काठमाडौँ- नेपाली कांग्रेस तनहुँका सभापति बैकुण्ठ न्यौपाने र कार्यबाहक सभापति जितप्रकाश आले वरिष्ठ नेता रामचन्द्र पौडेलका ‘हार्डलाइनर नेता’ हुन्। कांग्रेसको आसन्न १४औँ महाधिवेशनको संघारमा दुई नेता विभाजित भएर फरक प्यानलमा लागेका छन्। स्थानीय तह, प्रदेश सभा क्षेत्र र प्रतिनिधिसभा क्षेत्रको अधिवेशनमा फरक प्यानलमा सक्रिय यी दुई नेताको जिल्ला अधिवेशनमा सभापति पदमा भिडन्त हुँदैछ।
आले पौडेललाई छाडेर संस्थापन समूहबाट जिल्ला सभापतिको उम्मेद्वार बनेका हुन्। केन्द्रीय सदस्य शंकर भण्डारी, गोविन्द भट्टराई र आमन्त्रित केन्द्रीय सदस्य ध्रुव वाग्लेको समर्थनमा आले प्यानल बनाएर बैकुण्ठलाई पराजयको स्वाद चख्याएर जिल्ला सभापति बन्ने दाउमा छन्। पौडेल समूहका उम्मेद्वार न्यौपानेले केन्द्रमा कृष्णप्रसाद सिटौला समूहका केन्द्रीय सदस्य प्रदीप पौडेल गुटको सहारा लिएका छन्। व्यास नगरपालिकाका मेयरसमेत रहेका न्यौपाने फेरि जिल्ला सभापतिमा दोहोरिन चाहन्छन्।
शुक्रबार तय भएको जिल्ला अधिवेशन एक दिन पर धकेलेर शनिबार आज हुँदैछ। सदरमुकाम दमौली बजारस्थित खुला मञ्चमा बिहान ८ बजेदेखि मतदान सुरु भएको हो। मंसिरको चिसोमा याममा पनि कांग्रेसको जिल्ला अधिवेशनले दमौली बजारको महोल यतिबेला हप्पक्कै गर्माएको छ।
मतदनामा सहभागी हुन लाइनमा बसेका मतदातासँग भोट माग्न व्यस्त छन् उम्मेद्वार। उम्मेद्वारका निकटका नेता कार्यकर्ता पनि आफ्ना मान्छेलाई भोट मागेर जिताउन भरमग्न प्रयासरत देखिन्छन्। कांग्रेस जिल्ला अधिवेशनको दृश्यले आमनिर्वाचनको झझल्को दिलाउँछ।
न्यौपाने प्यानलको उपसभापतिमा भानु नगरपालिकाका मेयर उदयराज गौली, शुक्लागण्डकी नगरपालिकाका मेयर किसान गुरुङ चुनावी मैदानमा छन्। सचिवमा केशबहादुर सुनार र मोहन गिरी, सहसचिवमा मिलन आले र धिरेश खनालको उम्मेद्वारी परेको छ।
आले प्यानलको उपसभापतिमा ऋषिङ गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ र नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य देवकुमार श्रेष्ठ, सचिवमा लक्ष्मीभक्त खनाल र सहदेव अधिकारी, सहसचिवमा परमेश्वर भट्टराई र हुतमणि अधिकारी चुनावी परीक्षामा होमिएका छन्।
६ मंसिरमा सम्पन्न प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनलाई विश्लेषण गर्दा तनहुँ क्षेत्र नम्बर १ मा पौडेल समूह बलियो छ । क्षेत्र नम्बर २ मा संस्थापन देउवा समूह बलियो देखिन्छ। तर उम्मेद्वार छनोटमा दुवै प्यानल चलाख निस्किएका छन्। यसअगाडिको अधिवेशनमा पपुलर भोट पाएकालाई उम्मेद्वार बनाइएको छ।
दिउँसो १ बजेसम्म कांग्रेस तनहुँको नेतृत्व चयनका लागि भएको मतदानमा नौ सय मत खसेको निर्वाचन अधिकृत चन्द्रकान्त वाग्लेले बताए। एक हजार आठ सय १७ जना मतदाता छन्। दिउँसो ३ बजेसम्म मतदानको समय तोकिए पनि दुई घन्टा समय बाँकी हुँदा ५० प्रतिशत मत मात्र खसेको छ। ‘३ बजेसम्म निर्वाचन समितिले मतदानको समय तोकेका छौँ। त्यतिबेला सम्म सकिएन भने लाइनमा बसेकालाई मतदान गर्न दिनेछौँ’, उनले भने।