काठमाडौं- नेकपा एमालेको १० औं महाधिवेशन अन्तर्गत शनिबार दिउँसो सुरु भएको बन्द सत्रका क्रममा भारतीय कम्युनिस्ट पार्टी मार्क्सवादीका नेता जोगेन्द्र शर्माले भारतको राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) ले नेपालमा हिन्दु राज्य फर्काउन चाहेको बताएका छन्।
बन्दसत्रको उद्घाटन समारोहलाई सम्बोधनका गर्दै शर्माले आरएसएसले नेपाललाई हिन्दु राज्यमा र राजतन्त्र फर्काउन चाहेकोले सतर्क रहन आग्रह गरेका हुन्।
उनले भने, 'आरएसएसले नेपालमा हिन्दुराज्य फर्काउन चाहान्छ, सतर्क रहनु होला। चाहे कुनै रूपमा होस्, प्रतिकात्मक भए पनि राजतन्त्र फर्काउन चाहेको छ, सचेत हुनुहोला।'
आरएसएस सत्तारुढ भारतीय जनता पार्टीको पैतृक संगठनका रुपमा चिनिन्छ। यसमा कट्टर हिन्दुवादीहरु संलग्न छन्।
सौराहामा भएको एमालेका बन्द सत्रमा पार्टीका तर्फबाट शुभकामना दिँदै नेता शर्माले थपे, 'भारतको नरेन्द्र मोदी सरकारले नेपालमा राजतन्त्र र हिन्दूराष्ट्र पुनर्स्थापना गराउन लागि परेको छ। 'फाँसीवाद आरआरएसको धर्मनिरपेक्षा र प्रजातन्त्रका लागि खतरापूर्ण छ। सन् २०२५ सम्म भारतलाई पनि हिन्दूराष्ट्र बनाउने लक्ष्य मोदी सरकारले लिएको छ।'
दक्षिण एसियाबाट कम्युनिष्ट आन्दोलन समाप्त पार्ने कोसिस भइरहेको भन्दै उनले भन्दै त्यसतर्फ सचेत रहनुपर्ने धारणा राखेका थिए।
यसअघि एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री भएको समयमा पशुपतिमा जलहरी लगाउने र चितवनको ठोरीमा राममन्दिर बनाउने अभियानलाई पनि हिन्दु राज्यसँग जोडेर ब्याख्या गरिएको थियो।
नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा पनि ओलीका विश्वासपात्र रहेका महेश बस्नेतले पनि संघीयता र धर्म निरपेक्षताको विषयमा समीक्षा गर्नुपर्ने बताएका थिए। नेपालमा पनि हिन्दुवादि जनमत भएकोले ओलीले उक्त जनमतलाई आफ्नो पक्षमा पार्ने प्रयास गर्न थालेको भन्दै टिप्पणी पनि भइरहेका छन्।
यसअघि दुई पटक असंवैधानिकरुपमा संसद् विघटन गरेका ओलीले अहिलेको संविधानलाई कोल्याप्स पारेर राजतन्त्र ब्युताउँने प्रयास गरेको भन्दै आलोचनासमेत भएको थियो।