शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • प्रकाशमान र गगनले एउटै मञ्‍चबाट भने - पार्टी नेतृत्व बदल्‍नुको विकल्प छैन

प्रकाशमान र गगनले एउटै मञ्‍चबाट भने - पार्टी नेतृत्व बदल्‍नुको विकल्प छैन

प्रकाशमानले वर्तमान पार्टी नेतृत्वले निर्वाचनबाट कांग्रेसलाई ३० सिटमा सीमित गराएको भन्दै यसपटक नेतृत्व परिवर्तन गर्न नसके पार्टीलाई आगामी दिनमा गाह्रो हुनेसमेत बताएका छन्।
 |  शनिबार, मंसिर ११, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर ११, २०७८

काठमाडौं- नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंह र युवा नेता गगन थापाले एउटै मञ्‍चबाट पार्टीको नेतृत्व बद्‍ल्नुको विकल्प नभएको बताएका छन्।

नेपाली कांग्रेस काठमाडौं जिल्ला कार्यसमिति सभापति पदका उम्मेदवार कृष्ण बानियाँ(सबुज) समूहको उम्मेदवारी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय सभापतिको उम्मेदवारका आकांक्षी प्रकाशमान र महामन्त्रीको उम्मेदवारका आकांक्षी गगनले अहिलेको नेतृत्वलाई जुनसुकै अवस्थामा पनि परिवर्तन गर्नुपर्ने बताएका हुन्। 

प्रकाशमानले वर्तमान पार्टी नेतृत्वले निर्वाचनबाट कांग्रेसलाई ३० सिटमा सीमित गराएको भन्दै यसपटक नेतृत्व परिवर्तन गर्न नसके पार्टीलाई आगामी दिनमा गाह्रो हुनेसमेत बताएका छन्। 

नेता सिंहले कांग्रेस कमजोर हुँदा देशको प्रजातान्त्रिक प्रणाली पनि खल्बल्लिने बताएका छन्। उनले भने, 'केन्द्रको नेतृत्व यदी हामीले परिवर्तन गर्न सकेनौं भने १३ औं महाधिवेशनबाट निर्वाचित पार्टी सभापतिको नेतृत्वमा १६५ मा ३० सिटमा झरेको पार्टी, अब फेरि हामीले सन्देश राम्रोसँग ग्रहण गरेर जनताले चाहे अनुसारको नेतृत्व परिवर्तन गर्न सकेनौं भने कांग्रेसलाई आउँदो दिन गाह्रो हुन्छ। कांग्रेस कमजोर भयो भने त नेपालको प्रजातान्त्रिक प्रणाली पनि खल्बल्लिन सकिने रहेछ भन्‍ने हालसालको राजनीतिक घटनाक्रमबाट निचोड निकाल्न सकिन्छ।’

त्यसैगरी नेता थापाले पार्टीको आगामी महाधिवेशनबाट पार्टीको नेतृत्व बदल्ने कुरा मुख्य रहेको बताएका छन्। शनिबार  नेता थापाले आफू महामन्त्री हुने कुरा गौण भए पनि पार्टीको नेतृत्व बदल्ने कुरा भने मुख्य रहेको बताएका हुन्। उनले नेपाली नागरिकलाई देश बदलिन्छ र अब राम्रो हुन्छ भन्‍ने विश्वास र भरोसा चाहिएको उल्लेख गर्दै त्यो भरोसा दिनसक्ने नेतृत्व चाहिएको बताए।

उनले भने, 'यो अधिवेशनबाट कांग्रेसको मुल अनुहार, कांग्रेसको मुख्य नेतृत्व हामी बदल्न सक्छौं कि सक्दैनौं त्यो सबैभन्दा ठूलो प्रश्न हो। हाम्रो अगाडीको सबैभन्दा ठूलो प्रश्न यो हो। हामी कोही केही नभएर केही हुँदैन तर कांग्रेसको मुख्य नेतृत्व बदल्नुपर्नेछ। आम नागरिकको बीचमा गयो भने ठूलो निराशा छ। चुनावदेखि चुनावको गोलचक्रमा देश घुमेर मात्र हुँदैन। हामी सबै भन्छौँ कांग्रेसले चुनाव जित्नुपर्छ, जित्छ चुनाव तर चुनाव जितेपछि के? नागरिकलाई अहिले चुनाव जित्ने कुरा होईन, नागरिकलाई एउटा भरोसा चाहिएको छ। यत्रो लामो संक्रमण पछाडी एउटा भरोसा चाहिएको छ केही ठिकठाक हुन्छ, केही कुरा बदलिन्छ। यो भन्दा राम्रो हुन्छ। युवामा मेरो जीवनकालमा नेपाल बदलिन्छ भन्ने विश्वास चाहिएको छ। त्यो विश्वास दिनसक्ने नेपाली कांग्रेसको नेतृत्व चाहिएको छ। यो अधिवेशनबाट कांग्रेसको नेतृत्व बदल्नुपर्छ।’

नेता थापाले पार्टीको नेतृत्व बदल्न चाहनेहरुको बीचमा एकता र समझदारी हुनु आवश्यक रहेकोसमेत बताए। कसले नेतृत्व गर्दा राजनीतिक रुपमा न्याय र जायज हुन्छ उसको नेतृत्वमा जानुपर्ने उनले बताएका छन्। सकेसम्म १२ औं महाधिवेशनमा एकै ठाउँमा रहेका नेताहरु पुनः एकै ठाउँमा उभिनुपर्नेमा उनको जोड छ। 

बानियाँले शनिबार प्रकाशमान र गगनको समर्थनमा आफ्नो जिल्ला सभापतिको उम्मेदवारी घोषणा गरेका हुन्। 

प्रकाशित: Nov 27, 2021| 13:58 शनिबार, मंसिर ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...