न चाहने र यसका लागि भारतसमेत उपयोग भएको बताए। उनले भने, ‘महाधिवेशनबाट मजबुत नेतृत्व आओस्। कम्युनिष्ट आन्दोलन एकजुट होस्। कम्युनिष्ट एकता होस्।’
त्यसैगरी भारतीय कम्युनिस्ट पार्टी अफ इण्डिया (सीपीआई) लिबरेसनका विहार प्रतिनिधि वीरेन्द्रप्रसाद गुप्ताले नेपालको कम्युनिस्ट आन्दोलनबाट प्रेरित भएको बताएका छन्।
उनले नेपाल र भारतबीच रोटीबेटी सम्बन्ध रहेको र हाम्रा समस्या धेरै मेल खाने पनि बताएका छन्। उनले मोदी आन्दोलन कै कारण लगातार पछाडि हटिरहेको पनि बताए।
बन्द सत्रमा महाधिवेशनको शुभकामना व्यक्त गर्दै उनले भने, ‘तपाईंहरू पनि लोकतन्त्रका लागि लडिरहनु भएको छ। हामी पनि लोकतन्त्रका लागि लडिरहेका छौं। आजादिपछि मिलेको अधिकार नरेन्द्र मोदीको फासिस्ट सरकारले कटौति गर्दै गइरहेको छ। किसान आन्दोलनमा मोदीलाई परास्त गरेका छौं। मोदी सरकारविरूद्व हरेक मोर्चामा लडाइए छ।’
एमाले महाधिवेशनमा शुभकामना व्यक्त गर्न नेपाल आएका कम्बोडियाका सांसद एवं कम्बोडियन पिपुल्स पार्टीका नेता यारा सोसले एमाले अविधेशन नेपालको इतिहासमा विरलै हुने राजनीतिक घटना बनोस भन्दै शुभकामना व्यक्त गरे।
उनले नेपाल र कम्बोडियाबबीच सुमधुर सम्बन्ध रहेको र अब राजनीतिक रूपमा पनि सम्बन्ध बढाउनु पर्ने बताए। राजनीतिक स्थायित्व सम्वृद्विका लागि नेपाल र कम्बोडियाबीच संस्कृति, राजनीतिक र अर्थतन्त्रमा सहकार्य हुनुपर्ने बताए।
सन् २०१८ मा कम्बोडियाका प्रधानमन्त्रीले नेपाल भ्रमण गरेका थिए भने सन् २०१९ मा नेकपा एमालेका अध्यक्ष ओलीले कम्बोडिया भ्रमण गरेका थिए। महाधिवेशनको बन्द सत्रलाई सम्बोधन गर्दै उनले नेपालमा शान्ति, स्थिरता, समृद्ध नेपालको कामना गरे। सोही अवसरमा उनले भने ‘ओली ‘ग्रेट म्यान’ हुन्। दुई देशबीच सम्बन्ध हार्दिक छ। सम्बन्ध बलियो बनाउन ओलीको भूमिका छ।’ सोही क्रममा उनले पार्टीका अध्यक्षको शुभकामना सन्देश पनि ओलीलाई हस्तान्तरण गरेका थिए। उनले कम्युनिस्ट एकताकमा लागि आह्वान गरेका छन्।
श्रीलंकाको जेबिपीका नेता विजिता लेडारले कम्युनिस्टहरुलाई कमजोर पार्ने खेल भइरहेको समयमा एमाले अझै बलियो भएर कम्युनिष्ट आन्दोलनमा जाओस् भनेर शुभकामना दिएका छन्। एमाले बन्द सत्रलाई सम्बोधन गर्ने क्रममा नेता लेडारले नेपालले उठाएको सामाजिक मुद्दा बारे श्रीलंका जानकार रहेकोसमेत बताएका छन्।
उनले श्रीलंकाको कम्युनिस्ट पार्टीले एमालेसँग सहकार्य पनि गरिरहेको बताए। उनले भूराजनीतिक रूपमा भूपरिवेष्ठित भएकाले नेपाल क्राइसिसमा रहेको पनि बताए।
टर्कीको भाटन पार्टीका अध्यक्ष डा. डोगु पेरिन्सेकले कोभिड महामारीका कारण प्रभावित भएकाले उपस्थित हुने नसकेको उल्लेख गरेका छन्। उनले भविष्यमा नेपाल भ्रमण गर्ने र एमालेका नेतासँग वसर मिल्नेछ जनाएका छन्। साधै महाधिवेशनको शुभकामनाका पनि दिएका छन्।
भियतनाम कम्युनिस्ट पार्टीले पठाएको शुभकामना सन्देशमा पनि राष्ट्रिय एकता र स्वाधिनतामा एमालेले खेलेको भूमिकाबाट खुसी भएको उल्लेख छ। सन्देशमा पार्टीको सुदृढीकरण र सुखी नेपाली समृद्ध नेपाल अभियानले नयाँ उचाइ लिने उल्लेख छ। यस्तै, नेपाल र भियतनामबीचको सम्बन्ध सुदृढ र प्रगाढ रूपमा विकास हुने विश्वास व्यक्त गरेको छ।
कांग्रेस आईका नेता अखिलेश यादव काठमाडौंहुँदै चितवन पुगेर फर्किएका छन्। बन्द सत्र ढिलो भएका कारण उनी कार्यक्रममा सहभागी हुन सकेनन्। उनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सोनिया गान्धीले पठाएको पत्र छोडेका छन्।
सोनियाको पत्रमा भनिएको छ, ‘म सहभागी भएर शुभकामना दिन चाहेको थिए। तर, परिस्थितिले सकिएन। निमन्त्रणा गरेकोमा धन्यवाद। महाधिवेशन सफल होस् शुभकामना।’
अल रसियन पोलिटिकल पार्टीका अध्यक्षले देशको सामाजिक आर्थिक परिवर्तनमा योगदान गरेकोमा नेकपा एमालेलाई बधाई दिएका छन्। साथै, नयाँ नेतृत्व संशक्त रूपमा देश विकास र समृद्धको दिशामाअघि बढ्ने विश्वास व्यक्त गरेका छन्।
यस्तै, जर्मन सोसियल रूलिङ पार्टीले आफ्नै महाधिवेशन भएकाले महासचिव उपस्थित हुन नसकेको र एमालेकाे महाधिवेशन सफल होस् भनेर शुभकामना पठाएका छन्।
कम्युनिस्ट पार्टी अफ इण्डिया, फ्रेन्च कम्युनिष्ट पार्टी, पीटिबी, बेल्जियम श्रमिक पार्टी , बंगलादेश क्रान्तिकारी मजदुर पार्टी, म्यानमारको संघीय ऐक्यबद्धता तथा विकास पार्टी, ग्रिस कम्युनिष्ट पार्टी, रूसी कम्युनिष्ट पार्टी, जापानिज कम्युनिष्ट पार्टी, जापानिज कम्युनिष्ट पार्टी, श्रीलंका कम्युनिस्ट पार्टी, सिनफिन इन्टरनेसन, आयरल्यान्ड, सत्तारूढ पार्टी, आइक्याप, अध्यक्ष महासचिव, एसियन पार्टीहरूको संस्थालगायतले शुभकामना दिएका छन्।